इटहरी, सुनसरी ।। इटहरी–२ निवासी ५३ वर्षीय रामकुमार चौहान र उनकी पत्नी पछिल्ला केही वर्षदेखि सामाजिक दबाब, त्रास, र मानसिक तनावबीच जीवन बिताउँदै आएका छन्। राजनीतिक परिवेश, स्वास्थ्य समस्या, र घर वरिपरि देखिने असुरक्षा जन्य गतिविधिहरूका कारण चौहान परिवारको दिनचर्या निकै कठिन बन्दै गएको छ।
रामकुमार चौहानका अनुसार, २०७९ सालको मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएपछिका दिनहरूमा उनीमाथि अज्ञात समूहबाट निरन्तर मानसिक दबाब सिर्जना हुने घटना दोहोरिन थालेका छन्। चौहान भन्छन्, “मैले निर्वाचनताका विभिन्न पार्टीहरूका गतिविधिमा देखिएको भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाएको थिएँ, जसका कारण आफ्नै पार्टी नेपाली कांग्रेसका केही कार्यकर्ताबाट समेत विभिन्न धम्की पाउन थालेको छु।”
उनका अनुसार ती घटनाहरू २०७९ मंसिरपछि सुरु भएका हुन्, जब रातको समयमा मुख छोपेका व्यक्तिहरू घरमा आइ अनावश्यक सोधपुछ गर्ने, गाली गर्ने, ढोका ढकढक्याउने र धम्की दिएर भाग्ने जस्ता गतिविधिहरू बढ्न थाले। उनले अहिलेसम्म घटनाबारे निकायहरूमा सामान्य जानकारी गराइसकेका छन्, तर स्पष्ट सुनुवाइ नभएको बताउँछन्। यद्यपि, चौहानले कुनै निकायप्रति प्रत्यक्ष दोष नदिई, आफूले शान्त र सुरक्षित जीवन बिताउन पाउनुपर्ने अपेक्षा राखेका छन्।
परिवारमा हाल उनी र उनकी पत्नी बसोबास गर्दै आएका छन्। श्रीमती लामो समयदेखि ढाडको पीडा र श्वासप्रश्वासको समस्याबाट पीडित छिन्। उनका जेठा छोरा जापानमा छन् भने कान्छा छोरा सुजन चौहान बेलायतमा छन्। चौहान परिवार अहिले पनि निरन्तर सामाजिक दबाब र मानसिक त्रासको बीच जीवन गुजार्दै शान्ति, सम्मान र सुरक्षाको वातावरण खोजिरहेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १९:३३