उदयपुर । उदयपुरको कटारीस्थित प्रादेशिक अस्पताल यतिबेला केवल एक चिकित्सकको अनुपस्थितिको संकटमा छैन, बरु ग्रामीण स्वास्थ्य सेवाको भविष्य, स्वास्थ्यकर्मीको सुरक्षा र जनताको आधारभूत उपचार अधिकारसँग जोडिएको गम्भीर प्रश्नको घेरामा पुगेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा गौरव साहले असुरक्षाको कारण अस्पताल नफर्कने घोषणा गरेपछि अस्पतालको सेवा प्रवाह प्रभावित बन्न थालेको छ भने स्थानीयवासीमा चिन्ता बढेको छ ।
एक सडक दुर्घटनापछि उत्पन्न विवाद, पोस्टमार्टम प्रक्रियालाई लिएर अस्पताल परिसरमा सिर्जित तनाव र त्यसपछि चिकित्सकमाथि भएको कथित धम्कीको घटनाले कटारी अस्पतालको अवस्था असहज बनाएको हो । अस्पताल प्रशासनका अनुसार डा साहले आफूलाई ज्यान मार्ने धम्की आएको र अस्पतालमा काम गर्ने वातावरण नरहेको जनाउँदै अस्पताल छोडेका हुन् ।
तर, यो घटना केवल एक दिनको विवाद मात्र नभई, पछिल्लो समय सरकारी अस्पतालमा बढ्दो असुरक्षा, स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार र ग्रामीण स्वास्थ्य संरचनामाथि परेको दबाबको प्रतिनिधि घटनाका रूपमा हेरिन थालेको छ ।
कटारी प्रादेशिक अस्पतालमा मेसुको जिम्मेवारी सम्हालेपछि डा गौरव साहले अस्पताल सेवामा केही महत्वपूर्ण सुधार प्रयास थालेको अस्पताल स्रोतको दाबी छ । सीमित स्रोत–साधन र जनशक्ति अभावका बीच पनि अस्पताललाई व्यवस्थित बनाउन, सेवा विस्तार गर्न तथा उपचार प्रक्रियालाई सहज बनाउने दिशामा उनले पहल गरेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् ।
५० बेड क्षमताको अस्पतालमा सुरक्षित प्रसूति सेवा, नवजात शिशुका लागि एसएनसियु, अल्ट्रासाउन्ड, ओपिडी तथा सर्पदंश उपचार सेवा निरन्तर सञ्चालनमा ल्याउन जनशक्ति व्यवस्थापनमा उनको सक्रियता देखिएको अस्पताल स्रोतको भनाइ छ । करारमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गरी अस्पताललाई क्षेत्रीय भरोसाको केन्द्र बनाउन प्रयास भइरहेको अवस्थामा उत्पन्न विवादले सेवामै असर पुगेको कर्मचारीहरू बताउँछन् ।
कटारी प्रादेशिक अस्पताल केवल उदयपुरकै अस्पताल होइन । यसले सिन्धुली, खोटाङ र ओखलढुंगाका दुर्गम क्षेत्रका नागरिकलाई समेत स्वास्थ्य सेवा दिँदै आएको छ । दैनिक सयौँ बिरामी उपचारका लागि आउने यस अस्पतालमा सेवा अवरुद्ध हुनु भनेको हजारौँ नागरिकको उपचार पहुँच कमजोर हुनु हो ।
कटारी नगरपालिका–२ मा भएको सडक दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको थियो । अस्पतालका अनुसार पोस्टमार्टम कक्षमा रहेको शव राख्ने फ्रिजमा प्राविधिक समस्या देखिएपछि तनाव उत्पन्न भयो ।

अस्पताल प्रशासनको दाबी अनुसार केही व्यक्तिले प्रहरीको जिम्मामा रहेको शव पोस्टमार्टम कक्षबाट निकालेर आकस्मिक सेवाअगाडि राख्दै होहल्ला गरे । त्यसपछि अस्पताल पुगेका डा गौरव साहमाथि गालीगलौज, दुर्व्यवहार तथा कुटपिटको धम्की दिइएको आरोप छ ।
डा साहले सार्वजनिक रूपमा अस्पतालमा सुरक्षित वातावरण नरहेको बताएका छन् । उनका अनुसार केही व्यक्तिकेन्द्रित समूह र निजी स्वास्थ्य संस्थासँग जोडिएका स्वार्थ समूहबाट आफूलाई दबाब र धम्की आएको अवस्था बनेपछि अस्पताल फर्किन कठिन भएको हो ।
उनले निमित्त मेसुको जिम्मेवारी डा सुरेशकुमार साहलाई हस्तान्तरण गरिसकेको र सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन् ।
स्वास्थ्यकर्मी त्रास
हाल निमित्त मेसु रहेका डा सुरेशकुमार साहका अनुसार घटनापछि अस्पतालभित्र काम गर्ने वातावरण असहज बनेको छ । स्वास्थ्यकर्मीहरू आफू असुरक्षित महसुस गरिरहेका छन् ।
‘उपचारका क्रममा अप्रिय घटना भए सीधै स्वास्थ्यकर्मीमाथि आक्रमण हुन सक्छ भन्ने डर बढेको छ,’ उनले भने, ‘हामीले सुरक्षाको माग गर्दै औपचारिक रूपमा आवाज उठाएका छौँ ।’

नेपालमा पछिल्ला वर्षहरूमा चिकित्सकमाथि आक्रमण, अस्पताल तोडफोड र उपचार असफल हुँदा स्वास्थ्यकर्मीलाई दोष दिने प्रवृत्ति बढेको भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरू चिन्तित छन् । विशेषज्ञहरूका अनुसार स्वास्थ्यकर्मी असुरक्षित हुँदा त्यसको प्रत्यक्ष असर सेवाग्राही जनतामै पर्छ ।
जनतामा बढ्दो चिन्ता
कटारी अस्पताल ग्रामीण क्षेत्रका नागरिकका लागि अन्तिम भरोसाको सरकारी अस्पताल हो । आर्थिक अवस्था कमजोर भएका परिवार निजी अस्पताल पुग्न नसक्ने अवस्थामा यही अस्पतालमा निर्भर छन् ।
स्थानीयवासीहरूका अनुसार अस्पतालमा दक्ष चिकित्सक नबस्ने, पटक–पटक विवाद हुने र सुरक्षा कमजोर हुँदा सेवाको गुणस्तर खस्किने खतरा बढेको छ ।
‘डाक्टर नै डराएर जाने अवस्था आयो भने सामान्य बिरामीले उपचार कहाँ गर्ने ? एक स्थानीयले चिन्ता व्यक्त गरे । ‘सरकारले अस्पताल सुरक्षित बनाउनुपर्छ, नत्र जनता मर्कामा पर्छन् ।’
स्थानीयका अनुसार अस्पतालमा सुधारको प्रयास भइरहेका बेला चिकित्सक असुरक्षित हुने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ छ ।
कटारी नगरपालिका–४ का वडा अध्यक्ष तथा पूर्व अस्पताल विकास समिति अध्यक्ष भुपेन्द्र तामाङले घटनालाई दुःखद भनेका छन् । उनका अनुसार विवादमा संलग्न समूहले अस्पतालको वातावरण बिगारेको देखिन्छ ।
‘मैले अस्पतालका स्वास्थ्यकर्मीसँग कुरा गर्दा डा गौरव साहको व्यक्तिगत कमजोरी देखिनँ,’ उनले भने, ‘अस्पताललाई बदनाम गर्ने समूह सफल भएको जस्तो देखिन्छ । यसले अन्ततः जनतालाई नै क्षति पुर्याउँछ ।’
कटारी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्माले पनि घटनामा चिकित्सकको प्रत्यक्ष कमजोरी नदेखिएको बताए । केही अराजक गतिविधिका कारण अस्पताल सञ्चालनमै कठिन अवस्था आएको भन्दै उनले प्रदेश सरकारसँग समन्वय गरी व्यवस्थापन पहल गरिने बताएका छन् ।
चिकित्सक सुरक्षित नभए सेवा कसरी चल्छ ?
यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ–यदि चिकित्सक र स्वास्थ्यकर्मी नै सुरक्षित छैनन् भने दुर्गम तथा अर्धशहरी अस्पतालमा सेवा कसरी टिक्छ ?
सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरूले न्यून स्रोत, उच्च दबाब र चौबीसै घण्टा सेवा दिनुपर्ने अवस्थाबीच काम गरिरहेका हुन्छन् । उपचारको सीमितता, उपकरण अभाव वा जटिल अवस्थाको दोष चिकित्सकलाई मात्र दिने प्रवृत्तिले स्वास्थ्य क्षेत्रलाई थप संकटमा धकेल्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।
कटारी अस्पतालको अहिलेको संकट केवल डा गौरव साहको बहिर्गमनको विषय मात्र होइन । यो ग्रामीण स्वास्थ्य प्रणालीको संवेदनशीलता, स्वास्थ्यकर्मी सुरक्षाको आवश्यकता र सरकारी अस्पतालप्रति जनविश्वास जोगाउने चुनौतीसँग जोडिएको विषय हो ।

यदि समयमै समाधान खोजिएन भने, चार जिल्लाका नागरिकलाई सेवा दिँदै आएको कटारी प्रादेशिक अस्पतालमा चिकित्सक अभाव र सेवा अवरोध अझ गम्भीर बन्न सक्ने चिन्ता बढेको छ । जनताको अपेक्षा स्पष्ट छ–अस्पतालमा सुरक्षा, सेवा र स्थायित्व सुनिश्चित होस्, ताकि उपचार खोज्दै आउने नागरिकले निराश फर्किनु नपरोस् ।
कटारी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्माले घटनामा चिकित्सकको कमजोरी नदेखिएको बताए । केही अराजक समूहका कारण अस्पतालमा उपचार गर्न कठिन वातावरण बनेको भन्दै उनले प्रदेश सरकारसँग छलफल गरी अस्पताल प्रमुख व्यवस्थापनको पहल गर्ने जानकारी दिए ।