काठमाडौं । काठमाडौंको चक्रपथअन्तर्गत कलंकी–वसुन्धरा खण्डको सामाखुसी चोक पुग्दा सडक विस्तारका लागि खाली गरिएको बाहिरी क्षेत्रमा झारपात र बोटबिरुवा पलाएको देखिन्छ । आठ लेनको सडक निर्माण गर्ने भन्दै वर्षौँअघि खाली गरिएको क्षेत्र अहिले झाडीमा परिणत हुन थालेको छ ।
सडक विस्तारका लागि आवश्यक पूर्वतयारी गरिएको छ, नेपाल र चीन सरकारबीच निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ । तर, निर्माणको काम भने अझै सुरु हुन सकेको छैन । सडक विस्तार हुने आशामा स्थानीयले वर्षौँदेखि धुलो, हिलो र अव्यवस्थित सडकको सास्ती खेपिरहेका छन् ।
अर्कातिर, सडक विस्तारका नाममा खाली गराइएको क्षेत्रसमेत उपयोगविहीन बनेको छ । निर्माण सुरु हुने निश्चित समय नहुँदा सडक किनारमा झारपात बढ्दै गएको छ। यसले चक्रपथ विस्तार आयोजनाको सुस्त गति मात्र होइन, पूर्वाधार निर्माणमा सरकारी प्रतिबद्धता र कार्यान्वयनबीचको अन्तरसमेत उजागर गरेको छ ।
कलंकीदेखि वसुन्धरा चोक नजिकसम्मको ८.२ किलोमिटर सडकलाई आठ लेनमा विस्तार गर्ने योजना हो । यसका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता गत १६ वैशाखमा भएको थियो । सम्झौतापछि सडक विभागले दसैँलगत्तै निर्माणको काम सुरु हुने बताएको थियो । तर, दसैँ सकिएर मंसिर लाग्दासमेत निर्माण कम्पनी छनोट हुन सकेको छैन । त्यसैले आयोजनाको निर्माण कहिले सुरु हुन्छ भन्ने अझै अनिश्चित छ।
सडक विभागका अनुसार अहिले नेपालतर्फबाट गर्नुपर्ने अधिकांश तयारी पूरा भइसकेको छ । तर, चीन सरकारले निर्माण कम्पनी छनोट गर्ने प्रक्रिया टुंग्याउन बाँकी छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालका अनुसार चिनियाँ वाणिज्य मन्त्रालयबाट स्वीकृति प्राप्त भएको जानकारी आएको छ ।
अब त्यहाँको अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि निर्माण कम्पनी छनोट प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । कम्पनी छनोट भएपछि चिनियाँ प्राविधिक तथा निर्माण टोली नेपाल आउने विभागको भनाइ छ । गत कात्तिक २ गते सार्वजनिक भएको विवरणअनुसार यो प्रक्रिया एक महिनाभित्र टुंगिने अपेक्षा गरिएको थियो । तर, त्यसको पनि टुंगो लागिसकेको छैन ।
चक्रपथको दोस्रो खण्ड विस्तारको चर्चा भने आजको होइन । नेपाल र चीनबीच सन् २०१८ मै कलंकी–वसुन्धरा खण्ड विस्तार गर्ने विषयमा सरकारी तहमा सहमति भएको थियो । त्यसयता कहिले नेपाल सरकारको तयारी अपुग भएको त कहिले चिनियाँ प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि नबढेको भन्दै आयोजना लम्बिँदै आएको छ । यसबीचमा सडक विस्तारका लागि आवश्यक साइट खाली गर्ने, रुख तथा अन्य अवरोध हटाउनेलगायतका काम गरिए । तर, मुख्य सडक विस्तारको काम भने अघि बढेन ।
आयोजनाको डिजाइनअनुसार सर्भिस लेनबाहेक मुख्य सडक आठ लेनको हुनेछ । सडक विस्तारसँगै ढुंगेधारामा कल्भर्टको सट्टा पक्की पुल निर्माण गर्ने योजना छ । पैदलयात्रुको सहज आवागमनका लागि तीनवटा अपांगमैत्री आकाशे पुलसमेत निर्माण गरिनेछ । सीतापाइला–बालाजु, बालाजु–माछापोखरी र सामाखुसी–वसुन्धरा प्रहरी चौकी आसपास आकाशे पुल बनाउने डिजाइनमा उल्लेख छ । त्यसैगरी कलंकीदेखि वसुन्धरा चोकसम्म सडक बत्ती जडान गर्ने योजना पनि आयोजनामा समेटिएको छ ।
चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकी निर्माणको अनुभवले पनि दोस्रो खण्डप्रति सर्वसाधारणको अपेक्षा बढाएको छ । चीन सरकारकै अनुदानमा निर्माण भएको साढे १० किलोमिटर लामो कोटेश्वर–कलंकी खण्डको काम २०६९ सालमा सुरु भएर २०७५ सालमा सम्पन्न भएको थियो । आठ लेनको सडक बनेपछि त्यस क्षेत्रमा सवारी आवागमन तुलनात्मक रूपमा सहज भएको थियो ।
त्यसैको निरन्तरताका रूपमा कलंकी–वसुन्धरा खण्ड विस्तार गर्ने योजना अघि सारिएको हो । तर, पहिलो खण्ड सम्पन्न भएको वर्षौँ बितिसक्दा पनि दोस्रो खण्डको काम सुरु नहुनु आफैँमा विडम्बना बनेको छ ।
चक्रपथ विस्तारको अर्को समस्या भनेको एउटै सडकलाई विभिन्न खण्डमा विभाजन गरेर निर्माण अघि बढाउनु र तिनको गति एकै स्तरमा नहुनु हो । नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब सात सय मिटर सडक नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरेको हो ।
चीनको अनुदानमा निर्माण गर्ने भनिएको कलंकी–वसुन्धरा खण्ड र नेपाल सरकारले विस्तार गरिरहेको अन्य खण्डबीच समन्वय तथा निरन्तरता कायम गर्नु पनि चुनौतीपूर्ण देखिन्छ । चप्पल कारखानादेखि धोबीखोला पुलनजिकसम्मको करिब १.०३ किलोमिटर सडक विस्तारका लागि शान्ति–सुशन जेभीसँग ठेक्का सम्झौता भइसकेको छ । उक्त खण्डको ठेक्का रकम भ्याटबाहेक ४० करोड १८ लाख रुपैयाँ रहेको र निर्माण अवधि १८ महिना तोकिएको छ ।
त्यसो त कलंकी–वसुन्धरा खण्डलाई सुरुमा नारायणगोपाल चोक हुँदै धोबीखोलासम्म विस्तार गर्ने योजना थियो । तर, नारायणगोपाल चोकदेखि वसुन्धरासम्मका केही स्थानमा घर तथा अन्य संरचना हटाउन कठिनाइ भएपछि चीनले विस्तारको दायरा घटाएर ८.२ किलोमिटरमा सीमित गरेको हो । यसले पनि चक्रपथ विस्तारको समग्र योजना कति टुक्राटुक्रामा अघि बढिरहेको छ भन्ने देखाउँछ ।
चक्रपथ काठमाडौं उपत्यकाको प्रमुख यातायात सञ्जाल हो । यसले उपत्यकाका विभिन्न क्षेत्रलाई जोड्नुका साथै बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनको आवागमनसमेत धान्छ । सवारी चाप बढ्दै गएको अवस्थामा सडक विस्तारको आवश्यकता झन् बढेको छ । तर, वर्षौँदेखि विस्तारको प्रतीक्षामा रहेको सडकमा निर्माणको सट्टा झारपात पलाउनु विकास आयोजनाको सुस्त कार्यान्वयनको प्रतीक बनेको छ ।
करिब ११ अर्ब रुपैयाँको अनुदान, निर्माणको डिजाइन र साइट खाली गर्ने कामलाई उपलब्धि मान्ने हो भने आयोजना धेरै अघि बढिसक्नुपर्ने हो। तर, सम्झौता र प्रतिबद्धताले मात्रै सडक फराकिलो हुँदैन । निर्माण कम्पनी छनोट, निर्माण सामग्रीको व्यवस्थापन र काम सुरु गर्ने स्पष्ट समयतालिका आवश्यक हुन्छ ।
त्यसैले अब सरकारले चीन सरकारसँगको समन्वयलाई परिणाममुखी बनाउँदै निर्माण सुरु हुने निश्चित समय सार्वजनिक गर्नुपर्छ । अन्यथा, आठ लेनको आधुनिक सडक बनाउने योजनाका लागि खाली गरिएको जमिनमा झारपात पलाउने क्रम मात्रै लम्बिनेछ ।