उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृत्युपछि आँखा दान गर्न सबैलाई आग्रह गरेका छन् । आँखा दानबाट दृष्टिविहीन व्यक्तिले पुनः संसार देख्न सक्ने भएकाले यसलाई ठूलो दानका रूपमा लिनुपर्ने उनको आव्हान छ ।
कार्कीले मदन भण्डारी आँखा अस्पताल (दृष्टीकुञ्ज) गाईघाटमा आइतबार ‘स्मृति वृक्षारोपणको सातौँ वार्षिक उत्सव’ कार्यक्रममा यस्तो बताएका हुन् । कार्कीले कोशी प्रदेशमा आँखा प्रत्यारोपण सेवा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने पनि बताएका छन् । उनका अनुसार विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमा आँखा प्रत्यारोपण हुँदै आएको छ ।
मुख्यमन्त्री कार्कीले एक साताअघि विराटनगरमा स्वास्थ्य मन्त्रालयका सचिव तथा आँखा उपचारसँग सम्बन्धित विशेषज्ञहरूसँग बैठक गरी मृत्युपछि आँखा संकलन, संरक्षण र प्रत्यारोपणको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको जानकारी दिए । ‘मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छ । हामीलाई नचाहिने बेलाको आँखाले अर्को व्यक्तिले संसार देख्न सक्छ,’ उनले भने ।
उनका अनुसार कोशी प्रदेशमा हालको क्षमताबाट करिब ३०० जनासम्मको आँखा प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको विशेषज्ञहरूले बताएका छन् । प्रदेश सरकारले आवश्यक बजेट र प्राविधिक सहयोग उपलब्ध गराउने भन्दै अस्पतालहरूलाई तत्काल काम अघि बढाउन निर्देशन दिइएको उनले बताए ।
मुख्यमन्त्री कार्कीले उदयपुरमा रहेको मदन भण्डारी आँखा अस्पतालको सेवा विस्तारका लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । अस्पतालमा नियमित रूपमा आँखा शल्यक्रिया भइरहेको उल्लेख गर्दै उनले आवश्यक उपकरण तथा पूर्वाधारका लागि स्वास्थ्य मन्त्रालयमार्फत सहयोग उपलब्ध गराउने बताए ।
साथै, उदयपुरमा वातावरण संरक्षणसँगै आर्थिक उत्पादन बढाउने उद्देश्यले फलफूल तथा आम्दानी दिने प्रजातिका रूख रोप्नुपर्नेमा पनि उनले जोड दिए । मदन भण्डारी आँखा अस्पताल (दृष्टीकुञ्ज) गाईघाटमा आइतबार स्मृति वृक्षारोपणको सातौँ वार्षिक उत्सव कार्यक्रममा मदन भण्डारी आँखा अस्पताल परिसरमा स्वर्गीय मातापिताको नाममा बृक्षारोपण पनि गरेका छन् ।

नेपाल नेत्र ज्योति संघ उदयपुर तथा मदन भण्डारी आँखा अस्पतालका सभापति भागवत राउतका अनुसार मदन भण्डारी आँखा अस्पताल परिसरमा थालनी गरिएको ‘स्मृति वृक्षारोपण अभियान’ सात वर्ष अघिबाट सुरु गरिएको थियो । पितृहरुको सम्झनामा गरिएको वृक्षारोपणले अस्पताल परिसर हराभर भएको छ । उनले भने, ‘यो अभियान केवल वृक्ष रोप्ने कार्यक्रम मात्र नभई मानव सेवा, वातावरण संरक्षण, संस्थागत इतिहास र नागरिक सहभागितालाई जोड्ने दीर्घकालीन अभियान हो ।’
अस्पतालसँग जोडिएका दाता, सहयोगी, चिकित्सक, कर्मचारी, सामाजिक अभियन्ता, संस्था तथा शुभेच्छुकहरूको योगदानलाई जीवित स्मृतिका रूपमा संरक्षण गर्दै अस्पताल परिसरमा ‘स्मृति वाटिका’ विकास गर्ने यसको मूल उद्देश्य रहेको राउतको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३ १८:५६