देशले रगत
मागेको भए
म मेरो हड्डि निचोरेर
देशको सिउँदो रङ्गाउन
पनि तयार थिएँ !
तर रगत चुस्ने भुगोललाई
म कसरी मेरो देश भनेर मानौँ ?
म अहिले
जहाँ उभिएको छु
के त्यो मेरो देश हो ?
मेरो अगाडि जुन भुगोल
मलाई निल्नलाई
आँ गरेर बसेको छ
के त्यो मेरो देश हो ?
यदि हो भने
देश नभेटेर
आज बिहानै
मेरो भाई किन देश खोज्न
समुद्रपारि हुइँकिन परेको ?
मेरो दाईले छोरीको
लागि अलिकति देश किन्न
भाउजूलाई एक्लै छोडेर
ल्हासा किन जानु परेको ?
हरियो वन
नेपालको धन
गुन गुनाउने मेरो देशले
राजनीतिको नाममा
एक त्यान्द्रो साग लुकाएर
जनतालाई किन अन्धो बनाउछ ?
राजधानीको शिरमा
उभिएको झन्डा किन
दक्षिणतिर निहुरिएर फर्फराउँछ ?
सबै भन्दा उच्च
सगरमाथाले
मेरो दौतरीलाई
किन छहारी दिन सकेन ?
हरेक दिन मरुभुमि
भिजाउन मेरो काकाहरुको
रगत किन बेचिन्छ ?
म मेरो हड्डि निचोरेरै
देशको सिउँदो रङ्गाउन
पनि तयार थिएँ !
तर रगत चुस्ने भुगोललाई
म कसरी मेरो देश भनेर मानौँ ?
अब त
अर्को महिना
रजस्वला हुनलाई
मसँग एक दुई थोपा
रगत पनि बाँकी छैन !!
- वेदना
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० ११:५०