काठमाडाैं । वरिष्ठ पत्रकार तथा इतिहासकार लेखक कौशल चेम्जोङ अथक साधकका रूपमा परिचित हुनुहुन्छ । उहाँ उदयपुरलाई केवल भौगोलिक सीमामा सीमित नगराई इतिहास, संस्कृति, संघर्ष र पहिचानको दृष्टिले बुझ्ने र बुझाउने अभियानमा निरन्तर सक्रिय हुनुहुन्छ । उहाँले उदयपुरको इतिहासलाई केवल अभिलेखमा उतार्नुभएको छैन, बोल्न बाध्य पनि बनाउनुभएको छ ।
झन्डै दुई दशक लामो अध्ययन, अनुसन्धान, अभिलेख संकलन र स्थानीय स्मृतिको खोजपछि चेम्जोङले आफ्नो नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ पाठकमाझ ल्याउनुभएको छ । यो उदयपुरको इतिहाससँग सम्बन्धित उहाँको दोस्रो पुस्तक हो । केही समयअघि त्रियुगा नगरपालिकाको कार्यालय गाईघाटमा आयोजित कार्यक्रममा उक्त कृतिको औपचारिक लोकार्पण गरिएको थियो । यसले मोफसलमै बसेर इतिहासको अभिलेखीकरणमा समर्पित एक लेखकको दीर्घ अनुसन्धान यात्रालाई पाठकमाझ स्थापित गरेको छ ।
नयाँ कृति वि.सं. १९०० देखि २००७ सालसम्मको करिब १०७ वर्ष लामो ऐतिहासिक कालखण्डमा केन्द्रित छ । सात अध्याय र ३६८ पृष्ठमा फैलिएको पुस्तकले उदयपुरको राजनीतिक विकासक्रम, प्रशासनिक संरचना, सामाजिक रूपान्तरण, आर्थिक गतिविधि, शिक्षा अवस्था तथा राजनीतिक चेतनाको विकासलाई तथ्य, दस्तावेज र प्रमाणका आधारमा प्रस्तुत गरेको छ ।
तर, चेम्जोङको इतिहास लेखन यात्रा आजबाट सुरु भएको होइन । यसअघि उहाँले ‘उदयपुरको इतिहास’ नामक कृतिमार्फत प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्मको उदयपुरको इतिहास दस्तावेजीकरण गरिसक्नुभएको छ । अहिले प्रकाशित ‘नेपालको इतिहासमा उदयपुर’ त्यसै यात्राको दोस्रो खण्ड हो । उहाँ यतिमै रोकिने अवस्थामा पनि देखिनुहुन्न । अब २००७ सालदेखि २०४६ सालसम्मको उदयपुरको राजनीतिक तथा सामाजिक इतिहासमाथि अनुसन्धान अघि बढाइरहेको उहाँले बताउनुभएको छ ।
नेपालमा स्थानीय इतिहास लेखन अझै पनि कमजोर अभ्यास मानिन्छ । राष्ट्रिय इतिहास प्रायः काठमाडौंकेन्द्रित दृष्टिकोणबाट लेखिने भएकाले जिल्लाका सामाजिक, सांस्कृतिक र राजनीतिक योगदान धेरैजसो ओझेलमा पर्ने गरेका छन् । चेम्जोङले यही अभाव महसुस गर्दै उदयपुरको इतिहासलाई राष्ट्रिय विमर्शसँग जोड्ने प्रयास गर्नुभएको छ ।
उहाँको अनुसन्धान विधि केवल पुस्तकालय वा अभिलेखालयसम्म सीमित छैन । विभिन्न प्रकाशित तथा अप्रकाशित पुस्तक, सरकारी अभिलेख, पुराना पत्रपत्रिका, स्थानीय दस्तावेज, पुरातात्त्विक सामग्री तथा अनलाइन स्रोतको अध्ययनसँगै उहाँले स्थानीय वृद्धवृद्धा, सामाजिक अगुवा, राजनीतिक अभियन्ता तथा मुक्ति आन्दोलनसँग जोडिएका व्यक्तिसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभएको छ। मौखिक कथनलाई दस्तावेजीय प्रमाणसँग मिलाएर तथ्यको पुष्टि गर्ने उहाँको अभ्यासले अनुसन्धानलाई विश्वसनीय बनाएको छ । ‘इतिहास केवल लेखिएको कुरा होइन, बाँचिएको अनुभव पनि हो’ भन्ने बुझाइ उहाँको कार्यशैलीमा स्पष्ट देखिन्छ ।
चेम्जोङका अनुसार अनुसन्धानका क्रममा तत्कालीन समाज र आजको समाजबीच ठूलो अन्तर रहेको अनुभूति भयो । राणाकालीन प्रशासनिक संरचना, शिक्षा प्रणाली, सामाजिक सम्बन्ध र राजनीतिक चेतनाको अवस्था अहिलेको पुस्ताले सहजै कल्पना गर्न नसक्ने खालको रहेको उहाँ बताउनुहुन्छ । पुस्तकमा विशेषगरी राणाशासनको प्रभाव, प्रशासनिक नियन्त्रण, स्थानीय शासन प्रणाली, आर्थिक सम्बन्धको विस्तार, सामाजिक संरचनामा परिवर्तन तथा राजनीतिक चेतनाको उदयलाई प्राथमिकताका साथ समेटिएको छ । विशेषगरी २००७ सालको जनक्रान्तिमा उदयपुरवासीको भूमिका र सहभागितालाई ऐतिहासिक प्रमाणसहित प्रस्तुत गरिएको छ ।
चेम्जोङका दुई पुस्तक—‘उदयपुरको इतिहास’ (प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्म) र ‘नेपालको इतिहासमा उदयपुर’ (१९००–२००७)—मोफसलको इतिहास अध्ययनमा रुचि राख्ने विद्यार्थी, शोधकर्ता तथा आम पाठकका लागि उपयोगी दस्तावेज बनेका छन् । घटनाको तिथि, दस्तावेज र तस्बिरमार्फत प्रमाण प्रस्तुत गरिएकाले पुस्तकको विश्वसनीयता पनि बलियो देखिन्छ ।
पत्रकारिताबाट पहिचान बनाउनुभएका चेम्जोङ साहित्य र अनुसन्धानमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । ‘भूत’ लघुकथा सङ्ग्रह, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती’, ‘जीवनका रङ्गहरू’, ‘उदयपुरको इतिहास’ तथा ‘उदयपुरको साहित्य’ जस्ता कृति प्रकाशित भइसकेका छन् । आख्यान र गैरआख्यान दुवै विधामा कलम चलाउँदै आउनुभएका उहाँ पछिल्लो समय अनुसन्धानमूलक लेखनमा बढी केन्द्रित हुनुहुन्छ ।
मोफसलमा बसेर अनुसन्धान र प्रकाशन गर्नु सहज काम होइन । स्रोत अभाव, आर्थिक सीमितता, अभिलेखीय कठिनाइ तथा संस्थागत सहयोगको कमीका बीच इतिहास लेख्नु चुनौतीपूर्ण विषय हो । यद्यपि, यी कठिनाइका बाबजुद उदयपुरको इतिहास बचाएर भावी पुस्ताका लागि अभिलेख छाड्ने चेम्जोङको संकल्प प्रशंसनीय बनेको छ । सायद यही कारणले आज उहाँ केवल पत्रकार वा लेखकका रूपमा मात्र होइन, उदयपुरको इतिहासलाई अक्षरमा बाँध्ने दस्तावेजकारका रूपमा स्थापित हुनुभएको छ । उहाँको लेखनले एउटा सन्देश पनि दिन्छ–स्थानीय इतिहास जोगिए मात्र राष्ट्रिय इतिहास पूर्ण हुन्छ ।
उमेरले आधा शताब्दीभन्दा बढी जीवनयात्रा पार गरिसक्नुभएका चेम्जोङको पत्रकारिता यात्रा तीन दशकभन्दा लामो छ । हाल उहाँ जनआस्था साप्ताहिक, जनआस्था डटकम र रेडियो त्रियुगामा आबद्ध हुनुहुन्छ । चेम्जोङ नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ ।
उहाँले प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल सरकारबाट वरिष्ठ पत्रकारको सम्मान र पदवी प्राप्त गर्नुभएको छ । साथै, उहाँ प्रेस काउन्सिल नेपाल द्वारा प्रदान गरिने गोपाल दास श्रेष्ठ प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, प्रादेशिक पत्रकारिता पुरस्कार, किरात राई यायोख्खाको कृति सम्मान तथा भरत भुर्तेल पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । यसबाहेक, विभिन्न संघसंस्थाबाट प्रदान गरिएका दर्जनौँ सम्मान तथा पुरस्कारबाट पनि उहाँ सम्मानित हुनुभएको छ ।