Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा
आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन २७, २०७९

भादगाउँ । मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ ।

धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाइन्छ।

भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गमको पर्वको रुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वको रुपमा समेत गाईजात्रालाई लिने गरिन्छ ।

मृतकका घरबाट गाईजात्रा निकाल्दा आफन्तजनले मृतकको सम्झनामा रुनु पर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगर परिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ ।

भक्तपुरको गाईजात्रा हेर्न उपत्यकाकालगायत बनेपा, धुलिखेल र पनौतीलगायतका सहरबाट समेत हजारौंको सङ्ख्यामा दर्शक आउने गर्दछन् । भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ ।

भक्तपुरमा गाईजात्राको औपचारिक सुरुआत जनै पूर्णिमाको साँझ नै गरिन्छ । जनै पूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले बताए ।

जनैपूर्णिमाको साँझ शुरु भएपनि सर्वसाधारणले मुख्यरुपमा भाद्र शुक्ल प्रतिपदाको दिन सापारु अर्थात् गाईजात्रा मनाउने गर्दछन् । भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन बिहान सबेरै दरवार क्षेत्रस्थित तलेजु भवानीको र अन्त्यमा साँझ टौमढीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा रहेको छ ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगर परिक्रमा गरिने ताहासा (तहामचा) हो । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास रहेको छ ।

घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्ध सबै सहभागी हुन्छन् ।

ताहासा चार वटा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधी त्यसलाई कपडाले बेरेर ताहासा बनाइन्छ ।

ताहासाको शिरमा गाईको चित्र राखी महिला र पुरुषको सङ्केत जनाउन कपडाले बेताली बाँधिन्छ । त्यसमा परालको सिङ र सिङ माथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको प्वाङ्ख र रङ्गीचङ्गी फुलले सजाइन्छ ।

टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गीन माथि गोलाकार तर झण्डाजस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतीक खास्तो राखी छाता ओढाइन्छ । ताहासाको बीचमा जामाचा लगाई लामो दुईवटा पटुका बाँधिन्छ । अगाडि पछाडि मृतकको तस्बिर, भगवानको तस्बिरसहित ऐना राखिन्छ ।

भक्तपुरमा कुमालेले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउने गर्छन् । कुमालेको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरूले आफ्नै मौलिक पुख्र्यौली पेसा अन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

गाईंसँगै मृतकको स्मृति झल्काउने करुण रसप्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ । साथै, केटाकेटीहरूलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा श्रृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलन समेत रहेको छ ।

गाईजात्रा निकाल्नुअघि ताहासा, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतीक जनाउने, गाईलगायतलाई सगुन दिन मृतकको छोरीहरू र क्रियापुत्रलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पूरा गरी गौदान गराइन्छ । यो बेलामा मृतकका घरपरिवारका महिला सदस्यहरू रुने परम्परा छ ।

नेवार समुदायमा सगुन दिँदा रुनु भनेको मृतकप्रतिको सम्मानको रुपमा लिइन्छ । सगुन पूजा सकेपछि काँचो सानो केराउ, नासपाती, काँक्रो लगायत फलफूल र दही चिउरा टोल छरछिमेकमा बाहिर बसेकालाई बाँडिन्छ र बाँसको नोल लगाएर ताहासालाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर नगर परिक्रमा गराइन्छ । नगरपरिक्रमा गराउँदा ताहासामा मृतकको तस्बिरले जात्रा हेर्न आएकाहरूलाई कसको ताहासा निकालेको त्यो स्पष्ट हुने गर्दछ ।

नगर परिक्रमा गर्दा क्रियापुत्र, छोरीहरू र मृतकका परिवारका अन्य सदस्य हातमा धुप बालेर जाने परम्परा छ । यसरी गाईलाई परिक्रमा गराउँदा मृतकका परिवारले र स्थानीयहरूले आफ्नो गच्छेअनुसार रोटी, फलफूल, बिस्कुट, दक्षिणा, हरियो केराउ, काँक्रो, नासपाती, जुसलगायत दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङकेत दिने गरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने रातो, नीलो कपडामा सारी र हाकुपटासीसहितको ताहासालाई नगर परिक्रमा गराइन्छ ।

पुरुष हो भने सेतो कपडाले बेरेको हुन्छ । त्यसैगरी गर्भवती महिलाको हो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एकापरिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासामा तल अर्को सिङ राखेर मृतकको तस्बिरसहित काखमा राखेर ल्याउने परम्परा छ ।

गाईजात्राको दिन विधिवत् रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वासले गाईजात्रा निकाल्ने गरिएको हो ।

भक्तपुरमा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासा निकालेपछि गाईजात्रा सम्पन्न गर्ने परम्परा रहेको छ । भैरवको ताहासा ल्याउँदा लाकोलाछे टोलमा वर्षदिन दिवङ्गत भएका सबैको ताहासा पनि भैरवको ताहासाँसँग लानुपर्ने चलन रहेको छ ।

भैरवनाथको ताहासालाई नगर परिक्रमा गराउँदा टौमढी, दरबार क्षेत्र र तचपालमा तीन÷तीनपटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासा चुपिङघाटस्थित पुलमा लगेर ताहासा बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म आठ दिन नौ रात मनाइन्छ । प्रतिपदाको दिन मुख्यरुपमा र अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।

गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म सहरका देवीदेवताहरू दत्तात्रय, भैरव, भीमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरू माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखंलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

शोक र उल्लासको सङ्गमको रुपमा मनाइने गाईजात्रा पर्वलाई काठमाडौँका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको प्राडा श्रेष्ठ बताउँछन् ।

उनका अनुसार लिच्छीकालमा रमाइलोका लागि गोरु जुधाउने परम्परा थियो । अनन्तलिङ्गेश्वरको अभिलेखमा यो युद्ध उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाईजात्रा गर्ने चलन पूर्वमध्यकालमा शुरु भएको श्रेष्ठको भनाइ छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्बदन्ती भएपनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन ।

मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोवास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको प्रा डा श्रेष्ठ बताउँछन ।

नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्राडाको भनाइ छ ।

किम्वदन्तीअनुसार प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ ।

यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हाँस्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राको अवसरमा हाँस्यव्यङ्ग्यसमेत प्रदर्शन गरिन्छ ।

प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्लभन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दाबी गर्नुहुन्छ । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशालीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्छ भन्ने मान्न सकिने उनको भनाइ रहेको छ ।

उनले विक्रमको १४ औँ शताव्दी भन्दा अगाडि लिच्छवीकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधारहरू भएको बताए ।

त्यसैगरी भक्तपुरमा तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएको अर्का संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए ।

“भक्तपुर तन्त्र विद्यायुक्त सहर हो । यहाँका हरेक सांस्कृतिक परम्पराहरू तान्तिक विधिपूर्वक मनाइन्छ”, उनले भने, “भक्तपुरमा प्रत्येक पाइलापाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ गाईजात्रा मनाइन्छ।” 

भक्तपुर नगर तन्त्रको आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर यहाँ मृतकको नाममा ताहासा, दोसाँ, महादेव पार्वती, वासा लाकेगुलगायत गरी नगर परिक्रमा गराइने परम्परा रहेको राजोपाध्यायले बताए ।

गाईजात्रा सबै ठाउँमा मृतकको शान्तिका लागि मनाए पनि अन्य स्थानमा तान्त्रिक शक्ति नभएको राजोपाध्यायले बताए। “पाटनमा दश महाविद्या तन्त्र भएर पनि त्यसअनुसारको जात्रा मनाइँदैन । सामाजिक विकासको क्रममा काठमाडौँ पाटनमा त्यो विस्थापित हुँदै गएकाले यहाँको जस्तो नमनाइएको हो”, उनले भने।

गरुड पुराणमा मानिसको मृत्यु भएपछि ११ दिनमा वृषसर्ग गर्नुपर्ने परम्परा छ । त्यस दिन मृतक परिवारले जिउँदो गाई र त्यसका लागि आवश्यक जग्गा दान दिए मात्र मृतकको आत्मा शान्ति हुन्छ भनिएको छ ।

जग्गा र गाई दान गर्ने विकल्प खोज्दै जादा वृषसर्ग कर्म नगरेपनि स्वर्गको ढोका खोल्ने भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन् भन्ने धार्मिक विश्वासमा नेवार समुदायले यो पर्व मनाउन थालेको अर्का संस्कृतिविद् ओम धौभडेलले बताए ।

शोक र मृत्युसँग सम्बन्धित यस जात्रामा मध्यकालदेखि नै हाँस्यव्यङ्ग्य र ख्यालठट्टा शुरु भएको उनले बताए। राजा प्रताप मल्लले गाईजात्रा गरेर मृत्यु सत्य हो भन्ने दर्शाउँदा समेत रानीको मन शान्त नभएपछि हाँस्य रसको प्रयोग भएको कथा पनि रहेको उनले जानकारी दि ए।

“प्रारम्भमा गाई यात्राको रुपमा रहेको यो पर्व मध्यकालमा गाईजात्रा भएको हो । पहिला गाईलाई नगर परिक्रमा गराए मृत्यु संस्कार पूरा हुन्थ्यो । पछि गाईसँगै विभिन्न बाजागाजा पनि राखियो”, धौभडेल भने ।

कोरोना सङ्क्रमणको जोखिमका कारण गएका दुई वर्ष औपचारिकतामा सीमित भएको गाईजात्रालाई यस वर्ष भक्तपुरमा भव्यरुपमा मनाउने तयारी भएको छ ।

पात्रोअनुसार जनै पूर्णिमा र गाईजात्रा साउन २७ गते एकै दिन परेपनि नगरपालिकाले सरोकारवाला र तलेजुका पुजारीहरूसँग समेत छलफल गरी साउन २६ गते जनै पूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरिसकेको छ ।

नगरपालिकाले सोही अनुसार गाईजात्रा सभ्य र व्यवस्थित रुपले सम्पन्न गर्न दाफा, भजन, सांस्कृतिक टोलीका प्रतिनिधि र संस्कृतिकर्मीहरू, गुठी संस्थान र सरोकारवालासँग छलफल गरी सबै तयारी पूरा गरेको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले गाईजात्रामा प्रदर्शन हुने परम्परागत र आधुनिक सांस्कृतिक गतिविधिहरू बढीभन्दा बढी प्रदर्शनीका लागि नगरबासीलाई अनुरोध गरेको छ । यस्ता जात्राहरूमार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १२:२१
##saparudance
प्रतिक्रिया दिनुहोस्
थप समाज
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्