विराटनगर । सुनसरीको भोक्राहानर्सिङ–८, सोनियाहीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
विराटनगरबाट टायल र मार्बल बोकेर सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्गअन्तर्गत सोनियाहीस्थित सडकको घुम्तीमा आज बिहान करिब साढे ५ बजे अनियन्त्रित भई पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार ट्रक पल्टिँदा पछाडि सामानमाथि बसेका पाँच जना मजदुरलाई टायल र मार्बलले थिचेको थियो। सामानले च्यापिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाउने सबै सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा रहेका छन्। मृतकहरूमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन्।
ट्रकमा चालकसहित जम्मा ९ जना सवार थिए। चालकको क्याबिनमा चार जना र पछाडि सामानमाथि पाँच जना बसेका थिए। क्याबिनमा सवार चार जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०८२ १२:०८