काठमाडौं। कुनैपनि लेखक चर्चामा आउन धेरै कृति निकाल्न आवश्यक छैन्। एउटै कृति पनि कतिपय अवस्थामा लेखकका लागि शिखर आरोहणको माध्यम बन्ने गर्दछ। त्यो शिखर आरोहण यति आनन्ददायक र शानदार हुने गर्दछ-जुन लेखकले परिकल्पना पनि गरेको हुदैन।
व्यापक चर्चामा आइन्छ भनेर कुनैपनि लेखकले ढपक्कै बलेर लेख्ने गर्दैनन्। उनीहरुले देखे-भोगेका यथार्थ पस्कन्छन्। भन्न सकिदैन-कतिखेर भगवान् दाहिना हुनपुग्छ-त्यतिखेर त्यो लेखकले नचिताएको सफलता पाउने गर्दछ। अर्थात् चर्चाको शिखरमा पुग्ने गर्दछ। जुन एकै कृतिको कारण देश तथा विदेशमा अनेक मान तथा सम्मान अनि विभूषण पाउने गर्दछ।
यो पछिल्लो दशकमा त्यसरी एउटै कृतिको कारण अत्याधिक मान तथा सम्मान अनि विभूषण पाउने लेखकमा संभवत् नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी हुन्। बिक्रम भक्त जोशीको एउटै कृति निकथा ’चोभार ब्लुज’ले सगरमाथा आरोहण नै गरेको छ। अर्थात एउटै कृति ’चोभार ब्लुज’को कारण बिक्रम भक्त जोशी चर्चाको शिखरमा पुगेका छन्।
यिनै एक मात्र कृति चोभार ब्लुजकै कारण देश वाहिर थाइल्याण्डको राजधानी बैंकक देखि संयुक्त अरब इमिरेटसको बैभबशाली शहर दुबईमा समेत सम्मान पाउने भाग्यमानी लेखक बिक्रम भक्त जोशी नै हुन्। त्यस्तै, अमेरिकाको हामी नेपाली ग्लोबल अवार्ड देखि नेपालको संसार साहित्यिक सम्मान लगायत लायन्स क्लव लगायत विभिन्न संघ–संस्थाले जोशीलाई एक पछि अर्को सम्मान दिन कुनै कन्जुस्याइ नगरेको देखियो।
यसो हुनुको पछाडि, बिक्रम भक्त जोशी निकथाको क्षेत्रमा शान्त तलाउजस्तो बनेर विलक्षण प्रतिभाको रुपमा देखा परेरै हो। निकथामा ढिला आएर पनि रेस जित्ने कछुवा जस्तो बनेका बिक्रम भक्त जोशीको एउटै कृति ’चोभार ब्लुज’मा रहेका १९ निकथाहरुले उनलाई १९ वटा कृति निकालेको हैसियतमा पु¥याएको छ। शायद उनको लेखनमा आएको नयाँपन तथा यात्रावाट मिलेको नयाँ यथार्थपनमा आएको यो मौलिकताले हो।
त्यो मौलिकताको रहस्य वोकेको बिक्रम भक्त जोशीको ’चोभार ब्लुज’ले दुई बर्षयता विक्रीमा आयामिक रेकर्ड कायम गरेको कारण पनि प्रकाशक साहित्य पोष्टले दोश्रो संस्करणको ’चोभार ब्लुज’लाई बेस्ट सेलरको टाँचा लगाइदिएको छ। उनै बेस्ट सेलर चोभार ब्लुजका ब्लुज अर्थात् नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीलाई यिनै कृतिका कारण पछिल्लो पटक नेवाःसाधना कला केन्द्रले विशेष सम्मानका साथमा नेवाः तारा विभूषणवाट विभूषित गर्ने कार्य भएको छ।

गत असार १२ गते विहीवार ललितपुरमा आयोजित विशेष सम्मान समारोहमा ललितपुर महानगरपालिकाका नगर पिता सम्मानवाट सम्मानित मेयर चिरिबाबु महर्जनवाट उक्त सम्मान तथा विभूषण बिक्रम भक्त जोशीले पाएका हुन्। नेवाः साधना कला केन्द्रका अध्यक्ष बागमती भाइले ’चोभार ब्लुज’ कृतिवाट प्रभावित बनेर प्रदान गरिएको उक्त सम्मान तथा विभूषण जोशीकै भनाईमा ठूलो महत्व बोकेको थियो।
नेवाः समुदायवाट बृहत् रुपमा प्राप्त भएको पहिलो सम्मान पनि हो। यसअघि, हलि नेवाः गुथिवाट प्रशंशा पत्र प्राप्त गरेका जोशीका लागि नगरपितावाट गृहनगर ललितपुरमा नै सम्मान पाउनु अनेक अर्थले गर्बिलो विषय बनेको छ। त्यसदिन जोशीका लागि अभूतपूर्व दिन नै सावित भएको थियो। सम्मान लिन जानुअघि जोशीका आदरणीय पिता प्रभु भक्त जोशीले उनलाई एक मिनेट लामो श्लोक पाठ गरेर आशिष दिएको त्यो क्षण अमिट बनेको थियो। किन हो खै कुन्नि ! अरु बेला यस्तो खासै आशिष दिएको थाहा नपाएका जोशीका लागि पिताको आशिषले ठूलै अर्थ दिएको थियो।
ठूलै कौतुहलमय अवस्थामा गएर बिक्रम भक्त जोशीले ललितपुर महानगरपालिकाका नगरपिता यानि मेयर चिरीबाबु महर्जनको बाहुलीबाट सम्मान तथा विभूषण ग्रहण गरेँपश्चात पाएको त्यो अलौकिक आनन्द शायद त्यो पिताको आशीर्वाद भएको महशुश गरेका छन्। पिताको आँखामा सधै आफ्ना सन्तानले उच्च मान तथा सम्मान पाएको हेर्ने इच्छालाई एउटै कृति निकालेर एक पछि अर्को गरेर पूरा गर्दैगएको त्यो पल हो। जुन बिक्रम भक्त जोशीको लागि उच्च कदर हो भने, पिता प्रभु भक्त जोशीका लागि एक पछि अर्को ठूलो गर्ब नेपाली नोबल साहित्यकारको पिता हुनुको हो।


बिक्रम भक्त जोशीको चोभार ब्लुजभित्रका ब्लुज
जिन्दगी यात्रा हो । यात्रा जिन्दगी हो । यात्रमा हिंड्ने क्रममा अनेक बाटाहरु आउने गर्दछन्। अनेक मान्छेहरु भेटिने गर्दछन्। ती बाटा तथा मान्छेका कथालाई टपक्क टिपेर मनको मझेरी हुदै कितावका पन्नाहरुमा पोख्ने कौशलता नै निकथा हो। यात्राको क्रममा देखेभोगेका यथार्थतालाई जस्ताको तस्तै कथानकतामा कोर्ने यथार्थवादी शैली निकथा हो।
यिनै निकथामा यात्रा गर्ने निकथाकार बिक्रम भक्त जोशी यात्रा रुचाउने नेपाली नोबल साहित्यकार हुन्। उनी हरदम हरविहान या हरसाँझ हिडिरहने बटुवा हुन्। यात्राको क्रममा अक्सर उनी धेरैजसो समय चोभार वरपर नै बढी देखिने पात्र हुन्। जसको गन्तव्य नै चोभार हुने गरेको छ। चोभारसंग उनको पूर्वजुनीको साइनो हो या अरु कुनै कारण हो ? उनी आफैले पत्ता लगाउन नसकेको अवस्थामा निश्फिक्री चोभारको सेरोफेरो सवै यात्रा पछि सिर्जना भएको उनको एकमात्र कृति चोभार ब्लुज हो।
चोभार ब्लुजमा लेखक बिक्रम भक्त जोशीको सबैभन्दा ठूलो खुबी भनेकै पाठकहरूलाई अल्झाइराख्न सक्नु हो। यदि कुनै पनि लेखकले किताबको सुरूआतमै पाठकको मन जित्न सकेन वा खुल्दुली बढाउन सकेन भने त्यो किताब धेरै पाठकहरूले नपढ्ने पक्का हुन्छ। किताबका पानाहरू सिनेमाका दृश्यहरू जस्तै चलायमान हुनुपर्छ। पाठकहरू सबै एकै प्रकारका हुँदैनन्।
कुनै पाठकहरूलाई तथ्यमा आधारित विषयवस्तु मनपर्छ भने कुनै पाठकहरूलाई काल्पनिक विषयवस्तु मनपर्न सक्छ। युवापुस्तालाई प्रेम, रोमान्स र कमिक मनपर्न सक्छ। नयाँ पाठकहरूले सिधा र सरल भाषामा लेखिएका किताबहरू मात्र पढ्न रुचाउलान्। यी सबै कुराहरू एकैठाउँ पाउने कुरो पनि भएन। तर बिक्रम भक्त जोशीको निकथा संग्रह ’चोभार ब्लुज’ माथि उल्लेख गरेका थोरै-थोरै सबैखाले विशेषताहरू बोकेको साहित्यिक कृति हो।
यो निकथा संग्रहको लेखन शैलीमा नवीनता र प्रयोगात्मक शैली त छँदैछ, लेखकले परम्परागत विषयवस्तु र कथा वाचन शैलीलाई पनि बिर्सेका छैनन्। सामाजिक यथार्थता, कानुनी बेथिती र हाम्रो समाजले चिन्न नसकेर शारीरिक तथा बौद्धिक भिन्नता भएका मान्छेहरूको दुःखद् पलायन यो कथासंग्रहका विषयवस्तु हुन्। लेखक यस्तै कथाहरू टिप्नको लागि कहिले खुट्टाले यात्रा गर्छन् त कहिले कल्पनाले। खुट्टाले यात्रा गर्दा धर्ती छोड्ने कुरै भएन तर कल्पनाको बग्गीमा हुइँकिँदै गर्दा धर्तीको एउटा त्यान्द्रो सँगसँगै लिएर गैरहेका हुन्छन्। त्यसैले उनका फेन्टासी पढ्दै गर्दा या त उनी त्यही चोभार डाँडा वरिपरि हुन्छन्, या आफ्नै घरको कोठाभित्र।
अलिक फरकखाले कथाहरूमध्ये ’पर्खाल’ धेरै लेखकहरूको नजरमा नपरेको एक सामाजिक विभेदको कथा हो। कथाको मुख्य पात्र बाङ्गे अटिजम अर्थात् शारीरिक र बौद्धिक रुपमा आम मान्छेहरूभन्दा फरक छ। समाजले उनीहरूप्रति हेर्ने दृष्टिकोणका कारण ऊ हेपिएको छ। चेपिएको छ। आफ्ना इच्छाहरूलाई दबाएर लुकेर हिँड्न बाध्य छ। कथाले भन्छ, ’बाङ्गे लेख्न जान्दैन। जान्दो हो त लेख्थ्यो। मनको उकुसमुकुस पोख्थ्यो।’
हाम्रो समाजमा अझै पनि शारीरिक र बौद्धिकरुमा भिन्न क्षमता भएकाहरूलाई सही शिक्षा दिने व्यवस्था छैन। बाङ्गे त केवल प्रतिनिधि पात्र मात्र हो। हाम्रो समाजमा यस्ता कति पात्रहरू होलान् जसले उचित स्याहारसुसार पाउँदैनन्, शिक्षा पाउँदैनन्, जवानी देख्न पाउँदैनन्, उपभोग गर्न पाउँदैनन् र दिनहुँ हराइरहन्छन् कसैले थाहै नपाउने गरी।
’यो जात्रा अनि त्यो जात्रामा’ पनि शारीरिक रुपमा फरक व्यक्तिले भोग्नु पर्ने विभेदको बारेमा कथा बुनेको छ। मैचाजस्ती मानसिक रुपमा पूर्ण विकसित अर्थात् ’डेभलपमेन्टल डिसेबल’ केटीलाई फल्मांच नामक पात्रले जवानीको फाइदा लुटेर बेपत्ता हुन्छ। तर पनि ग्वाचाको मेहनतले गर्दा उनीहरूले सहज जीवन निर्वाह गरेको देखाएको छ। उनका पात्रहरू कुनै हिरोइक नभई सामान्य तर औसत मान्छेहरूको नजरमा नपरेका हुन्छन्।
’ख्याङ्क, मान्छे र कुकुर’ मा लेखक नयाँ शैली प्रयोग गरेका छन्। यो कथामा अनौठो तरिकाले तीन भिन्न–भिन्न पात्रहरूको सिर्जना गर्छन। सुरूमा उनीहरूबीच कुनै कुराको पनि तादम्यता हुँदैन। पार्वतीको हठले गर्दा पैदा भएको ख्याङ्क, विकासको नाममा सडक फराकिलो बनाउने कार्यले घरबार गुमाउन पुगेको विसन्चो र रोगी भएकै कारण मालिकबाट लखेटिएको कुकुर विभिन्न दुःख कष्ट झेल्दै जान्छन्। तर अन्त्यमा भाग्यले ठगिएका तिनै पात्रहरूलाई सुखद् अन्त्यमा पुर्याएर कथाको बिट मार्छन्।
’यात्राका अनुत्तरित प्रश्नहरू’ पनि अर्को सामाजिक पर्खालको ज्वलन्त उदाहरण हो। यसमा लेखकले समाजमा भएको छोराछोरीप्रति गर्ने विभेदका कारण माइलीले जीवन गुमाउनु परको तितो यथार्थता कोट्याएका छन्। ’निलो कमिज खैरो प्यान्ट’, ’अनि म विरही भएँ पनि सामाजिक विभेदको बारेमा बुनिएका कथाहरू हुन्। दोश्रो कथाका मुख्य पात्र जोगी बाबा अर्थात् श्याम विश्वकर्मा कथित तल्लो जातको भएकै कारण मुनासँगको गहिरो प्रेम विछोडमा परिणत हुन्छ। मुनालाई समाजले आत्महत्या गर्न बाध्य पार्छ। श्यामले मानसिक सन्तुलन गुमाउन पुग्छ।
त्यही समाजको ढोँगीपनलाई प्रयोग गरेर उसले प्रतीकात्मक ढङ्गले जातीय विभेदको विरोध गर्छन्। अर्थात् गेरु वस्त्र धारण गरेर जोगी बन्छन्। न कसैले उसको जात सोध्छ न कसैले लात हान्छ। त्यसैगरी ’सुनको पोको’ विकासको नाममा गाउँ-गाउँमा बिना मापदण्ड बनेका बाटाहरू र यसले गर्दा वर्षेनी जाने बाढीपहिरले पार्ने अतुलनीय क्षति, राज्यको ढुकुटीलाई सुनको पोको बनाएर दलिनमा घुसार्ने पुनेजस्ता ठेकेदारहरू, यिनै ठेकेदार दलालकै कारण घरखेत र जीवन समेत गुमाउन बाध्य सन्तेहरूको कथा हो। यो कथाले वर्तमान सामाजिक बेथितीलाई छर्लङ्ग देखाएको छ।
कथा संग्रहको शीर्षक कथा ’चोभार ब्लुज’ एक बेजोड फेन्टासीको प्रयोग गरेका छन् लेखकले। चोभारको सेरोफेरोमा बुनिएको यो कथामा एक पागल प्रेमीको डायरीलाई कल्पनाशीलताको प्यारासुट बनाइएको छ। त्यस्तै ’लकडाउन फेन्टासी’मा उनले अल्ट्रा इगोको फिलोसोफीलाई पौराणिक कथाको माध्यमबाट अत्यन्त रोचक तरिकाले प्रस्तुत गरेका छन्। उनका हरेक कथाहरू भिन्न-भिन्न शैलीमा लेखिएको कारणले गर्दा पनि पाठकहरूलाई दिक्क लाग्दै लाग्दैन। ’फ्लानर फेन्टासी’ घुमन्ते मान्छेका उडन्ते कुरा भने झैँ सुनिए पनि यसले काठमाडौं उपत्यकाको उत्पति गाथा निकै रोचक ढंगले भनेको छ।
’धिर्बाको विदेशयात्रा’ पढ्दा लाग्छ लेखक त्यतै कतै अस्ट्रेलियाको एउटा सहरमा बस्छन् र उनी नै धिर्बाको छोरा हुन् जस्तो महसुस हुन्छ। नेवारी भाषाको प्रयोग, विदेशमा पढ्ने नेपालीहरूको लिभिङ टुगेदर र धिर्बाको विदेश बस्दाको अनुभवले भरपूर मनोरन्जन प्रदान गर्छ। त्यस्तै ’बोसन हाइट’मा पनि लेखकले सन्तानहरूको विदेश पलाएनले गर्दा एक्लो जीवन बिताइरहेका बुढाबुढीको पीडालाई छाती नै चसक्क घोच्ने गरी पस्केका छन्।
सामाजिक विभेद र फेन्टासीका तानाबुना भित्र घुसाइएका ओजिला विषयवस्तु बाहेक माया प्रेम र रोमान्सलाई पनि यो संग्रहमा समेटेका छन्। ’सम्झी बस्छु कता कता’, ’बाली बैजनी’ आदि यसका उदाहरणहरू हुन्। ’बाली बैजनी’ मा लेखले आफ्नो यात्रा संस्मरणभित्र काडेक (केटा पात्र) र निलु बीचको प्रेकथालाई अत्यन्त रोचक ढंगले प्रस्तुत गरेका छन्। यो कथाको पृष्ठभूमि इन्डोनेसियाको बाली रहेको छ।
राजनीतिलाई पनि छुटाएका छैनन् यो संग्रहमा लेखकले। ’म मोरिक्लब’ एउटा बेजोड राजनैतिक व्यंग्य हो। अधिकांश पात्रहरू जनावरहरू भएको यो कथाले ठ्याक्कै नेपालमा देखिएको राजनीतिक प्रवृत्तिलाई चित्रित गर्दछ। धेरैजसो कथाहरू लेखकले यात्राको क्रममा भेटेका पात्रहरूलाई टिपेर यथार्थ परिघटनालाई काल्पनिक र पौराणिक मरमसलाले स्वादिष्ट बनाएका छन्। कतिपय पाठकहरूलाई उनको कथा भन्ने शैलीले एकछिन अल्मलाउन सक्छ। पढिसकेपछि पनि फेरि किताबका पान्ना पल्टाउन बाध्य पार्न सक्छ। तर अन्ततः पाठकलाई अन्तिम कथासम्म कठालोमा समातेरै लैजान्छ।
कथा, विषयवस्तु तिनै हुन्। समाज त्यही हो। मात्र ती विषयवस्तुलाई हेर्ने त कथाको रुपमा तयार गरेर पाठकको टेबुलसम्म पुर्याउने कला फरक हो। यसैलाई नै प्रयोगात्मक शैली भनिन्छ होला। त्यहीँ कला प्रयोग गरिएको छ ’चोभार ब्लुज’मा।
नामी साप्ताहिक