उदयपुर । कटारी नगरपालिकाकाे त्रिवेणी नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा मणिराज दाहाल दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन्।
दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि विद्यालय क्षेत्र र स्थानीय समुदायमा उत्साह छाएको छ । कुशल नेतृत्व, स्पष्ट दूरदृष्टि र विद्यालय विकासप्रतिको प्रतिबद्धताका कारण दाहाल पुनः नेतृत्वमा चयन भएको स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाले बताएका छन्।
उनको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार तथा अनुशासित शैक्षिक वातावरण निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा मणिराज दाहालसँगै सदस्यहरूमा आशिष कार्की, दीपाश्री राई तथा सीता सापकोटा थापा चयन भएका छन्। नयाँ टोलीले विद्यालयलाई शैक्षिक उत्कृष्टताको नमुना संस्थाका रूपमा थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष दाहाल तथा सम्पूर्ण टिमलाई बधाई दिँदै शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन, विद्यार्थीमैत्री वातावरण निर्माण तथा विद्यालयको समग्र विकासमा नयाँ नेतृत्व प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३ १९:३८