उदयपुर । त्रियुगा नगरपालिकाले आधारभूत तह कक्षा-८ परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्यार्थीलाई जनही पाँच हजार नगद र प्रशंसा-पत्र प्रदान गर्दै सम्मान गरेको छ ।
त्रियुगा नगरसभाको १७ औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा गाईघाटबजारमा सञ्चालित सगरमाथा मोडेल स्कुलमा अध्ययनरत छात्र आर्यन थापा र छात्रा तारा कटुवाललाई सम्मान गरिएको हो । दुवै विद्यार्थीले नगरस्तरीय आधारभूत तह कक्षा-८ उत्तीर्ण परीक्षा २०८२ मा ४.०० जिपीए प्राप्त गर्दै सर्वोत्कृष्ट नतिजा हासिल गरेका थिए ।
नगरपालिकाले प्रदान गरेको प्रशंसा–पत्रमा विद्यार्थीद्वयलाई उत्कृष्ट शैक्षिक उपलब्धिका लागि बधाई ज्ञापन गर्दै आगामी शैक्षिक तथा व्यावसायिक जीवनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ। साथै उनीहरू राष्ट्रका असल र जिम्मेवार नागरिक बन्ने विश्वास समेत व्यक्त गरिएको छ ।
सम्मान कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशंसा–पत्रमा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइराला तथा शिक्षा, युवा तथा खेलकुद शाखाका पदाधिकारीहरूको हस्ताक्षर रहेको छ।
नगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने परम्पराले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना, अध्ययनप्रतिको लगाव र शैक्षिक उत्कृष्टता हासिल गर्ने प्रेरणा बढ्ने विश्वास व्यक्त गरेको छ ।
कक्षा-८ को नगरस्तीय परीक्षा २०८२ मा पूर्ण ४.०० जिपिए प्राप्त गरेका आर्यन थापा र तारा कटुवालको उपलब्धिलाई त्रियुगा नगरपालिकाको शैक्षिक क्षेत्रका लागि गौरवपूर्ण सफलताका रूपमा हेरिएका छ । स्थानीय समुदाय, विद्यालय तथा अभिभावकहरूले समेत विद्यार्थीद्वयलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सगरमाथा मोडेल स्कुलका यी दुई विद्यार्थीको उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको मेहनतलाई समेत पुष्टि गरेको स्थानीय शिक्षा सरोकारवालाहरूले बताएका छन्।
सगरमाथा मोडेल स्कुलका प्रिन्सीपल पुरुषोत्तम साप्कोटाले कक्षा-८ को नगरस्तीय परीक्षामा चार जनाले ४.०० ल्याएपनि सम्मानित दुई जना सार्वोउत्कृष्ट ठहरिएकाले नगरपालिकाले सम्मान गरेको बताए।
त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि एक अर्ब ३९ करोडको बजेट पनि सार्वजनिक गरेको छ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३ १९:२४