Social

कविता : आफ्नो मान्छे!!

Nami News
बिहीबार, जेठ २०, २०७८

भुक्भुकाउँदै तिम्रा अघि पछि
गल्ली गल्लीमा भुक्नेहरुले 
तिमीलाई लखेटे होलान् 
जतिबेला तिमी माया र ममताको
भोकमा रोगी भएको थियौं ।
होला त्यतिखेर
आरोप लाल्छ्ना 

तिरस्कारले तिमीलाई 
निर्बस्त्र बनायो होला
तिमी एक्लो बृहस्पति झूटो 
भने जस्तै एक्लियौ होला
र 
तिम्रा कुरा सुनिदिने कोही भएन होला
त्यतिबेला मनलाई एकांकीको आगो
भित्र तिम्रा मन दन्किरहे होलान् ।
होला त्यतिखेर तिमीलाई आफ्नैले दिएको
घात र प्रहारको फिलुंगोले डामी रह्यो होला
एक्लोपनको तातो तेलको कराईमा तिम्रा 
मनहरु तारिए होलान
ती पोलाईहरुले असह्य हुँदै 
छट्पटिदै पीडाले 
क्रन्दन र चीत्कार गरेउ होला
र अजारिदै बजारिदै
पछारियौं होला।
तिमीलाई डोर्याउने हात थिएन होला
आढस दिने साथ थिएन होला
चर्ह्याएको घाउमा मलम थिएन होला
दुखाइ कम गर्ने औषधि समेत थिएन होला
बेस्सरी रोयौं होला
आँसु बगे होलान् नदी जसरी
कल्पनासम्म पनि गर्न सहज छैन मलाई ।
तर हिजोलाई सहेर
तिमी आजमा छौँ 
हेर त जिन्दगी एउटा किताब रहेछ
अनि पाना पाना गर्दै बन्छ किताब 
च्यातेर मिल्काई देऊ त्यो पाना
जस्ले तिमीलाई आगोमा होली खेलायो।
हेर त उज्यालो नै उज्यालो छ 
आज तिम्रो हात समातेर
तिमीलाई डोर्याउँने हात छ
काँधमा काँध मिलाएर 
कदममा कदम मिलाएर साथै हिड्ने कोही छ
प्रेम र पिरती पस्किने पन्यु र 
सुख पस्किने डाडु तिमीसँग छ
खुसी चाख्ने स्वादिलो वनाउने जिब्रो तिमीसँग छ
अनि
हर बाधा व्यवधान र परिस्थिति मापन गर्दै
रहर र ईच्छालाई सार्थक बनाएर
पिउने उर्जा र शक्ति तिमीसँग छ
त्यसैले तिमी अब एक्लो छैनौं ।
तिम्रा अघिपछि दुधको साक्षी बिरालाहरु
र तिम्रा अघिपछि मासु पैचो लिने स्यालहरु
कदापि पनि म पर्न दिने छैन
तिम्रा वरिपरि ती घृणालाग्दा भुस्याहालाई पनि
चलमलाउन पनि दिने छैन
हिजो उखु झै चुस्न पल्केका
श्वसकहरुलाई कोलुमा पेल्न मैले पनि जानेकी छु।
त्यसैले तिमी अलिकति विचलित नहुनु ल
अब त 
हरघडी खुशीलाई सगरमाथा झै चुल्याउनु पर्छ
अब त आस्थाको गजुर ठड्याउनु पर्छ
बिश्वस्त हौ तिम्रो साथमा तिम्रो कोही आफ्नो छ
तिमी एक्लो छैनौं ।
उदाहरणिय होस् 
हामीले थालनी गरेको 
'जिन्दगी' नामको किताब 

स्वर्ण अक्षरमा लेखीयोस्
यो एउटा किताब भित्रको कथामा
मेरा शब्दहरुको संकलन।

-केसी अर्पणा



Published Date: 2021-06-03 16:03:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell