ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू आर्थिक रूपमा विपन्न तथा अवसरबाट वञ्चित बालबालिकाको भविष्य निर्माण गर्ने आशाका केन्द्र हुन् । सीमित पारिवारिक आम्दानी, आफूले दैनिक रूपमा प्रयोग गर्ने शैक्षिक सामग्रीको अभाव, घरायसी जिम्मेवारी र उचित सिकाइ वातावरणको कमीका बाबजुद पनि बालबालिकामा सिक्ने हुटहुटी, प्रतिभा र केही बन्ने अदम्य चाहना हुन्छ । तर चाहना भएर मात्र पुग्दैन, त्यसलाई उपलब्धि बनाउन परिवार, विद्यालय र राज्यको सार्थक सहयोग आवश्यक हुन्छ ।
सामाजिक विकृति र विसंगति साथै व्यक्तिगत स्वार्थ न्यूनीकरणका लागि एवं संस्था जगेर्ना, असल समाज निर्माण गरी एकअर्काप्रति अपनत्व विकास गर्न सक्नुपर्छ । अनियमितता हटाउन आलोचनात्मक चेत वैज्ञानिक भावना, सुधारका लागि विद्रोही आवाज बुलन्द गर्दै सकारात्मक समाज,संस्था ,राष्ट्रको परिकल्पना गर्ने चेत हामी सबैले राख्न जरुरी छ ।
आर्थिक विपन्नताले वैदेशिक रोजगारीका कारण आमाबुबामध्ये एक वा दुवै घरबाहिर रहँदा कतिपय बालबालिकाले भावनात्मक साथ, नियमित हेरचाह र पढाइमा सहयोगको कमी भई शैक्षिक गुणस्तर एकदमै कमजोर भएको हुन्छ ।
विशेषगरी आमाको अनुपस्थिति, अभिभावकबीचको असमझदारी वा पारिवारिक बेमेलले बालबालिकाको एकाग्रता, आत्मविश्वास र शैक्षिक उपलब्धिमा असर पारेको हुन्छ ।
यद्यपि सबै बालबालिकामा यसको असर समान हुँदैन । त्यसैले परिवारले आर्थिक व्यवस्थापनसँगै बालबालिकाको भावनात्मक आवश्यकता र शैक्षिक अवस्थालाई पनि प्राथमिकता दिनुपर्छ । विद्यालयको एकल प्रयास भन्दा पनि अभिभावक शिक्षक विद्यार्थी त्रिपक्ष प्रयासले मात्र शैक्षिक गुणस्तर सम्भव रहन्छ ।
अभिभावकको आर्थिक पाटो सुधार गर्नका लागि संघ, प्रदेश र स्थानीय तह क्षमता अनुकूलको रोजगारीका लागि जिम्मेवार हुन सक्नुपर्छ। सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी भवन, पाठ्यपुस्तक र शिक्षकको व्यवस्थापनमा सीमित हुनुहुँदैन ।
विद्यार्थीले वास्तवमै कति सिके, उनीहरूको क्षमता कति विकास भयो र भविष्यका लागि कति सक्षम बने भन्ने कुराले लगानीको सार्थकता निर्धारण गर्छ । यिनै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू देशका विभिन्न क्षेत्र, सेवा, पेसामा आबद्ध भई राष्ट्र निर्माणमा योगदान दिइरहेका छन् ।
धेरै जसो दक्ष तथा प्रतिभाशाली जनशक्ति अवसरको खोजी गर्दै विदेश पलायन हुने सोच बढ्नु देशको दीर्घकालीन विकास, उत्पादनशीलता र दक्ष जनशक्ति व्यवस्थापनका लागि चुनौती हो । त्यसैले स्वदेशमै सम्मानजनक रोजगारी, उद्यमशीलता र प्रतिभाको उचित कदर हुने वातावरण निर्माण गर्नुपर्छ।
आर्थिक रूपले विपन्न तथा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा आवश्यक शैक्षिक सामग्री, प्रविधिमैत्री सिकाइ, अतिरिक्त सहयोग कक्षा र विद्यार्थीमैत्री वातावरण सुनिश्चित गर्नुपर्छ । आर्थिक रूपमा कमजोर बालबालिकालाई छात्रवृत्ति, पोसाक, शैक्षिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकार जिम्मेवार हुन सक्नुपर्छ ।
शिक्षकले विद्यार्थीको सिकाइस्तर पहिचान गरी व्यक्तिगत आवश्यकताअनुसार सहयोग गर्नुपर्छ भने अभिभावकले उनीहरूलाई समय, माया र प्रोत्साहन दिनुपर्छ । स्थानीय तह र राज्यले लगानीको प्रभावकारी अनुगमन गर्दै विद्यालयको गुणस्तर, शिक्षकको पेसागत विकास र स्वदेशमै अवसर सिर्जनामा विशेष ध्यान दिनुपर्छ ।
अन्ततः सामुदायिक विद्यालयका बालबालिका कमजोर सम्भावना भएका होइनन उनीहरू अवसरको समानताका लागि प्रतीक्षारत प्रतिभा हुन्। उनीहरूको सपना आर्थिक विपन्नता, पारिवारिक परिस्थिति र शैक्षिक स्रोतको अभावमा सीमित हुन दिनुहुँदैन ।
राज्यको लगानी, शिक्षकको समर्पण, अभिभावकको माया र समाजको सहयोग एकै ठाउँमा जोडिन सके मात्र सामुदायिक विद्यालयको गुणस्तर उकास्न, प्रतिभा पलायनको दबाब घटाउन ,सक्षम आत्मनिर्भर तथा समुन्नत राष्ट्र निर्माण गर्न सकिन्छ ।
अन्त्यमा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको अन्त्य हुनु भनेको निश्चित वर्गका बालबालिकाहरूको शिक्षा अन्त्य हुनु हो । त्यसैले गलत कार्यलाई गलत भन्न सिकौँ । सहीलाई प्रोत्साहन गरौं ।
नामी ई-पेपर