दाङ । दाङ तुलसीपुर बजारमा रहेका अव्यवस्थित तारहरु हटाउन थालिएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको पहलमा अव्यवस्थित तारहरु हटाउन थालिएको हो । शनिबारदेखि तारहरु हटाउन थालिएको केन्द्र प्रमुख ज्ञानप्रसाद फर्सालले बताए ।
फर्सालका अनुसार यो शनिबारबाट काम सुरु गरेको र प्रत्येक शनिबार–शनिबार तारहरुलाई ब्यबस्थित गर्न थालिएको बताए।
“अब्यबस्थित तथा काम नलाग्ने तारहरु हटाउने र काम लाग्ने सबै तारहरुलाई एउटै बन्डलमा बाँध्ने तयारी गरेका छौं”, उनले भने, “आजदेखि काम सुरु भयो, अब हामीले प्रत्येक शनिबार यो कार्य गर्छौं ।”
तुलसीपुर क्षेत्रमा नेपाल टेलिकम, एनसेल लगायत १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीसंग समन्वय गरेर काम लाग्नेहरुलाई एक ठाउँमा बाँध्ने र लामो समयदेखि काम नलाग्ने अबस्थामा रहेका तारहरुलाई निकाल्ने काम सुरु भएको बताए ।
शुक्रबार तुलसीपुरमा छलफल भएको थियो । छलफल पछि सबै सकारात्मक भएकाले काम अघि बढाएको फर्सालले बताए । बजारका सबै तारहरु व्यवस्थित गर्ने तयारी भएपनि पहिलो चरणका विरेन्द्र चोकदेखि हात्तिखौवासम्मका तारलाई व्यवस्थित गर्ने उनको भनाई छ ।
नेट विग्रिने, पोल ढल्ने हुँदा मात्रै तारहरु हेर्ने चलन थियो । त्यस्तै घरमा नेट बन्द गरेपनि त्यो तार त्यही पोलमा छोड्ने कार्य हुन्थ्यो। त्यसले गर्दा पनि बजार कुरुप बन्दै गएको वेभ सफरका बलभद्र कुँवरले बताए ।
विद्युतका पोलमा अव्यवस्थित रुपमा तार हुँदा बजारको सुन्दरतालाई नै कुरुप बनाएको थियो ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ १७:३९