काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता जाडो उल्लेख्य रूपमा बढेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकामा चिसोको असर बढ्दै गएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भू–भागमा तापक्रम घटेको छ । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको विभागले जनाएको छ । तापक्रम घटेपछि बिहान र बेलुका चिसो बढ्नुका साथै कुहिरो र बादलको प्रभाव पनि देखिन थालेको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको विमानस्थल आसपास क्षेत्रमा ३.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने ललितपुरको सानेपा क्षेत्रमा न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियसमा झरेको छ । यसले उपत्यकामा चिसोको अनुभूति अझ तीव्र बनाएको छ ।
आइतबारदेखि काठमाडौं उपत्यकामा घाम पनि कम देखिन थालेको छ । घाम नलाग्दा चिसो अझै बढेको अनुभूति हुने गरेको सर्वसाधारणले बताएका छन् । बिहान र साँझको समयमा चिसो हावासँगै जनजीवन प्रभावित हुन थालेको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले अनावश्यक काममा बाहिर ननिस्किन, न्यानो कपडा प्रयोग गर्न तथा आगो बाल्दा सावधानी अपनाउन सुझाव दिएको छ ।
जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरूको तुलनामा बढी स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
मौसमविद्हरूका अनुसार केही दिन अझै चिसो कायम रहने सम्भावना रहेकाले आवश्यक तयारी र सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२ १०:०८