काठमाडौं । भारतको झारखण्ड राज्यमा जंगली हात्तीको आक्रमणमा परी पछिल्लो नौ दिनभित्र २० जनाको ज्यान लिएको छ ।
आक्रमणमा ज्यान गुमाउनेहरूमा बालबालिका र वृद्धवृद्धा छन् । एकजना माहुतेको पनि मृत्यु भएको छ । १५ जना घाइते भएका बताइएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार, यो हात्ती यही जनवरीदेखि नै हिंस्रक बनेको छ । जसले गर्दा सिंहभूम जिल्लावासीमा त्रास सिर्जना गरेको छ ।
वन विभागका कर्मचारीहरू यस्तो हात्तीको खोजी गरिरहेका बताएका छन् । वन विभागका अधिकारी आदित्य नारायणले भनेका छन्, “हामी उक्त हात्तीलाई खोजेर उद्धार गर्ने प्रयास गरिरहेका छौँ ।”
हात्तीलाई खोज्नका लागि ड्रोनको प्रयोग भइरहेको भएपनि अहिलेसम्म अधिकारीहरूले यसलाई नियन्त्रणमा लिन नसकेको बताइएको छ ।
संसदीय तथ्यांकअनुसार, सन् २०२३–२४ को अवधिमा भारतमा हात्तीको आक्रमणमा ६२९ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०८२ ०७:२२