भरतपुर । चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।
संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो।
विभागका प्रमुख पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी थापाका अनुसार गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माण गरिएको छ।
निर्माण कम्पनीले काम सम्पन्न गरेको भए पनि केही त्रुटि भेटिएपछि सुधारका लागि केही समय दिइएको जनाउँदै उनले यही माघभित्र पुनःनिर्माणको सबै काम सकिने बताए।
चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी राप्ती नगरपालिका-१३ मा पर्छ। नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम गरिएको छ। त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिएको उनले बताए।
गढी पुनःनिर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष श्रेष्ठले पुरातत्व विभागमार्फत २०८० साल जेठ १६ गते सम्झौता गरेर काम गरिएको बताए।
कान्द्राङगढीमा सेनकालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन्। लिखितरुपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रुपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन्।
स्थानीय इन्द्रबहादुर चेपाङले ५६ दिनदेखि नियमितरुपमा गढी पुनःनिर्माणमा खटिएको बताउँदै उनले ढुङ्गा र पानी बोकेर गढी निर्माण गरिरहेको बताए।
ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकको पालामा निर्माण भएको जनविश्वास रहेको छ। समुद्र सतहबाट १ हजार ४ सय ५० मिटरको उचाइमा रहेको गढीबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभाग सजिलैसँग देख्न सकिन्छ
तत्कालीन सेन शासकले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुनसक्ने जनविश्वास छ।
तत्कालीन सेन वंशको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकमा उल्लेख गरेको पाइन्छ।
कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्नसके पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने चेपाङ समुदायको संरक्षणका क्षेत्रमा गर्दै आएका केपीकिरण शर्माले बताए।
ठूलो मुख्य गढी ५०÷६० जना अटाउने र सानो सहायक गढी उत्तरपट्टि छ। गढी वरपरका केही सुरुङबाट तातो बाफ आउने गरेको स्थानीय बासिन्दा बताउँछन्।
कान्द्राङगढी पूर्वपश्चिम राजमार्गको भण्डाराबाट ४२ किमीको दूरीमा पर्छ। यस्तै धादिङको मलेखुबाट २२ किमीको यात्रापछि गढीसम्म पुग्न सकिन्छ। भण्डारा–मलेखु चेपाङ मार्गबाट एक किमीको दूरीमा कान्द्राङगढी पर्दछ।