सोलुखुम्बू । सोलुखुम्बूको थुलुङ दुधकोशी गाउँपालिका-२ काँगेलमा वर्थिङ सेन्टरको उद्घाटन कार्य सम्पन्न भएको छ।
उक्त वर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष असिम राईले विकासका निम्ति सिमित स्वार्थ राखेर काम गर्दा सोचेको जस्तो परिवर्तन नभएको भन्दै एकजुट हुन आग्रह गरेको हो।


गाउँपालिकाको विकासको निम्ति आफूहरु टोल-टोलमा पुग्न तयार रहेको भन्दै अध्यक्ष राईले वास्तविक समस्या र आवश्यकतालाई अघि सार्न अनुरोध गरेको छ।
कुनैपनि कार्यक्रम आयोजना हुनुभन्दा पनि त्यसको प्रतिफल र दीर्घकालिन फाइदालाई केन्द्रमा राख्नुपर्ने भन्दै अध्यक्ष राईले काँगेलको विकासको निम्ति पालिका सरकार गम्भिर भएर लागेको बताए।
सोही कार्यक्रमको अवसरमा बोल्दै महिला स्वयमसेवीका टिका खात्रीले गाउँपालिका सरकारको तदारुकता र योजनाले मातृमृत्युदर सून्यमा झरेको भन्दै खुसी व्यक्त गरे। पालिका नेतृत्वले नागरिकलाई केन्द्रमा राखेर भौतिक संरचना निर्माणदेखि जनशक्ति व्यवस्थापन लगायतको काम गरेको उनको भनाई थियो।


गाउँपालिका अध्यक्ष राईले वर्थिङ सेन्टरको उद्घाटन गरेसँगै सेवा पनि सुचारु भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी गराएका थिए भने उक्त वर्थिङ सेन्टर सञ्चालनको लागि आवश्यक पर्ने १२ लाख बढीको सामग्री रोटरी क्लब काठमाडाले सहयोग गरेको रोटरी क्लब सोलुखुम्बुका सदस्य धन्दीराम राईले बताए ।
वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका संयोजक युजन बस्नेतको अध्यक्षता तथा पालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिका प्रवक्ता भोजराज कार्की, स्वास्थ्य संयोजक उद्धब ढुंगाना र रोटरी क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० ०८:५८