नवलपुर, नवलपरासी । प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा मेडरी नाच नै लोप हुने खतरा बढेको छ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो।
जिल्लाको मध्यविन्दु-३ लेढाहाका थारु अगुवा होमबहादुर थनेतले सय भाइ कौरव तथा पाँच पाण्डवको जन्मको कथादेखि लिएर कुरु क्षेत्रको युद्धसम्मको कथा मेडरी नाचमा प्रस्तुत गरिने बताए।
मेडरी नाच्नु अगाडि धाजो (बाँसका दुई वटा लिङ्गो) गाडेर पूजा गरेपछि मात्रै मेडरी नाचिने थनेतको भनाइ छ। अहिलेका थारु युवाहरुले मेडरी नाच सिक्न र नाच्न अल्छी गर्दा प्राचीन संस्कृति नै लोप हुने अवस्थामा पुगेको उनाँले गुनासो गरे।
मेडरी नाचमा माहाभारतको सबै कथा भनेर नाच्ने गरिएको भन्दै थनेतले एकै ठाउँमा सबै गीन गाउन नसकिए पनि खण्ड खण्डमा गीत गाउने गरेको बताए।
पञ्चायतको पालामा राजा महेन्द्रले यो नाच हेर्ने भनेपछि नवलपुरका थारुहरु पोखरा गएर राजालाई मेडरी नाच देखाएको थनेको भनाइ छ।
त्यसपछि राजा वीरेन्द्रको निमन्त्रणामा हामी बुटवलमा पुगेको स्मरण गर्दै मेडरी नाच देशका राजनीतिक दलका नेताहरुले समेत रहेको बताए। मध्यविन्दु-३ का विकाराम गुरौँले कुनै संस्था वा समुदायले प्राचीन मेडरी नाचका लागि निमन्त्रणा गरेपछि यो नाच नाच्ने बताए।
मेडरी नाचको पूरै कथा समेटिनेगरी भिडियो निर्माण गरेर राख्दा पछिल्ला पुस्ता यो नाचप्रति आकर्षित हुनसक्ने उनको भनाइ छ। नयाँ पुस्तालाई आफ्नो कला र संस्कृतिप्रति चासो दिनुपर्छ, सिक्नुपर्छ भनेर भन्दा पनि उनीहरुले चासो नदिएका उनले गुनासो गरे।
गाउँभरीका मानिस भेला भएर माहाभारतको कथालाई गीतमार्फत गाउँदै धाजो (पूजा गरेर गाडिएको खाँबो)लाई घुमेर यो नाच नाचिने गुरौँको भनाइ छ।
महाभारत युद्धमा प्रयोग भएको अर्जुनको घोडा, तरवार, भाला, गदालगायतका सामग्रीकोरुपमा काठबाट बनेका सामग्री लिएर मेडरी नाच्ने प्रचलन रहेको उनको भनाइ छ।
आस्विन शुक्ल प्रतिपदाको दिनदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म मेडरी नाच्ने प्रचलन रहेको उनले बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० १७:४२