चितवन । चैतेधानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । सरकारले चैतेधानको समर्थन मूल्य रु. दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु. एक हजारदेखि एक हजार आठ सयसम्ममा बेच्न बाध्य भएका छन् । धान थन्क्याउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन् ।
खैरहनी नगरपालिकाका– १० का कृष्ण अर्याल चैतेधानको समर्थन मूल्य नपाएकामा खिन्न छन् । दुई बिघामा चैतेधान लगाएकाे उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धानखेती नगर्ने निर्णयमा छन् । समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरिएको उनले बताए । राप्ती नगरपालिका– ५ का धर्मराज कँडेल पनि धानको मूल्य नपाएपछि निराश छन् ।
जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेल धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिन्छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैतेधानकाे खेती हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताए । स्थानीय व्यवसायी र सरोकार भएकाहरूबिचमा छलफल जारी रहेको जानकारी दिँदै उनले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।
चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ । गत वर्ष नौ हजार पाँच सय हेक्टरमा चैतेधान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२ १२:५८