म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिका-५ फेदी हुँदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानी सम्म स्तरोन्नति गर्ने काम सकिएको छ।
नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ति सुधार र ढलान भएपछि धवलागिरी गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य दरवाङ-धारापानी-ताकम-मुना सडकको दरवाङ-धारापानी खण्डको यात्रा सहज बनेको हो।
दरवाङदेखि धारापानी पुग्न यसअघि गाडीमा ४५ मिनेट लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्रा अवधि १५ मिनेटमा छोटिएको छ।
दरवाङदेखि फेदी हँुदै धारापानी खण्डको ६ किलोमिटर ६०० मिटर सडक स्तरोन्नति गर्न विस २०७६ चैत ४ गते १४ करोड ३८ लाख ६७ हजारमा धुलिखेल–ब्राइट-कुँवर जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच ठेक्का सम्झौता भएको थियो।
हाल ९५ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको निर्माण कम्पनीले जनाएको छ। बादिकाको अप्ठ्यारो र साँघुरो भिरमा ३२४ मिटर सडक ढलान भएको छ।
३.५ तीन देखि ४ मिटर फराकिलो रहेको सडक सरदर ७.५ मिटरका दरले फराकिलो बनाइएको छ। ग्रेड नमिलेको ठाउँमा ४०० मिटर नयाँ मार्ग खोलिएको छ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० १४:५१