आजकाल भक्तपुरकाे ‘गुन्डु’ राजनीतिक रूपमा निकै चर्चामा छ । भक्तपुर गुन्डु अहिले सबैभन्दा चर्चित र भाइरल स्थान बनेको छ, जुन काठमाडौं नजिकै भक्तपुर अवस्थित छ र काठमाडौंको रानी शहरहरू मध्ये एकको रूपमा परिचित छ ।
त्यही गुन्डुमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हाल बसोबास गरिरहेका छन् । उनका नजिकका विश्वासपात्र महेश बस्नेतले नै उनलाई गुन्डुमा बस्नका लागि घर खोजिदिएका हुन् ।
जेन–जी आन्दोलन चलिरहेको समयमा ओलीलाई सुरक्षा फौजले बालुवाटारबाट हेलिकप्टरमार्फत उद्धार गरी अज्ञात स्थानमा राखिएको थियो । आन्दोलन शान्त भएपछि उनी फर्किएर गुन्डुको एउटा भाडाको घरमा बस्दै आएका छन् । बालकोटस्थित उनको घर र चर्चित बार्दली भदौ २४ गतेको आन्दोलनमा पूरै जलेर नष्ट भएको थियो । अनि ओलीले गुन्डुलाई चर्चामा ल्याइदिएका छन् ।
महेश बस्नेत पूर्वमन्त्री भइसकेका एमालेका होनहार युवा नेता हुन् । उनले मन्त्री हुँदा ‘म महेश’ नामक पुस्तक प्रकाशन गरेका थिए । स्पष्ट रूपमा भन्दा, उनी आशालाग्दा नेता हुन्, तर गम्भीर देखिँदैनन् । हिजाेआज बढी बाेल्ने पात्रमा पनि परिणत भएका छन् ।
उनी ओलीका कट्टर समर्थक हुन् भन्ने कुरा उनको बोली र व्यवहारले पुष्टि गर्छ । ओलीको आलोचना गर्नेविरुद्ध उनी तुरुन्तै आक्रामक बन्छन् र अराजक शैलीका अभिव्यक्ति दिन सिपालु देखिन्छन् । जनमानसमा उनको धारणा बुझ्न कठिन छ, किनभने उनी ओली र एमालेभन्दा पर केही देख्दैनन् ।
ओली र एमालेबाहेक अन्य कुरा सोच्न नसक्ने उनको स्वभाव जेन–जी आन्दोलनपछि झन् उग्र बनेको छ । उनी हरेक दिन अन्तरिम सरकारलाई चुनौती दिँदै भन्छन्, “सक्छौ भने ओलीलाई छोएर देखाऊ, तिम्रा बाउको तागत छ भने पक्र !”
यस्तो उग्र अभिव्यक्ति दिनेमा उनी एक्ला छैनन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पनि “ओलीलाई छोयो भने पहिलो जुलुस पोखराबाट निस्कन्छ” भन्दै आएका छन् । यस्ता अभिव्यक्ति र व्यवहारले राजनीतिमा रुचि राख्ने युवा पुस्तामा कस्तो प्रभाव पारिरहेको होला ? यो गम्भीर चिन्तनको विषय बनेको छ ।
जेन–जी आन्दोलनपछि मुख्य दलका शीर्ष नेता लगभग मौन छन् । प्रायः जसो सार्वजनिक कार्यक्रममा देखिँदैनन्, तर गुन्डुमा भने दैनिक राजनीतिक हुंकार सुनिन्छ । ओली र बस्नेत आन्दोलनबाट बनेको सरकारप्रति आक्रोशित छन् । उनीहरूका लागि जनता भनेका केवल आफ्ना समर्थकको भिड मात्रै जस्तो देखिन्छ । एमाले अहिले त्यही भिडको राजनीतिमा केन्द्रित देखिन्छ ।
युवाहरूको ज्यान गएको छ, धेरै घाइते भएका छन्। घाइतेहरू अस्पतालमै भनिरहेका छन्- “हामी हाम्रा साथीहरूको रगत खेर जान दिँदैनौं, आवश्यक परे फेरि सडकमा जान तयार छौं ।”
घरपरिवारमा त्रास छ । कसैको छोरा–छोरी, कसैको श्रीमान्, कसैको बुबा सहिद भएका छन् । तर ओली–बस्नेतको बोलीमा संवेदना झल्किँदैन । यस्तो मार्मिक अवस्थामा पनि उनीहरू सहानुभूति देखाउन असफल छन् ।
“जनता र देश” भन्दै २४ घण्टा बोल्ने नेताहरू अहिले आन्दोलनको रगतबाट बनेको सरकारलाई गुन्डुबाट धम्क्याइरहेका छन् । भन्छन्- “धेरै फुरफुर नगर्नु ।” उनीहरूको मन गलेको देखिन्छ, तर कारबाही भोग्नु पर्छ कि भन्ने डरले मुखमा ‘कस्मेटिक’ हासो देखाइरहेका छन् ।
जेन–जी पुस्ताले मागेको के थियो र ? शान्ति, भ्रष्टाचारमुक्त देश, स्वदेशमै रोजगारी र स्थिर सरकार । यो माग गलत थिएन । यो पुस्ताले जन्मेदेखि नै भ्रष्टाचार र कुशासन भोग्दै आएको छ । यदि सरकारले उनीहरूको माग बुझेर वार्ता गरेको भए, आजको परिस्थिति फरक हुन्थ्यो ।
तर पूर्वप्रधानमन्त्री ओली आन्दोलन चर्किनु दुई दिनअघिसम्म पनि जेन–जीलाई उत्तेजित बनाउने अभिव्यक्ति दिइरहेका थिए । आमजनता प्रश्न गर्छन्- “यत्रो जनाधार भएको एमाले गुन्डुमा खुम्चिएर किन हुंकार गर्छ ? चुनावमा भाग लिँदैनौँ भन्छ, तर ओलीले अन्तरिम सरकार गठनमा सहयोग गरेको कुरा बाहिर आएको छ ।”
जेन–जी आन्दोलनले अकल्पनीय क्षति पुर्याएको छ र यो एउटा तागतका रूपमा उदाउँदै छ । यस्तो गम्भीर विषयमा सूक्ष्म विश्लेषण गर्नुपर्ने बेला तुजुक, धम्की र खिसी–ट्युरीमा समय खर्चिएको देखिन्छ ।
गुन्डुको प्राकृतिक सौन्दर्यले यो ठाउँ लोकप्रिय छ । तर ओली त्यहीँबाट भन्छन्- “मैले गोली हान्ने आदेश दिएको थिइनँ ।” ठीकै छ, तर ती राष्ट्रप्रेमी युवाहरूको बलिदान र देश बनोस् भन्ने चाहनालाई किन वास्ता गरिएन ?
यति सुन्दर देशलाई यस्तै छाडेर जाने हो त ? ती आमाहरूलाई किन सहानुभूति देखाइएन, जसका सन्तान शहीद, अपाङ्ग वा घाइते भएका छन् ?
सुरक्षा फौजको भौतिक क्षतिसँगै मनोबल पनि गिरेको छ । प्रहरी प्रशासनले अझै पनि आफ्ना जवानलाई काममा फर्काउन सकेको छैन, जुन शहरका चोक–चोकमा देखिन्छ । यसले आमजनतामा सुरक्षा चिन्ता बढाएको छ ।
देशका लागि सबै सरोकारवाला एक ठाउँमा आउनुपर्छ । ओली र बस्नेतले जनताको भावनाको कदर गर्दै राष्ट्र पुनर्निर्माणमा जुट्नुपर्छ । असली नेतृत्वको परीक्षा यस्तै बेला हुन्छ । परिस्थितिको विश्लेषण गरी राष्ट्रलाई एकताबद्ध बनाउन र युवा पुस्ताको चाहना पूरा गर्न बिनाशर्त सहयोग गर्नुपर्छ ।
यो अन्तरिम सरकार आन्दोलनको जगमा बनेको हो । सरकारले दोषीहरूलाई कठघरामा उभ्याउनुपर्छ । जेन–जी आन्दोलनले सरकारको उत्तराधिकारी मात्र खोजेको होइन, गलत प्रणालीको अन्त्य चाहेको हो ।
सबै राजनीतिक दलसँग वार्ता गरी शान्तिपूर्ण चुनाव गराउन सके नयाँ पुस्ताले देश विकासको आधार तयार पार्न सक्छ। त्यसैले सबैले सहयोग गरौँ, देश बचाऔँ । गुन्डुकाे चर्चामा केन्द्रित नबनाैँ ।