पर्सा । पर्साकाे वीरगञ्जमा दिपावलीको लागि झिलिमिली बत्ती ( झालरबत्ती) लगाउने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
दिपावलीका लागि घर सजाउन झिलिमिली बत्ती (झालरबत्ती) लगाउने क्रममा अचानक शरीरमा विद्युत प्रवाह भएर सख्त घाइते भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार शनिबार साँझ करिब ६ बजे पीयूष आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती (झालरबत्ती) जडान गरिरहेका थिए । सोही क्रममा अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी सख्त घाइते भएका थिए ।
अचेत अवस्थामा रहेका उनलाई स्थानीयले तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै निधन भएको थियो ।
छपकैया बजार निवासी लालु साह तेलीका छोरा पीयूष मृत्युले दिपावलीको उल्लासमय वातावरण शोकमय भएको छ । प्रहरीले आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन भिललिमिली बत्ति जडान गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०८२ १२:२७