काठमाडौ । रिवन इन्टरटेनमेन्टको आयोजनामा आगामी कात्तिक १४ गते राजधानीमा हुने ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ का प्रतियोगीहरू द ग्ल्याम नाइटमा प्रस्तुत भएको छ।
ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ अर्न्तगतको द ग्ल्याम नाइटमा प्रतियोगीहरु तीन विशेष पहिरनमा र्याम्पमा प्रस्तुत भएका थिए।
विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले द ग्ल्याम नाइट फेसन शो आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिए।

ख्यातिप्राप्त अभिनेता अभिनेत्रीहरु राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, रेखा थापा, पूजा शर्मा, सुपुस्पा भट्ट, गायक आनन्द कार्की लगायतका सेलिब्रेटीहरु सहभागी शोमा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा र्याम्प वक गरेका थिए।
प्रतियोगीहरुले ब्राइडल सिक्वेन्समा परम्परागत दुलही पहिरनको सौन्दर्य, संस्कृति र आकर्षण प्रस्तुत गरेका थिए । त्यसै गरी निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसँग सम्बन्धित ब्रान्ड प्रवर्द्धनलाई फेसनसँग जोडिएको थियो भने गाउन सिक्वेन्समा प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्याम्प प्रस्तुतिको क्षमता प्रदर्शन गरेका थिए।




कार्यक्रममा राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुस्पा भट्टले प्रतियोगीताका विजयीहरुले पहिरीने ताज सार्वजनिक गरेका थिए। गायक कार्कीले आफ्ना चर्चित गीतहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए भने हास्य कलाकार जितु नेपालले समसायिक विषयमा हास्यव्यग्य प्रस्तुत गरेर हसाएका थिए।
ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को तयारी तथा प्रवद्र्धनात्मक गतिविधिअन्तर्गत आयोजित द ग्ल्याम नाइट प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली र प्रस्तुति क्षमता देखाउने अवसरसमेत बनेका थिए। यसले विवाहित महिलाहरूको आत्मविश्वास, पहिचान र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास लिएको छ।




रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेस नेपाल वर्ल्ड विवाहित महिलाहरूको प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो।
यस वर्षको प्रतियोगिताको अन्तिम स्पर्धामा प्रिय शिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले प्रतिस्पर्धा गर्दैछन्।


ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ।प्रतियोगिताबाट छानिने मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोको विजेतासमेत चयन गरिने आयोजकले जनाएका छन्।
यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।