नेपालगन्ज । तराईमा चलेको अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण बाँकेका मौरीपालक किसानहरू चिन्तित बनेका छन्। चिसो सहन नसकेर घारभित्रै मौरी मर्न थालेपछि मह उत्पादनमा ठूलो गिरावट आउने संकेत देखिएको छ। नेपाल मौरीपालक महासङ्घ बाँकेका अनुसार प्रतिकूल मौसमका कारण कतिपय घारहरू रित्तिने अवस्थामा पुगेका छन्।
नेपाल मौरीपालक महासङ्घ बाँकेका अध्यक्ष पुरमल बस्नेतका अनुसार चिसोका कारण घारका करिब दुई प्रतिशत मौरी मरिसकेका छन्। बाहिर निस्कँदा चराको आक्रमण र भित्र रहँदा शीतलहरको चपेटामा परेपछि मौरीका लागि अहिलेको समय 'सङ्कटकाल' जस्तै बनेको छ। बाँकेमा विशेष गरी युरोपबाट विकास गरिएको उन्नत जातको 'मेलिफेरा' मौरीबाट व्यावसायिक मह उत्पादन हुने गरेको छ। चरिचरनका लागि विभिन्न स्थानमा लैजाँदा मौरीलाई चिसोले झन् बढी सताउने गरेको छ। रैथाने जातका मौरी, भमरा र पुत्का समेत मर्न थालेकाले यिनीहरूको वासस्थान सुरक्षाका लागि विशेष कार्यक्रम आवश्यक देखिएको छ।
कोहलपुरका अर्का किसान कृष्ण आचार्यको अनुभव झन् पीडादायी छ। उनले पालेका ७० घारमध्ये अत्यधिक चिसोले गर्दा करिब आधा मौरी मरिसकेका छन्। एउटा घारमा हुने १० वटा फ्रेममध्ये दुईदेखि तीन फ्रेम अहिले खाली भइसकेका छन्। चिसोका कारण रानीमौरीले अण्डा पार्न नसक्ने र कामदार मौरी आहारका लागि बाहिर निस्कन नसक्दा भोकै मर्ने अवस्था आएको छ। बाँकेमा करिब १२ जना व्यावसायिक किसानले मौरीपालन गर्दै आएका छन्। गत वर्ष जिल्लामा करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएकोमा यस वर्ष त्यो संख्या निकै घट्ने अनुमान गरिएको छ।
मौरीपालक किसानहरू अहिले चरिचरनका लागि बाँकेबाट दाङ, बर्दिया र सुर्खेतसम्म धाउने गर्छन्। तोरीको फूल सकिनु र शीतलहर बढ्नुले किसानलाई दोहोरो मार परेको छ। गत वर्ष कोहलपुर नगरपालिकाले मौरीपालकलाई पाँच लाख रुपैयाँ अनुदान दिए पनि यस वर्ष भने सरकारी स्तरबाट कुनै ठोस सहयोगका कार्यक्रम नभएको कृषि विकास शाखाले जनाएको छ। यस्तो अवस्थामा मौरीलाई बचाउन र किसानको लगानी सुरक्षित गर्न सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ ०९:२७