दाङ । तुलसीपुर उप महानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ ।
नगर प्रमुख पदमा टीकाराम खड्का र उप-प्रमुख पदमा स्यानी चौधरी विजयी भएको हो ।
खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६ सय ९१ मतान्तरले पछि पार्दै विजयी भएको हो ।
खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेको थियो भने गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताएका हुन् ।
त्यस्तै उप प्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५ सय ३२ मत पछि पार्दै विजयी भएको हो । चौधरीले ३० हजार ५ सय ९७ मत ल्याएको थियो भने रानाले २१ हजार ६५ मत पाएको थियो ।
तुलसीपुर उप-महानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा १ लाख १ हजार ४ सय ६० मतदाता रहेकामा ७४ हजार ३ सय ३६ मत खसेको थियो ।
तुलसीपुरमा २०४९ सालमा कांग्रेसका शङ्करप्रसाद आचार्य प्रमुख निर्वाचित भएको थियो भने कांग्रेसकै प्रदीपबहादुर शाह उप प्रमुख थिए।
त्यतिबेलाका फुलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उप महानगरपालिकामा गाभिएका छन्। विसं २०४९ मा यी सबै गाविसमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो।
निर्वाचित भएसँगै प्रतिक्रिया दिँदै टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताएको छ । उनले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने बताएका छन्।
त्यस्तै नवनिर्वाचित उप प्रमुख स्यानीय चौधरीले पिछडिएका वर्गको उत्थान गर्न आफू तत्पर रहने बताएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १६:३०