काठमाडौ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।
चैतेदशैँको अवसरमा उपत्यका लगायत विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो ।
चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ।
चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।
वर्षमा चार वटा नवरात्र हुने भएपनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।
चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।
काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।
धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार, कुण्ड अवलोकन गर्न र विशेष पर्वमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ०८:५५