काठमाडौ । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ ।
उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका-६ का २४ वर्षीय देवबहादुर सार्की र कटारी नगरपालिका-२ उदयपुरका ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु सवार थिए ।
सोह्र घाइतेलाई उपचारका लागि काठमाडौ लगिएको सिलवालले जानकारी दिए । ती मध्ये ८ जनालाई हेलिकप्टरमा तथा ८ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ लगिएको हो ।
सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भइ अनियन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १६:४५