हिजोआज मानिसको जीवन धेरै व्यस्त, प्रतिस्पर्धात्मक र तनावपूर्ण बन्दै गएको छ। बिहानदेखि बेलुकासम्मको दौडधुप, घण्टौँ कम्प्युटर र मोबाइलमा बित्ने समय, शारीरिक निष्क्रियता, अनियमित खानपान तथा मानसिक दबाबले मानिसको शरीर र मन दुवैलाई थकित बनाइरहेको छ ।
यस्तो अवस्थामा शरीरलाई आराम दिनु, मांसपेशीलाई सहज बनाउनु र मानसिक तनाव कम गर्नु अत्यन्त जरुरी छ। यही संवन्धमा मसाज अर्थात् मालिसको महत्व अझ धेरै हुन थालेको छ । हुन त यो मालिस यानी मसाज परापूर्वकालदेखि चल्दैआएको परम्परा भएतापनि यसको महत्व आजको व्यस्त जीवनमा अझ धेरै बढ्न थालेको हो ।
यसलाई केवल शरीर दुख्दा गरिने उपचार वा विलासिताका रूपमा बुझ्नु उचित हुँदैन। यो शरीरको हेरचाह, आराम र समग्र स्वास्थ्य प्रवद्र्धनसँग जोडिएको अभ्यास हो । हजारौँ वर्षदेखि विभिन्न सभ्यता र संस्कृतिमा मालिसलाई शारीरिक तथा मानसिक स्वास्थ्यसँग जोडेर प्रयोग गरिँदै आएको छ ।
नेपाली समाजमा पनि तेल लगाएर शरीर मालिस गर्ने परम्परा पुस्तौँदेखि चल्दैआएको कुरा कसैवाट छिपेको पनि त छैन् । विशेषगरी लामो समय एउटै स्थानमा बसेर काम गर्ने कर्मचारी, शारीरिक श्रम गर्ने श्रमिक, खेलाडी तथा दैनिक तनावबाट गुज्रिरहेका व्यक्तिका लागि मसाज उपयोगी हुन सक्छ । मसाजपछि शरीर हलुका भएको, थकान कम भएको र मन शान्त भएको अनुभव धेरैले गर्छन् ।
यद्यपि यसलाई सबै रोगको उपचार ठान्नु गलत हो । यसले रक्तचाप, मधुमेह, हाडजोर्नी वा अन्य गम्भीर रोग निको पार्छ भन्ने आधारहीन दाबीबाट सचेत रहनुपर्छ । मसाज स्वास्थ्य सेवाको विकल्प होइन, आवश्यकताअनुसार अपनाउन सकिने सहयोगी अभ्यास हो ।
अर्कोतर्फ, मसाज सेवाको विस्तारसँगै यसको गुणस्तर, सुरक्षा र व्यावसायिक मर्यादाको प्रश्न पनि महत्वपूर्ण बनेको छ । हिजोआज विभिन्न नाममा मसाज सेन्टर सञ्चालन भइरहेका छन् ।
तर सबै ठाउँमा प्रशिक्षित जनशक्ति, स्वच्छ वातावरण र सुरक्षित सेवा उपलब्ध छ भन्ने सुनिश्चित छैन । मसाज सेवा लिँदा दक्ष तथा तालिमप्राप्त व्यक्तिबाट मात्र सेवा लिनुपर्छ । व्यक्तिगत गोपनीयता, सरसफाइ, शारीरिक मर्यादा र ग्राहकको सहमतिको पूर्ण सम्मान हुनुपर्छ।
विशेषगरी चोटपटक, छालाको संक्रमण, रगत जम्ने समस्या, गम्भीर हाडजोर्नी समस्या वा अन्य स्वास्थ्य जटिलता भएका व्यक्तिले मसाज गर्नुअघि चिकित्सकीय सल्लाह लिनुपर्छ । गर्भवती महिला तथा ज्येष्ठ नागरिकका लागि पनि उपयुक्त विधि र सावधानी आवश्यक हुन्छ ।
हाम्रो समाजमा शरीरको हेरचाहलाई अझै पनि धेरैले खर्चिलो सौख वा फुर्सदको काम ठान्ने गरेका छन् । तर स्वस्थ शरीरबिना सुखी जीवनको कल्पना अधुरो हुन्छ । जसरी हामी घर, गाडी र सम्पत्तिको हेरचाहमा समय तथा पैसा खर्च गर्छौँ, त्यसरी नै आफ्नो शरीरको हेरचाहमा पनि ध्यान दिनुपर्छ ।
सरकारले मसाज तथा शारीरिक स्वास्थ्यसम्बन्धी सेवा प्रदायक संस्थाको गुणस्तर, तालिम, सरसफाइ र व्यावसायिक आचारसंहितामा ध्यान दिन आवश्यक छ । सञ्चालकहरूले पनि नाफाभन्दा सेवाको गुणस्तर र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनु जरुरी छ ।