ढोरपाटन, बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।
बागलुङको काठेखोला गाउँपालिका-२ अक्षेतेमा मोटरेवल पुलको ग्याबिन भत्किदा लोकमार्ग अवरुद्ध भएको हो। निर्माणाधिन नयाँ पुलको काम गर्ने क्रममा अचनाक पुरानो पुलको ग्याबिन भत्किदा मंगलबार साँझ ५ बजेदेखि लोकमार्ग अवरुद्ध भएको हो।
लोकमार्ग १९ घण्टादेखि अवरुद्ध हुँदा बागलुङ, पोखरा, काठमाडौँ लगायतका स्थानबाट गलकोट, बुर्तिबाङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोटसहित पश्चिम नेपाल पुग्ने बसका यात्रु अक्षेतेमा अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेले जानकारी दिए ।
ग्याबिन भत्किँन बित्तिकै निर्माण गर्न सुरु गरे पनि रातको समयमा काम हुन नसक्दा अहिलेसम्म सडक खुल्न नसकेको हो। अहिले तीव्र गतिमा कामदारले काम गरि रहेको भन्दै अझै केही समय ठूला सवारी साधान सञ्चालन हुन नसक्ने प्रमुख निउरेले जानकारी दिए।
रातिदेखि बस सडकमै ठप्प हुँदा यात्रुसहित जन्तीसमेत अलपत्र परेका हुन् । मंगलबार साँझदेखि सडकमै अलपत्र परेको यात्रुहरु स्याङजाका पुष्प शर्मा र पोखराका फत्तुराम थापा पराजुलीले वताए भने सरोकारवाला निकायले पनि चासो नदिँदा यतिका समयमा लोकमार्ग सञ्चालन हुन नसकेको गुनासो गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ ०९:२६