रामेछाप । रामेछापबाट चालु आर्थिक वर्षको नौ महिनामा ६ हजार ७६ जना युवा युवतीहरु वैदेशिक रोजगारीको लागि विदेशिएका छन् ।
सो कुरा सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले बिहीबार मन्थली नगरपालिकाको सभाहलमा आयोजना गरेको जिल्लास्थित सञ्चारकर्मीबिच गरेको अन्र्तक्रिया कार्यक्रमका अवसरमा जानकारी गराएको हो । जिल्लामा रोजगारीको अवसर नभएपछि वर्षेनी वैदेशिक रोजगारीको लागि जाने युवा युवतीको संख्यामा वृद्धि हुँदै आएको छ ।
चालु आर्थिक वर्षका नौ महिनाको अवधिमा रामेछापवाट चार हजार सात सय २० जना पुरुष र एक हजार तीन सय ५६ जना महिलाहरुले श्रम स्वीकृती लिएर विभिन्न मुलुकमा रोजगारीको लागि गएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक दीपक केसीले जानकारी दिए ।
उनका अनुसार गएको आर्थिक वर्ष २०८०/०८१ मा सात हजार चार सय ३१ जनाले श्रम स्वीकृती लिएर विभिन्न मुलुकमा काम गर्नको लागि युवा युवती विदेशिएका थिए । गएको वर्षको तुलनामा यस चालु आर्थिक वर्षको नौ महिनामा यती धेरै विदेशिनु चिन्ताको विषय बन्दै गएको छ । यही तरीकाले युवा युवती वर्षेनी विदेशीने हो भने जिल्लामा युवा युवतीहरु बिहिन नबन्ला भन्न सकिन्न संयोजक केसीले बताए ।
वैदेशिक रोजगारीमा जाने युवा युवतीलाई सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले जिल्ला प्रशासन कार्यालयमा परामर्श डेक्स स्थापना गरी परामर्श समेत दिदै आएको छ । प्रशासन कार्यालयमा राहादानी वनाउन जाने युवा युवतीलाई परामर्श दिने गरिएको छ । सामिले चालु आर्थिक वर्षको नौ महिनामा ३ हजार ६ सय युवा युवतीलाई वैदेशिक रोजगार सम्वन्धि परामर्श प्रदान गरिएको संयोजक केसीले बताए ।
त्यसैगरी रामेछापबाट विभिन्न देशमा वैदेशिक रोजगारमा गएकाहरु मध्ये ६ वर्षको अवधिमा ३१ जनाको मृत्यु भएको र १५ जना अगंभंग भएका छन् । वैदेशिक रोजगार विभाग र आप्रवासी स्रोत केन्द्रको तथ्यांककाे रेकर्ड अनुसार यती मात्रै भेटिएता पनि मृत्यु हुने र शारिरीक रुपमा अंगभंग हुनेको संख्या अझै बढ्न सक्ने सामि परियोजनाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०८२ १३:३०