उदयपुर । त्रियुगा नगरपालिकाको भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा स्थानीय ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित त्रियुगा प्रज्ञा प्रतिष्ठान, गाईघाटको पहिलो ऐतिहासिक बैठकले प्रतिष्ठानको आगामी कार्यदिशा तय गर्दै विभिन्न विषयगत विभाग गठन, वार्षिक कार्यक्रम निर्माण तथा संस्थागत व्यवस्थापनका महत्वपूर्ण निर्णय गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष राममणि पोखरेलको अध्यक्षतामा आइतबार त्रियुगा नगरपालिकाको पुरानो भवनमा बसेको बैठकले नगरको विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी यहाँको इतिहास, भाषा, साहित्य, कला, संस्कृति, लोकपरम्परा, लोकज्ञान तथा सिर्जनात्मक प्रतिभाको संरक्षण र प्रवर्द्धनलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो ।
बैठकले त्रियुगा प्रज्ञा प्रतिष्ठान गठनका लागि पहल तथा सहयोग गर्ने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला, प्रतिष्ठान गठन समितिका संयोजक तथा सदस्यहरू, नगर कार्यपालिका र नगर परिषद्प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्ने निर्णय गरेको छ ।

बैठकले त्रियुगा नगरको मौलिक पहिचान, सांस्कृतिक सम्पदा र सिर्जनात्मक क्षमतालाई संस्थागत रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने जिम्मेवारी प्रतिष्ठानलाई प्रदान गरिनु महत्वपूर्ण उपलब्धि भएको निष्कर्ष निकालेको छ ।
प्रतिष्ठानका गतिविधिलाई प्रभावकारी, व्यवस्थित र विषयगत रूपमा सञ्चालन गर्न बैठकले छवटा विभाग गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ । भाषा तथा साहित्य विभागको संयोजकमा अध्यक्ष राममणि पोखरेल, कला तथा संस्कृति विभागको संयोजकमा मिथुन ठाकुर, इतिहास तथा पुरातत्त्व विभागको संयोजकमा सचिव कौशल चेम्जोङ, अनुसन्धान तथा प्रकाशन विभागको संयोजकमा उपाध्यक्ष महेन्द्रकुमार राई, बाल तथा युवा सिर्जना विभागको संयोजकमा सीमा मास्के तथा अभिलेख तथा डिजिटल स्रोत विभागको संयोजकमा गोपाल कृतिलाई जिम्मेवारी दिइएको छ ।
विभागहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित कार्यक्रम, अनुसन्धान, अभिलेखीकरण, प्रकाशन, सिर्जना तथा प्रवर्द्धनका कामलाई योजनाबद्ध रूपमा अघि बढाउनेछन् । आवश्यकता र कार्यगत अवस्थाअनुसार विभागको जिम्मेवारी थपघट वा हेरफेर गर्न सकिने व्यवस्था पनि गरिएको छ । प्रतिष्ठानले त्रियुगा नगर क्षेत्रको इतिहास, पुरातत्त्व, स्थानीय भाषा, लोकसाहित्य, जातीय तथा सांस्कृतिक परम्परा, मौलिक ज्ञान र स्थानीय प्रतिभाको खोज तथा अभिलेखीकरणलाई प्राथमिकतामा राख्ने भएको छ ।
त्यसका लागि अनुसन्धान तथा प्रकाशन र अभिलेख तथा डिजिटल स्रोत विभागमार्फत स्थानीय विषयमा अध्ययन–अनुसन्धान गर्ने, महत्वपूर्ण सामग्री संकलन तथा अभिलेखीकरण गर्ने र भविष्यमा पुस्तक, अनुसन्धान प्रतिवेदन तथा डिजिटल सामग्रीका रूपमा प्रकाशन गर्ने दिशामा काम अघि बढाइने भएको छ ।
त्यसैगरी, बाल तथा युवा सिर्जना विभागमार्फत नयाँ पुस्तालाई भाषा, साहित्य, कला र संस्कृतिसँग जोड्ने तथा उनीहरूको सिर्जनात्मक क्षमता विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
बैठकले प्रतिष्ठानको आगामी वर्षका लागि वार्षिक कार्ययोजना तयार गरी असोज १९ गते बस्ने प्राज्ञ परिषद्को बैठकमा पेश गर्ने निर्णय गरेको छ । प्रस्तावित कार्यक्रमअन्तर्गत स्थानीय भाषा तथा साहित्यको संरक्षण, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, स्थानीय इतिहास र पुरातत्त्वसम्बन्धी अनुसन्धान, मौलिक संस्कृति तथा लोकपरम्पराको अभिलेखीकरण, अनुसन्धान तथा प्रकाशन, बाल तथा युवा सिर्जना प्रवर्द्धन, स्थानीय प्रतिभाको सम्मान तथा प्रोत्साहन र डिजिटल अभिलेख निर्माणजस्ता विषयलाई प्राथमिकतामा राखिने भएको छ ।
यसका साथै प्रतिष्ठानको संस्थागत पहिचान स्थापित गर्न लोगो, स्लोगन तथा प्रचारात्मक सामग्री तयार गर्ने निर्णयसमेत भएको छ । लोगो निर्माणका लागि टंकबहादुर आले मगर, मिथुन ठाकुर र गोपाल कृतिलाई जिम्मेवारी दिइएको छ भने सचिव कौशल चेम्जोङले प्रस्ताव गरेको स्लोगनमाथि थप छलफल गरी परिषद् बैठकबाट अन्तिम निर्णय गरिने भएको छ ।
प्रतिष्ठान गठन भएको करिब साढे चार महिनाको अवधिमा विभिन्न कारणले नियमित कार्यक्रम अघि बढ्न नसकेको अवस्थालाई मध्यनजर गर्दै असोज १९ गते (साेमबार) प्राज्ञ परिषद्को बैठक आयोजना गरी वार्षिक कार्यक्रम तथा आगामी कार्यदिशालाई अन्तिम रूप दिने निर्णय गरिएको छ ।
बैठकले सूचना नपुगेका तथा विभिन्न कारणले अनुपस्थित प्राज्ञ सदस्यहरूलाई समेत जानकारी गराई परिषद् बैठकमा सहभागी हुन अनुरोध गर्ने निर्णय गरेको छ । त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठकले प्रतिष्ठानलाई केवल औपचारिक संरचनामा सीमित नराखी त्रियुगा नगरको इतिहास, पहिचान, भाषा, साहित्य, कला र संस्कृतिको अनुसन्धान, संरक्षण, अभिलेखीकरण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने सशक्त संस्थाका रूपमा अघि बढाउने प्रारम्भिक आधार तयार गरेको छ ।