धेरै दिनपछि
अन्तर्मनबाट एक्कासि
ब्युँझिएको छु
अनुभूत गर्छु
आकाशको त्यो गोलो चन्द्रमा
आकाशभरि 
आँखा झिम्काईरहने
असरल्ल अवोध सुन्दर ताराहरु
लजाईरहेका बादलका घुम्टोहरु
अनि 
आकाश छौँला झैँ गरेर
जिस्किरहने उत्ताउला क्षितिजहरु
मैले धेरैबेर 
आत्मावोध गरेँ
तिम्रो अनन्त प्रेम 
अनुभूत गरेर त
आकाशले परपर फिजिन सिकेको हो
तिम्रो नागबेली कपाल
देखेर त
बादलले लहराउँदै उड्न सिकेको हो
तिम्रो लाडे पल्टिदै
जिस्कने बानी देखे र त
वासन्ती मन्द हावाले जिस्कन सिकेको हो
तिम्रो गाजलु आँखामा
परेली झिमझिम गरेको देखेर त
आकाशका ताराहरुले
रातमा चम्चमाउन  सिकेका हुन् 
अझ भनौ
तिम्रै अनुकरण गर्दै गोधुली साँझमा
आकाश रातो भएर लजाउन सिकेको हो
त्यसैले
तिमी बिना यो लाटो आकाश
यी असरल्ल चन्चले ताराहरु
सबेरै झुल्कने घाम 
अबेरसम्म नडुब्ने जून
फूलबुट्टे बादल
अनि अकारण जिस्किरहने क्षितिज
अर्थहीन 
फगत अर्थहीन हुन्छ।
                        
                     
                    
                    
                    
                        
                            प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:३७