उदयपुर । सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ ।
उदयपुरगढी गाउँपालिका-७ को बतासेमा पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण कार्य सुरु भएको छ ।
बतासेकी राधाकुमारी मगरका अनुसार बतासेको ट्याङकीमा जम्मा गर्ने स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्याङकी रित्तै भएपछि गाउँमा पानीको हाहाकार बन्न पुगेको छ ।
एक हप्तादेखि स्थानीयवासी काकाकुल नै बनेपछि शनिबारदेखि दमकलको सहायताले पानी वितरण हुन थालेको उनले बताए।
उदयपुर गढी-७ का वडाध्यक्ष भुवन मगर भन्छन्, “यस वडाका करिब ५० घर परिवार पानीविहीन भएपछि सङ्घीय सांसद अमर रायमाझी र प्रदेशसभा सदस्य नारायण बुर्जामगरको सहयोगमा दमकलमार्फत वैद्यनाथ खोलाबाट पानी ल्याई वितरण गरिएको छ।”
वडाध्यक्ष मगरका अनुसार आगलागी हुँदा प्रयोग गर्नुपर्ने दमकल अहिले खडेरीका कारण गाउँलेलाई पानी उपलब्ध गराउन प्रयोग गर्नुपरेको छ।
प्रदेशसभा सदस्य बुर्जा मगरका अनुसार आफूहरूले खर्च जुटाउने सर्तमा दमकल प्रयोग गरेर वैद्यनाथ खोलाको पानी दिनमा ५/६ पटकसम्म बोकेर ५० घरमा वितरण सुरु गरिएको हो ।
यस क्षेत्रका जनतालाई पानी उपलब्ध गराउन अब अन्य विकल्प पनि सोच्न बाध्य हुनुपरेको सो क्षेत्रका सांसद रायमाझीले बताए।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० २२:०५