यद्यपि मानिसको सभ्यता को सुरुवातदेखि नै उनीहरूमा मानवीय दुर्गुणहरू प्रशस्त थियो र त्यो झन् क्रमश बढ्दै गयो भनिएतापनि सम्पन्न समाजमा मानवीय दुर्गुणहरू क्रमश न्यूनीकरण हुँदै गएको देखिन्छ ।
यसको मुख्य कारण के हो त भनेर मानवशास्त्रीहरूले अध्ययन, अनुसन्धान गर्दा सम्पन्नताले मानिसमा एक प्रकारको सन्तुष्टि प्राप्त हुने भएकोले त्यस्तो हुन गएको हो भन्ने निष्कर्षमा उनीहरू पुगे ।
संसारभरिका सबै मानिसहरू आफूले नचिनेका र नबुझेका मानिसहरु कसैको पनि ईर्ष्या गर्दैनन् । वास्तवमा चिनेको मान्छेको त चिनेकै कारणले पनि ईर्ष्या नगर्नु पर्ने हो भन्ने मान्यता मानवीय दृष्टिकोणबाट हेर्दा सही नै देखिन्छ ।
तर व्यवहारमा यो ठिक उल्टो हुन्छ । ईर्ष्या, अहंकार र रिस यी तीनवटै मानवीय दुर्गुणहरू अरुसँग तुलना गरेरै पैदा हुने गर्दछ । आफूभन्दा कसैसँग अलिकति प्रतिभा धेरै भयो । अथवा कुनै काममा उसको दक्षता बढी भयो अथवा कोही ज्यादै नै क्षमतावान भयो भने संसारको कुनै पनि मान्छेले आ–आफ्नो स्वभाव अनुसार कम बेसी ईर्ष्या गरिनै हाल्छ ।
यस्तै चेतन मनबाट आउने मानिस विरुद्धको सोच नै प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको प्रमुख कारण बनेको थियो भनिन्छ । संसारको कुनै पनि देशको निर्णायक ऐतिहासिक घटनाहरू मानवीय भावनाबाट अभिप्रेरित भएर घटेको देखिँदैन ।
त्यस्तै सामाजिक इतिहासहरू पनि मानिसहरूको बसोबासबाट उत्पन्न हुने बैमनस्यताबाट नै गाँजिएको देखिन्छ । आध्यात्मिक दृष्टिकोणबाट उच्च सोच राख्ने केही मानिसहरू बाहेक संसारका प्राय मानिसहरू आत्मकेन्द्रित नै हुन्छन् ।
त्यसैले पनि उनीहरू अरुको बारेमा कम र आफ्नो बारेमा ज्यादा सोचिरहेका हुन्छन् । अहिले दक्षिण एसियाको मूल समस्याको रुपमा रहेको भ्रष्टाचारको कारण पनि यही हो । फेरि एउटा कुरा के स्मरणमा राख्नैपर्छ भने खाली आर्थिक हिनामिना मात्र भ्रष्टाचार होइन । मानवीय हित विपरीत गरिने सबै कर्महरू भ्रष्टाचार हो ।
आ–आफ्नो स्वभाव अनुसार कसैले प्रदर्शन गर्छन् । कसैले गर्दैनन् । तर मानिसमा हुनुपर्ने गुणहरू बिर्सेर मानिस स्वभावैले अरुभन्दा ठूलो चाहिँ बन्न चाहन्छ । संसारमा अस्वच्छ प्रतिस्पर्धाको बढ्दो क्रमको कारण पनि यही हो ।
विकसित देशको तुलनामा अविकसित देशका मानिसहरू अभावका कारण अलि बढी ईर्ष्यालु हुन्छन् भन्ने कुरा मानवशास्त्रीहरुले उल्लेख गरेको भेटिन्छ। झन् त्यसमाथि हाम्रो जस्तो असफल राष्ट्रको सम्भावनालाई झेलेर अगाडि बढिरहेको मुलुकमा अमानवीय व्यवहारहरू बढ्नु आश्चर्यको विषय होइन ।
अहिले हाम्रो समाजमा सामान्य कुरामा पनि हुने गरेको विवाद र झगडा गर्न कुनै कारणै नचाहिने परिस्थितिले माथिको भनाइलाई पुष्टि गर्दछ ।
माथि पर्ने र जित्ने अभिप्राय सबैको हुने भएकोले संसारका सबै देशहरूमा एउटै पेशाका मानिसहरूबीच प्रतिस्पर्धा हुनु र ईर्ष्या हुनु स्वभाविकै हो । तर हाम्रो देशमा त प्रतिस्पर्धाकै कारण मान्छेलाई नै सिध्याइदिने र त्यसको पेशालाई नै पूर्णविराम लगाइदिने संस्कार क्रमश बढ्दै गइरहेको छ । जुन ज्यादै नै घातक हो ।
मस्तिष्क कम चलाउने तर हावामा दौडिने जुन हाम्रो स्वभाव छ त्यसले त झन् हामीलाई मानवीय मूल्य र मान्यताबाट धेरै टाढा पुर्याइसकेको छ । माथि उल्लेखित कुराहरूमा समयमै हामी सचेत भएनौं भने हाम्रो क्रमश पालैपिलो पीडित हुने क्रम जारी रहेर भोलि हाम्रो समाज नै एउटा ठूलो भड्खालोमा जाकिने छन् ।
नामी ई-पेपर
प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३ ०८:०५