काठमाडौं । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका करिब सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेका छन् । तीमध्ये ५० प्रतिशत कहिल्यै विद्यालय नगएका र बाँकी ५० प्रतिशतले बिचैमा विद्यालय छाडेका राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको नेपालमा शिक्षा र समावेशिता प्रतिवेदनअनुसार विद्यालय नजाने र छाड्ने बालबालिका विकट जिल्ला तथा न्यून आयस्तरका सीमान्तकृत समुदायमा बढी छन् । विद्यालयबाहिर रहने जोखिम पाँच वर्षको उमेर र १०–१४ वर्ष (माध्यमिक तह प्रवेश) मा उच्च देखिएको छ । विशेष गरी कक्षा ५ पछि विद्यालय छाड्ने प्रवृत्ति बढ्दो छ ।
कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार मधेशी, दलित तथा भाषिक–अल्पसङ्ख्यक समुदायका करिब तीनचौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा पर्छन् । पाँच वर्षभन्दा माथिको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ, जसमा पुरुष ८३.६ र महिला ६९.४ प्रतिशत छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार २९ प्रतिशत घरपरिवारमा १८ वर्षमुनिका बालबालिका छैनन् । २०५८ मा ४६ प्रतिशत रहेको बालबालिकाको अनुपात २०७८ मा घटेर ३४ प्रतिशत पुगेको छ । हाल नेपालमा ९८ लाख ६९ हजार ५८३ बालबालिका छन् ।
प्रदेशगत रूपमा घरपरिवारमा बालबालिका रहने अनुपात कर्णालीमा सबैभन्दा बढी (८१%) र बागमतीमा सबैभन्दा कम (६२%) रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १०:१५