दाङ । तुलसीपुर उपमहानगरपालिका–३ का विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई तथा भैँसी पालन गर्दै मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
स्वदेशमै केही गर्ने उद्देश्यले विसं २०७७ देखि पशुपालन व्यवसाय सुरु गरेका शर्मासँग हाल १३ वटा गाई र १२ वटा भैँसी छन् । तीमध्ये नौ वटा गाई र पाँच वटा भैँसीले नियमित रूपमा दूध दिइरहेका छन् । उनका अनुसार दैनिक ७५ लिटरसम्म दूध उत्पादन हुने गरेको छ ।
हाल बजारमा प्रतिलिटर ९५ रुपैयाँका दरले दूध बिक्री भइरहेको शर्माले बताए । “खर्च कटाएर मासिक रूपमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने । दूधको बजारीकरणमा समस्या नभए पनि वास्तविक किसानले उचित मूल्य नपाएको उनको गुनासो छ । “बजारमा दूध बेच्न समस्या छैन, तर किसानले पाउनुपर्ने मूल्य पाएका छैनन्, यसतर्फ सरकारले ध्यान दिनुपर्छ,” शर्माले जोड दिए ।
शर्माले करिब १३ लाख रुपैयाँ लगानीमा गोठ निर्माण गरेका छन् भने गाई तथा भैँसी खरिदमा पनि झन्डै १३ लाख रुपैयाँ खर्च गरेका छन् । उनका अनुसार उक्त लगानी हालसम्म उठिसकेको छ । दूधसँगै गाईभैँसीको मल बिक्रीबाट पनि आम्दानी भइरहेको उनले बताए । मल प्रत्येक टिपरको ३० हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ ।
व्यवसायलाई ‘शर्मा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म’का रूपमा दर्ता गरेर सञ्चालन गर्दै आएका शर्माले पशुपालक किसानका लागि निःशुल्क पशु बिमा, भकारो सुधार कार्यक्रम तथा पशु कृत्रिम गर्भाधान (एआई) सेवा वास्तविक किसानसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ ०८:०९