ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई थप तीव्रता दिइएको छ । करिब तीन साता अघि मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योगहरूलाई सिल गरेपछि पुनः बजार अनुगमन सुरु गरेको छ ।
फुङलिङ बजारमा सञ्चालित माछा, मासु र सिद्रा पसलहरूको संयुक्त रुपमा अनुगमन गरिएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ र नेपाल घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रतिनिधिहरू सहभागी थिए ।
अनुगमनका क्रममा दर्ता नबिकनी सञ्चालन भइरहेका तथा एउटै कागजात प्रयोग गरी दुई स्थानमा व्यवसाय सञ्चालन गरेका पसलहरू भेटिएका छन् ।
त्यस्तै, म्याद गुज्रेका र उपभोगका लागि अयोग्य सामग्रीहरू जफत गरी नष्ट गरिएको छ। मापदण्ड विपरीत सञ्चालन भइरहेका व्यावसायीहरूलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पुरा गर्न निर्देशन दिइएको छ। निर्धारित समयभित्र सुधार नभएमा पसल बन्द गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
अनुगमन समितिकी संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार सञ्चालनमा रहेका १५ वटा माछा, मासु तथा सिद्रा पसलहरूको अनुगमन गरिएको थियो । “केही पसलहरू मापदण्डअनुसार उत्कृष्ट ढंगबाट सञ्चालनमा रहेको पाइएको छ,” खड्काले बताए ।
अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै माछाको गुणस्तर परीक्षणसमेत गरिएको थियो। भेटेरिनरी अस्पतालको प्राविधिक टोलीले माछा र मासुमा हानिकारक रासायनिक पदार्थ प्रयोग भएको भए नभएको परीक्षण गरेको नेपाल घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख रोशन दाहालले जानकारी दिए ।
दिइएको १५ दिनको अवधिमा अनुगमन टोलीको निर्देशन अनुसार सुधार गरिएको छ कि छैन भनी छिट्टै पुनः अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ १४:१०