उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्ध चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सोमबार राति जनप्रेमी स्कुलबाट बुद्ध चोकतर्फ जाँदै गरेको स९प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको इट्टाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय हेमन्त सदालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी इन्स्पेक्टर विष्णुबहादुर खड्काले जानकारी दिए।
मोटरसाइकलको पछाडि सवार सोही वडाको सोनापुर निवासी १८ वर्षीय राकेश सदा गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ। हाल त्यहाँ उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ १०:०३