मानिसको जात मानिस मात्र हो। यो वाहेक मानिसको अर्को जात नै छैन् । लिङ्गको आधारमा पहिला महिला र पुरुष मात्र थियो भने, हाल तेश्रो लिङ्गी पनि थपिएको छ । यो वाहेक अर्को जात नै नभएको परापूर्वकालदेखिको समानता विश्वमा नै थियो। नेपालको सन्दर्भमा पनि मानव जातलाई कामको आधारमा राखिन थालियो।
यसरी जातको नाममा नेपालमा थरको प्रयोग गर्ने चलन विशेषगरी लिच्छविकालबाट सुरु भएको हो त्यसपछि मल्लकाल र शाहकालमा यो झन स्पष्ट र व्यापक भयो । थर बन्ने प्रक्रिया विभिन्न आधारमा भएको पाइन्छ । पेशाका आधारमा, बसोबास स्थानका आधारमा, पद वा सम्मानका आधारमा थरहरू निर्धारण भए । थर लेख्नुपर्ने कारणहरू के थिए त ? भन्दा एउटै नाम भएका व्यक्ति छुट्याउन समाजमा मानिसको जात, परिवार र वंश पहिचान गर्न, पेशा छुट्याउन, प्रशासननिक कामका लागि कर उठाउने, जग्गाको अभिलेख राख्ने, जस्ता कामका लागि प्रयोगमा ल्याइयो।
नेपाल विविध जातजाति धर्म र संस्कृतिले बनेको सुन्दर राष्ट्र हो । यहाँका मानिसहरुलाई चिनाउने महत्वपूर्ण पहिचान मध्ये थर पनि एक हो। थरले मानिस र वंशलाई चिनाउने काम गरे पनि समय क्रमसँगै थर समाजमा जातीय विभेदको आधार समेत बन्दै गइरहेको छ।
प्राचीन समयमा एउटै परिवारका सदस्यहरूले फरक स्थान मा बसोबास गर्दा, फरक पेशा अवलम्बन गर्दा, फरक पदीय जिम्मेवारी पूराहरू गर्दा थर निर्धारण भएतापनि समयक्रमसँगै यसलाई उच्च र निम्न जातका आधारमा वर्गीकरण गर्ने प्रवृत्ति बढ्दै गयो।
फलस्वरूप केही समुदायले सामाजिक सम्मान, अवसर र अधिकारमा अग्रता पाए भने केही समुदायले अपमान छुवाछुत र भेदभाव सहनुपर्यो। जुन अत्यन्त पिडादायी नै हो र छ पनि । ठूला जातले साना जातलाई हेप्ने अनि जात देखायो भन्ने जस्ता तुच्छ शव्दको बाणले घायल पार्ने परम्परा अद्यावधिक कायम छ । जुन अत्यन्तै विडम्बना हो ।
यस्तो जातीय विभेदले नेपाली समाजमा गहिरो असर पारेको छ । यसले मानिसहरू बीचमा समानता सद्भाव र सहकार्यको भावना कमजोर बनायो। एउटै देशका नागरिक भएपनि थर र जातका आधारमा मानिस बीचको दुरी बढ्ने अवस्था सिर्जना भयो । यसले नेपालीपन अर्थात् साझा राष्ट्रिय पहिचानलाई कमजोर बनाउने काम गर्यो ।
यति मात्र कहाँ हो र आफ्नै परिवारका सदस्यहरू अर्को थरसँग विवाह गरे परिवारबाटै बहिष्कार गर्ने त्याग्ने परिपाटी काएम हुँदै गयो अब यसबाट के अनुमान लगाउन सकिन्छ भने आफ्नै परिवारका सदस्यलाई परिवारको सदस्य स्वीकार्न नसक्ने मेरो समाजले छिमेकलाई देखाएको मानवता र सहयोग कहाँसम्म आत्मीय रहला ? त्यसैले पारिवारिक सद्भाव, माया, प्रेम र आत्मियता पहिलो प्राथमिकता हो। परिवारमा देखाएको व्यवहार मात्र समाजका लागि उदाहरण बन्न सक्छ । सोच बदलौं सुरुवात आफैबाट गरौँ ।
समयसँगै समाजमा चेतना बढ्दै गएको छ । मानिसको चेतना र व्यवहारले मात्र विभेदको अन्त्य नहुने भएर नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको छ । छुवाछुत र जातीय विभेदलाई कानूनी रुपमा अपराध मानिएको छ। शिक्षा, सामाजिक जागरण र कानूनी व्यवस्थाका कारण अहिले धेरै ठाउँमा पुराना सोचहरू परिवर्तन हुँदै गइरहेका छन् ।
हामीले बुझ्न आवश्यक छ आजको आवश्यकता भनेको थर र जातलाई विभेदको आधारमा होइन सांस्कृतिक विविधताको पहिचानका रुपमा बुझ्न र त्यही अनुरुपको व्यवहार गर्नुले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त देशको पहिचानका रुपमा सधैँ राख्न सकिन्छ। हामी सबैले सोही अनुरूपको वातावरण सृजना गरी हामी सबै नेपाली हौं भन्ने भावना राख्दै शब्दले मात्र होइन नेपालीपन असली व्यवहारमा नै उतार्न जरुरी छ।
याे पनि :
नामी साप्ताहिक