ललितपुर । नेपालका लोकप्रिय साहित्यिक पत्रिकाहरू रूपरेखा, दीपक र समाचारलाई विशेष प्राथमिकता दिने भएतापनि साहित्यलाई पनि महत्व दिएर हालसम्म लोकप्रियताकासाथ प्रकाशित हुँदै आएको गोरखपत्र जस्तो ऐतिहासिक दैनिक पत्रिकामा समेत कथाहरू प्रकाशित गराइसकेका स्वर्गीय केशवप्रसाद आचार्य (१९८८–२०५६) का कथाहरू सङ्कलन भई संग्रहका रूपमा प्रकाशित भएको छ।
नेपालका चर्चित कथाकार अमोद भट्टराईको अत्यन्त गहन र सारगर्भित सम्पादकीय आलेख रहेको उक्त पुस्तकमा स्वर्गीय आचार्यका आठ वटा कथाहरू संकलित छन् भने धेरै कोसिस गर्दा पनि उपलब्ध हुन नसकेका पाँच वटा कथाहरूका शीर्षक मात्र प्रकाशित गरिएको छ।
पाठकहरूको साहित्यिक रसास्वादनलाई प्राथमिकतामा राखेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रकाशन संस्था सूत्रद्वारा प्रकाशित उक्त पुस्तकलाई ललितपुरको कुपण्डोलमा केशवप्रसाद आचार्यलाई जीवनभर साथ दिने उनकी धर्मपत्नी ८७ वर्षीय श्रीधराआचार्य, संविधानविद् तथा साहित्यकार भिमार्जुन आचार्य र समालोचक डा.गीता त्रिपाठीले एक समारोहकाबीच लोकार्पित गरेको हो।
जेनजी निहारिका श्रेष्ठद्वारा उत्कृष्ट उद्घोेषण गरिएको कार्यक्रममा चर्चित समालोचक डा.गीता त्रिपाठीले यो कथा संग्रह मात्र नभएर एउटा इतिहास र गहकिलो दस्तावेज हो भन्दै केशवप्रसाद आचार्यले आफूले बाँचेको परिवेश समेटेर राजनैतिक परिस्थितिलाई प्रतीकात्मक रुपले आफ्ना सिर्जनाहरू मार्फत व्यक्त गरेको बताए । साथमा उनले पुस्तकमा संकलित कथाहरु मध्ये “खानदानी चरित्र” शीर्षकको कथा कालजयी रहेको पनि बताए।
डा. त्रिपाठीले स्वर्गीय आचार्यका पिता बद्रीप्रसाद आचार्य एउटा राम्रो कवि भएको र उहाँको पिता गुरुप्रसाद आचार्य पनि कवि नै भएको र उहाँको एउटा कविता तत्कालीन अवस्थामा एसएलसीको पाठ्यपुस्तकमा समावेश गरिएको पनि बताए। आफ्नो वक्तव्यको अन्तिममा डा. त्रिपाठीले स्वर्गीय केशवप्रसाद आचार्य कथाकार मात्र नभई एउटा कुशल पत्रकार र राजनीतिज्ञ पनि भएको बताए।
समारोहमा संविधानविद् भिमार्जुन आचार्यले अमोद भट्टराईले स्वर्गीय आचार्यको कथा संग्रह सम्पादन गरेर उनलाई पुनर्जन्म गराएको बताउँदै पुस्तकमा रहेको कथा मध्ये “सपनाको सपना” शीर्षकको कथामा समाजमा परिवर्तनको आवश्यकता उही बेला उनले महसुस गरेको कुरा व्यक्त गर्नुकाे साथै पिक्चर मेनिया शीर्षकको कथामा कवि पागल भयो भने महाकवि र राजनीतिज्ञ पागल भयो भने मन्त्री बन्ने कुरा उल्लेख भएको सन्दर्भ आफूलाई अत्यन्त मन परेको बताए ।
कार्यक्रमको अन्त्यमा अमोद भट्टराईले आफूलाई असाध्यै मनपर्ने हात्ती, हात्तीभन्दा पनि ठूलो छाती देखाएर उपस्थित भएका सबैलाई धन्यवाद दिँदै विशेष गरी ऊर्जाशील व्यक्तित्व श्रीधरा आचार्य र उहाँको परिवारलाई पुस्तक सम्पादन गर्ने अवसर प्रदान गरेदिएकोमा र पुस्तक प्रकाशन गरिदिने प्रकाशन संस्था सूत्रप्रति हार्दिक आभार व्यक्त गरे ।
आफ्नो अत्यन्त व्यस्तता बीच कार्यक्रममा उपस्थित भई पुस्तकका बारेमा सारगर्वित टिप्पणी गर्ने भीमार्जुन आचार्य र डाक्टर गीता त्रिपाठीलाई धन्यवाद भनेर भावुक हुँदै ऐतिहासिक साहित्यिक पत्रिका रूपरेखाका सम्पादक आफ्ना स्वर्गीय पिता श्रीरामदेव भट्टराईलाई सम्झेर कार्यक्रममा उपस्थित भएका आफ्ना दाजु कवि अरुण देव भट्टराईसँग आफ्नो विगतको रमाइलो साहित्यिक किस्सा कोट्याउँदै कार्यक्रम समाप्त भएको घोषणा गरे।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२ ११:१४