सोलुखुम्बू । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-५ जुबुस्थित पानीडाँडाको खानेपानी समस्या समाधान हुनेभएको छ।
गाउँपालिका अध्यक्ष असिम राईले त्यस क्षेत्रमा पुगेर खानेपानी योजना सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएसङ्गै समस्या समाधान हुने निश्चित भएको हो।
पानीडाडाको समस्या सम्बोधनका लागि गाउँपालिका अध्यक्ष असिम राईले पालिकाको प्राविधिक, खानेपानी व्यवस्थापन बोर्डका संयोजक भोजराज कार्की सहितको टोलि लिएर त्यहा पुगेको सुबास बस्नेतले जानकारी दिए।
खानेपानीको समाधान र व्यवस्थापनमा प्राविधिकले स्टिमेट समेत निकाली सकेको हुँदा तत्काल गुणस्तरीय काम गर्न अध्यक्ष राईले सबैलाई निर्देशन दिए।

प्राविधिकको स्टिमेट अनुसार ७ लाख २८ हजार लागतमा ४३ घरधुरीमा पिउने पानी पुग्ने गाउँपालिका अध्यक्ष राईले बताए। नागरिकको दैनिक समस्यासँग पालिका सरकार गम्भीर रहेको भन्दै अध्यक्ष राईले पानीडाडामा खानेपानी समस्या समाधान पहिलो प्राथमिकतामा परेको बताए।
सबै नागरिकको घरघरमा स्वच्छ पिउने पानी पुर्याउने पालिकाको नीति रहेको भन्दै अध्यक्ष राईले गाउँपालिकामा गठन गरेको खानेपानी व्यवस्थापन बोर्डले सोही अनुसार काम गर्ने बताए।

लामो समयदेखि खानेपानी कै लागि निकै समय खर्चंदै आएको स्थानीय निरकुमार बस्नेतले बाताए। पिउने पानी नहुँदा सरसफाइदेखि खाना पकाउनको लागि समेत निकै कठिन हुनेगरेको स्थानीयको भनाइ छ। स्थानीय नागरिकले वर्षौदेखिको खानेपानी समस्या समस्या समाधान हुनेभएपछि खुसी व्यक्त गरेका छन्।
जिल्लाको ८ स्थानीय तह मध्ये थुलुङ दुधकोशी गाउँपालिकाले मात्रै खानेपानी व्यवस्थापन बोर्ड गठन गरि प्रभावकारी काम गर्दै आएको पालिका प्रवक्ता तथा बोर्ड संयोजक भोजराज कार्कीले प्रकाश पारेका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० ०९:०७