काठमाडौं। महिलाको प्रसुति पीडा र पुरुषको पिसाव पीडा लगभग बराबर जस्तो नै हुने गरेको तर्क सामाजिक अभियन्ता तथा प्रतिष्ठित गीतकार प्रकाश कुइँकेलको छ।
जसरी महिलामा प्रसुतिको प्रसव पीडा हुन्छ। त्यो बेला मर्नु न बाँच्नु भएजस्तै पुरुषलाई पिसाव पीडामा पर्दा त्यस्तै मर्नु न बाँच्नु हुन्छ। महिलाको प्रसुति पीडा जस्तै पुरुषको पिसाव पीडा पनि निक्कै नै गंभीर भएको गीतकार कुइँकेलको ठहर छ।
स्वास्थ्यकै कुरा गर्दा स्वस्थ रहन डाक्टरहरु दैनिक ३ देखि ४ लिटर पानी पिउनुपर्छ र दैनिक कम्तिमा ३ लिटर पिसाब गर्नुपर्छ भन्छन्। घरमा बसिरहनेलाई त यो सजिलै होला, तर काम विशेषले बाहिर गैराख्नुपर्ने पैदल यात्री, सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रीहरुलाई भने यो सहज हुदैन् ।
र अझ सुगर, प्रोस्टेट र पिसाब सम्बन्धी रोग भएकाहरूलाई भने यो त अत्यन्तै पीडादायक र कष्टकर नै हुने गरेको यथार्थता खुलासा गर्दै गीतकार कुइँकेल सवैतिर कम्तिमा एक किलोमिटर भित्र सार्वजनिक शौचालयको आवश्यकता भएको औल्याउंछन्।
यस विषयमा चार बर्षअघि नामी साप्ताहिक मार्फत नै गीतकार कुइँकेलले तत्कालिन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत सवै मेयरहरुलाई इंगित गरेर मेयर साव ! पहिला पिसाव फेर्न दिनुस्–पछि गोली ठोक्नुस् भनेर सार्वजनिक रुपमा खवरदारी गरेर सचेत गराउने कार्य भएको थियो ।
त्यो बेला काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर शाक्यले सकारात्मक रुपमा लिएका थिए । त्यसलाई कार्यन्वयन गर्ने बचन पनि नामी साप्ताहिकलाई दिएका थिए ।
मेयर शाक्यको कार्यकालभरि यस संवन्धमा वर्कआउट हुदैगर्दा पदावधि सकेपनि काठमाडौं महानगरका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने उपयुक्त वातावरण वनाउने योजनामा थियो।
महानगरको शहरी योजना आयोगले पाइलट प्रोजेक्टको रुपमा तत्कालिन मेयर शाक्यले राखेको यो कार्यलाई वर्तमान मेयर बालेन साहले कार्यन्वयन गरेकोमा गीतकार कुइँकेलले दिल खोलेर तारिफ गरेका छन् ।
काठमाडौं महानगरपालिका आफैले प्रत्येक एक किलोमिटरमा सार्वजनिक शौचालय वनाउन नसकेपनि होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा मात्र नभइकन निःशुल्क शौचालयको रुपमा प्रयोग गर्न पाउने वातावरण मिलाएकोमा मेयर साहलाई धन्यवाद दिने कार्य गीतकार कुइँकेलवाट भएको छ ।

त्यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो दोश्रो कार्यकाल शुरुभएको बर्षवाट नै ललितपुर महानगरका प्रत्येक वडामा सार्वजनिक शौचालय स्थापना गर्ने र अझ प्रत्येक एक किलोमिटरमा सार्वजनिक शौचालय स्थापना गर्ने नीति र कार्यक्रममा राखेर पाटन दरवार स्क्वायरवाट शुरु गरेकोमा गीतकार कुइँकेलले आभार समेत व्यक्त गरेका छन्।
सुगर, प्रोस्टेट र पिसाव संवन्धी रोगीहरुलाई बारम्बार पिसाब गरिरहनु पर्नेहुन्छ। एकछिन पनि पिसाब च्यापेर बस्न सक्तैनन् र पालो कुर्न पनि सक्तैनन्।
पानी नखाउँ–स्वास्थ्य बिग्रिन्छ। पानी खाउँ–पिसाव गर्ने शौचालय नभएको काठमाडौं महानगरको समस्यामा यो बर्षवाट केही हदसम्म भएपनि समाधान भएतापनि दीर्घकालिन रुपमा ललितपुर महानगरले जस्तै काठमाडौं महानगरपालिकाले पनि प्रत्येक एक किलोमिटरमा सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक भएको जिकिर गर्छन्।
नेपालमा केही बर्षयता सुगर, प्रोस्टेट र पिसाब सम्बन्धी रोग लागेकाहरुको संख्या दिनदिनै बढ्दैछ। उनीहरू काम विशेषले बाहिर जाँदा दिनभरमा कम्तीमा १० पटक पिसाब गर्छन् ।
सार्वजनिक शौचालय पाइएकै खण्डमा पनि एकपल्ट पिसाब गरेको रु.५ तिर्दा दिनको रु.५० तिर्नुपर्ने हुन्छ। यो सधैं सम्भव नहुने भएको कारण पिसाव फेर्दा सकभर निःशुल्क नै गर्न र गराउनुपर्ने तथा नभएमा अत्यन्त न्यूनशुल्क मात्र कायम गर्नुपर्ने सल्लाह पनि गीतकार कुइँकेलको छ ।
फेरि पिसाब च्यापेर धेरै बेर बस्दा किड्नीको समस्या शुरु हुने डाक्टरहरुको भनाई रहेको छ। यसले गर्दा पनि पिसाव फेर्नै पर्दछ। पुरुषहरुलाई त यस्तो समस्या हुन्छ भने, सोही रोगका रोगी महिलाहरुलाई अझ धेरै कठिनाइ हुने गर्दछ।
महिलाहरुको प्रसुति पीडा जस्तै अत्यन्त पीडादायक पिसाव समस्यालाई ध्यान दिएर सवै पालिकाहरुले निःशुल्क सार्वजनिक शौचालयको व्यवस्था गर्न र गराउन आफ्ना नीति तथा कार्यक्रममा राख्नुपर्ने कुरामा गीतकार कुइँकेल जोड दिन्छन्।
सदनमा समेत सार्वजनिक शौचालयको सवाल
नेपालमा शहरीकरण व्यापक भएतापनि सार्वजनिक शौचालयको अभाव संघीय नेपालको राजधानी काठमाडौंमा नै व्यापक अभाव भएको छ। काठमाडौं महानगरमा सार्वजनिक शौचालय नहुंदा धेरैलाई यसले समस्या पारेको छ ।
मधुमेह तथा किड्नीका विरामीलाई त यसले आपत नै पार्ने गरेको छ। सार्वजनिक शौचालय निर्माण गर्ने र त्यसलाई व्यवस्थित रुपमा संचालन गर्ने अनेक नारा तथा विश्वास आएतापनि व्यवहारमा नआएपछि चार बर्षअघि मिति २०७६ साल माघ १७ गते नै त्यसको व्यापक आवाज प्रतिनिधिसभाको शुन्य समयमा पनि उठेको थियो ।
त्यसदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की तत्कालिन प्रतिनिधि सभा सांसद आशाकुमारी विकले काठमाडौं महानगरभित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय रहेको तर, ती मध्ये मुस्किलले २० वटा मात्र प्रयोगमा आएको बताउँदै सार्वजनिक शौचालय नहुँदा महानगरवासीहरुलाई गाह्रो भएको बताएकी थिइन् ।
संघीय राजधानी काठमाडौंमै पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नभएको र भएका पनि प्रयोग नभएको भन्दै महानगरमा यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता रहेको पीडा सांसद विकले त्यो बेला ओकलेकी थिइन् ।
सरकारले सबैलाई सहज हुनेगरी सार्वजनिक शौचालयको व्यवस्था गरोस् भनेर सामाजिक अभियन्ता तथा गीतकार प्रकाश कुइँकेलले जस्तै सांसद विकले जोडदार माग गरेकी थिइन्।
चार बर्षअघि प्रतिनिधिसभाको संसदको शुन्य समयमा समेत काठमाडौं महानगरपालिकामा सार्वजनिक शौचालयको आवश्यकताको विषयमा आवाज बुलन्द गराउन सफल गीतकार कुइँकेलको मेयर साव ! पहिला पिसाव फेर्न दिनुस्–पछि गोली ठोक्नुस् भन्ने सार्वजनिक आवाजले यतिखेर केही रुपमा भएपनि साकारता पाएको छ।
त्यस्तै सार्वजनिक सवालको विषयमा काठमाडौं महानगरपालिकामा पार्किङको समस्या चर्केर आएको छ। जथाभावी पार्किङको कारण महानगरमा सवारी जाम लगायतको समस्या बढेपछि बौद्ध, बागबजार, दरबारमार्ग लगायतका स्थानहरुमा पार्किङ हटाउदा सवारी जाम लगायतका ट्राफिक समस्यामा न्यूनिकरण भएको छ। जुन सुखद पक्ष हो ।
विकल्प विना त्यसरी पार्किङ हटाउदा व्यापारिक रुपमा ती स्थानमा किनमेल गर्न जान समस्या भएको छ। आर्थिक मन्दीको बेला त्यहाँ रहेको पसले व्यापारीहरुको व्यापारलाई सुकाइदिएको छ ।
पार्किङ हटाएका स्थानमा विकल्प सहितको पार्किङको व्यवस्था गर्न र गराउन आवश्यक भएको सल्लाह पनि गीतकार कुइँकेलको छ।
ललितपुर महानगरपालिकाले पुलचौक, मानभवन, कुमारीपाटी, पाटन अस्पताल वरपर व्यवस्थित रुपमा निःशुल्क पार्किङको व्यवस्था गरेर मेयर चिरिबाबु महर्जनले वाहवाही पाएजस्तो काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि त्यस्तै कार्यको सिको गरेर वाहवाही लिनुपर्ने धारणा पनि गीतकार कुइँकेलको छ ।
नेपाललाई परनिर्भरतामा ल्याउने कार्य दक्ष नेपाली राजनेताहरुको अभाव भएको कारण हो भनेर भन्ने गीतकार कुइँकेल यसो हुनुमा नेताहरुको लम्पसार प्रवृति जिम्मेवार रहेको लम्पसार प्रवृतिलाई त्यागेर स्वाभिमान देखाउनुपर्ने भन्छन्।
नेपाली नागरिकता विद्येयक संवन्धमा नागरिकता सवाल अत्यन्त संवेदनशील भएको कारण हचुवाको रुपमा यसलाई लिइनु नहुने तथा विदेशी ज्वाइ र बुहारीको संवन्धमा भारतले जस्तै कम्तिमा ७ बर्षको प्रावधान राख्नुपर्ने सल्लाह पनि कुइँकेलको छ।
अर्को हरिभक्त कटुवाल नै मानिएका वरिष्ठ गीतकार प्रकाश कुईकेलका सयौं कालजयी गीतहरु छन् । रंगियो सिउँदो रातै भएर... कर्णदासको आवाज, छातीभरी ढुकढुकी... टीका भण्डारीको आवाज, वरिपरि तारा माझ, तिमी जुन... र बगर भयो जीन्दगी ...मा स्वरुपराज आचार्यको आवाज छन् भने नलाउ आँखा चौवन्दी चोलीमा...सपनाश्री र यम बरालको आवाज, मुटुमा तीर चलाएर...कुन्ती मोक्तानको आवाज र कलेजीमा राख्दा... नारायण श्रेष्ठको आवाजमा लगायत गुञ्जिएका कैयन कालजयी गीतहरु छन्।
-नामी साप्ताहिक