काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ।
यहि भदौ ७ गते सम्पन्न अनेसास नेपाल च्याप्टरको निर्वाचनबाट नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने निवर्तमान अध्यक्ष राजेन्द्र केसीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रुद्राक्षको माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
त्यसपछि प्रमुख निर्वाचन अधिकृत कार्कीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने शपथ गराएका थिए।

शपथग्रहणपछि निवर्तमान अध्यक्ष राजेन्द्र केसीले अध्यक्ष मन्जिला अनिल शर्मा, वरिष्ठ उपाध्यक्ष कमला ओली, उपाध्यक्ष रञ्जना निरौला, महासचिव रमेश दाहाल, सचिव खेमराज न्यौपाने र कोषाध्यक्ष कमला रिसाल पदाधिकारीलगायत सदस्यहरूमा (डीआर राई, शान्ति रिसाल, इन्दिरा ढकाल, उषा केसी, केवरा भट्टराई, देवेन्द्र पराजुली, रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, सुषमा आचार्य रहेको नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए ।
निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निवर्तमान अध्यक्ष के।सी।ले प्रमुख निर्वाचन अधिकृत कुमारराज कार्की तथा निर्वाचन अधिकृत रञ्जु रुषा सिग्देललाई आभारपत्र प्रदान गरेका थिए।


पूर्वअध्यक्ष राधेश्याम लेकालीले समेत दुवै निर्वाचन अधिकृतलाई माला लगाएर निर्वाचन प्रक्रियालाई सफल बनाउन पुर्याएको योगदानप्रति आभार व्यक्त गरेका थिए।
साथै भोटेकोशी महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ ०७:५०