(सचिव-वर्ल्ड नेवा अर्गनाइजेशन यु.एस.ए.) - श्रुणुती सिंह
वर्ल्ड बैकको तथ्यांक अनुसार सन् २०२० मा नेपालीको औसत आयु ६९ वर्ष रहेको छ । यदि तपाईलाई कोहि व्यक्ति झण्डै शताब्दी बर्ष बाँचेको छ भन्दा कस्तो अनुभव हुन्छ ?
त्यसमाथी बिगत ७७ वर्षदेखि आर्थिकोपार्जन पनि गर्दै आएका ती व्यक्ति एक महिला हुन् भन्दा भित्रि मनवाटै श्रद्धा जाग्दछ र उनको बारेमा जान्न र बुझ्न अवश्य पनि मन लाग्दछ।
आजभन्दा ३० वर्ष अगाडिमात्रको नेपाल अझै काठमाण्डौंलाई नियालेर हेर्ने हो भने अहिलेभन्दा निक्कै भिन्न र पृथक देखिन्थ्यो। सामान्य जीवनयापन, मौलिक कलासंस्कृतीले परिचित काठमाण्डौको छुट्टै परिभाषा थियो ।
नेवाः समुदायको बाहुल्यता रहेको नेपाल मण्डलमा नेवाः संस्कृतीहरुको हावी थियो । यस मण्डलमा बसोबास गर्ने गैह्र नेवाहरुले पनि कतिपय नेवाः चालचलनलाई मान्ने गर्दथे ।
वर्तमान समयमा हेर्ने हो भने हाम्रा ती मौलिकताहरुमा धेरै फरकपन आईरहेको छ भने कतिपय रीतिरिवाज चलनहरु हराउँदै गएका छन्। यसैगरी हराउने अवस्थामा पुगेको तर काठमाण्डौं मण्डलको सभ्यताको अभिन्न रुपमा अनन्तः कालदेखि चल्दै आएको “अजिप्रथा” लाई यहाँ प्रस्तुत गर्न खोजिएको छ।
सामान्यतया नेवाः समुदायमा हजुरआमालाई अजि भन्ने चलन छ । तर, नेवाः समुदायमा चिकित्सकको रुपमा काम गर्दै आएका महिलाहरुलाई पनि सम्मानपूर्वक अजिको रुपमा सम्बोधन गरिन्छ ।
नेवाः सभ्यतासम्वन्धि विशेष दख्खल राख्नुहुने नेवाः तन्त्रका अनुसन्धानकर्ता श्री बासव जुजु राजोपाध्यायका अनुसार अजिप्रथा आयुर्वेद चिकित्सासँग जोडिएर आएको छ र आदिकालदेखि समाजभित्र सहज रुपमा उपलब्ध हुँदैं आएको अपरिहार्य उपचार व्यवस्था हो।
ऋग्वेदमा उल्लेख भए अनुसार सृष्टिको उद्गमदेखिनै आयुर्वेद चिकित्साको प्रयोग भएको पाईन्छ । आयुर्वेद चिकित्साका आविष्कारक अश्विनी कुमारले ईन्द्र भगवानलाई यस चिकित्साबारे सिकाएको र ईन्द्र भगवानले आयुर्वेदका देवता धन्वन्तरीलाई सिकाएको कुरा उल्लेख छ ।
अजिप्रथा आयुर्वेद चिकित्साको अष्टांगतन्त्रमध्ये पाँचौ अर्थात् कौमारभृत्य तन्त्र अन्तर्गत पर्दछ । कौमारभृत्य तन्त्र काश्यप संहिता ग्रन्थमा आधारित छ।
यस तन्त्रभित्र आमाको गर्भको बच्चादेखि १६ वर्ष उमेर सम्मको बालबालिकाको समस्या जस्तै गर्भ सम्बन्धि, गर्भिणी सम्बन्धि, प्रसव सम्बन्धि, बालरोग सम्बन्धि, आहारजन्य बिकार सम्बन्धि (बच्चाहरुले दुध नखाने), शारीरिक बिकार सम्बन्धि लगायत गृहजन्य बिकार सम्बन्धि उपचार विधिहरुको वर्णन भएको पाईन्छ ।
जसरी धन्वन्तरीले कफ, वाथ र पित्तको दोषलाई नाडी छामेर (पल्स डाइग्नोसिस) उपचार गर्दथे, अजिहरुले पनि नाडी विज्ञानमै आधारित रहि अजिहरुमा अन्तरनिहित प्राकृतिक दैवि शक्तिद्धारा उपचार गर्ने गरिन्छ ।
अजिहरुले सूर्य, वायु, जल तथा पृथ्वीको शक्तिलाई आपूmले क्रियाशिल गराउन बिशेष मन्त्र साधनाको प्रयोग गरि बिरामीहरुको रोमछिद्र तथा औरा (आभामण्डल) को माध्यमवाट प्रसारण गर्ने गर्दछ ।
यसका लागि बिरामीलाई फुक्ने र कुच्चोले झार्ने बिधि प्रयोग गर्ने गरिन्छ । शरीरको आभामण्डल बिग्रेका कारण बिरामी भएकाहरुको उपचारको लागि बत्तिको प्रयोग गर्ने गरिन्छ ।
यस विधिलाई अग्निचिकित्सा पद्धति (फायर ट्रिटमेण्ट) भनिन्छ । प्राचिन चीन, तिब्बत, श्रीलंका आदि देशहरुमा नकारात्मक बिचारहरुलाई हटाउन प्राणिक हिलिंगलाई प्रयोग गर्दै आएका छन् ।
यसले रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गर्दछ। अजिहरुको उपचार विधिहरुमध्ये प्राणिक हिलिंग पनि रहेकोले अजिलाई प्राणिक हिलरको रुपमा पनि व्याख्या गर्न सकिन्छ ।
विभिन्न अध्ययन अनुसार उहिले उहिले राजपरिवारका सदस्यहरु बिरामी पर्दा राजबैद्यहरुद्धारा उपचार गरिन्थ्यो । राजबैद्यहरु पुरुष भएका कारणले रानी महारानीहरु बिरामी हुँदा नाडी छामेर उपचार गर्न बर्जित थियो ।
यस अवस्थामा अजिहरुद्धारानै रानीहरुको उपचार गराउने गर्दथे । तसर्थ अजिहरु राजबैद्य पनि हुन् भन्दा फरक नपर्ने कुरा बासव जुजु भन्छन्।

अजि तिर्थमाया डंगोलसँग कुराकानी गरि अजि प्रथा सम्वन्धि प्राप्त जानकारीहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
१९९० सालमा ९ बर्ष पुगेको बताउनुहुने अजि तिर्थमाया डंगोलको जन्म काठमाण्डौंको ओमबहाल टोलमा बुबा सानु महर्जन तथा आमा चनमाया महर्जनको कोखमा भएको थियो ।
बिबाह पश्चात टेःबहालमा बस्दै आउनु भएका अजि तिर्थमायाले ७७ बर्ष अगाडि आफ्नो पहिलो सन्तानको जन्म संगै यस काम थालेको बताउँछन्। अजि तिर्थमायाका हजुरआमा आज्ञामती महर्जन तथा आमा चनमाया महर्जन तत्कालिन समयका प्रसिद्ध अजिहरुमा गनिन्थ्यो र उनले आफ्नै हजुरआमा तथा आमावाटै यस कार्यको लागि आवश्यक तालिम तथा विद्या प्राप्त गरेको थियो ।
उनको परिवार भित्र आफू १४ औं अजि भएको उनी बताउँछन्। अजिहरुले बिरामीहरुको उपचार गर्ने शैली आधुनिक चिकित्सा विज्ञानभन्दा फरक छ। यस कार्यको लागि बिशेष किसिमको मन्त्र अजिवाटै प्राप्त गर्नुपर्दछ ।
ग्रहण लागेको बेला बिशेष साधनाका साथ निपुण अजिले नयाँ अजिलाई बिशेष मन्त्र प्रदान गरे पश्चात् मात्र अजिको रुपमा काम थालनी गर्न सक्दछ। तर मन्त्र प्राप्ति पछि अजिमा स्वतः दैविय शक्ति प्राप्त हुने भने पक्कै होईन ।
मन्त्रका साथै नियममा बसेर नियमित पूजापाठ गरी अजि कार्यलाई सत्यतापूर्वक गर्दै जानुपर्ने हुन्छ । लामो समयसम्मको अथक प्रयास र साधनासंगै अजिहरुको दैविय शक्तिमा बृद्धि हुँदै जान्छ।
कसैले हेलचक्राइँ र छलकपट गरी अजि काम गर्दछ भने बिरामीलाई खासै लाभ नहुने हुनाले ईमान्दार, सत्यवादी र सहनशील व्यक्तिहरु मात्र सहि तरिकाले अजिको रुपमा स्थापित हुनसक्दछ । अजि सम्वन्धि अध्ययन औपचारिक शिक्षाविधिवाट नभई अनौपचारिक तथा प्रयोगात्मक तान्त्रिक विधिबाट गरिन्छ ।
अजिहरुले सम्भावित अजिहरुलाई आफूसंगै लगेर बर्षौं लगाएर अजिको काम सिकाउने गर्दछन् । बर्षौसम्मको तालिममा कामको सम्बेदनशीलता, जटिलता, आवश्यक कार्यकुशलता प्राप्त गर्ने हुनाले औपचारिक अध्ययन नभएतापनि त्यो बेलाका अजिहरु समय सापेक्ष रुपमा सक्षम र जिम्मेवार रहेको र समाजका सम्पुर्ण व्यक्तिहरु अजिको कार्यप्रति विश्वस्त रहेको अनुभव अजि तिर्थमाया बताउँछन् ।
तत्कालिन समयमा अहिलेको जस्तो अस्पताल र चिकित्सकहरु नभएकोले अजिहरुले नै बिरामीहरुको उपचार गरिन्थ्यो र त्यतिखेर अजिहरुको संख्या पनि थुप्रै हुने गर्दथ्यो । हरेक अजिहरुको आ-आफ्नै कार्यक्षेत्र समेत निर्धारित हुन्थ्यो।

अजिहरुले उपचार गर्दा बिरामीलाई शान्त वातावरणमा राखी बुढी औला र चोर औलाले एक चिम्टी खरानी लिई नाडी छामेर ह्दयको गतिसंगै बिरामीको अवस्था जाँच्दछन् ।
विभिन्न दोषहरुका कारण शरीरका विभिन्न अंगहरुमा दुख्ने हुन्छ। प्रायशः दोबाटो, भुतप्रेत, देवीदेवता, नाग, अकालमा मृत्यु भएका पितृआत्मा आदिका कारण मानिसहरु बिरामी हुने कुरा अजि तिर्थमाया बताउँछन्।
दोषको प्रकृति अनुसार त्यसको निवारणको लागि फरक फरक किसिमको पूजा गर्नुपर्ने हुन्छ । ती पूजा विधिहरुमा “बौ तयेगु”, “पुइँ हायेगु”, “जाकि होलेगु”, “कल वनेगु” आदि पर्दछ । १२ बर्ष सम्मका केटाकेटीहरुको सन्चोको लागि हारतीमातालाई फलफुल चढाईन्छ । यस पूजालाई “सिसापुसा होलेगु” र “कल वनेगु” भन्ने गरिन्छ ।
स-साना बालकालिकाहरुलाई रुन्चे लागेको बेला अजिले फुकेपछि (झारे यायेगु) सजिलै निको हुने गर्दछ । त्यसैगरी कुनै व्यक्तिको अकालमा मृत्यु भएको छ भने ती व्यक्तिको आत्मा भड्किने हुन्छ ।
यस्तो अदृश्य रुपमा भड्केको आत्मा (जसलाई काँचो वायु पनि भनिन्छ) संग सम्पर्कमा आउँदा मानिसहरु बिरामी हुने गर्दछ र यसबाट मुक्तिको लागि “बौ तयेगु” गरिन्छ । नागको दोषवाट छुटाउन “पुँई हायेगु” गरिन्छ ।
यी दोषहरुका कारण प्रायजसो बिरामीको टाउको, पेट, ढाड, हातखुट्टा जस्ता अंगहरु दुख्ने गर्दछ । ती दुखेका अंगहरुको उपचारको लागि अजिले आफ्ना दुबै आँखा बन्द गरी ध्यान मुद्रामा गई नाडी छामेर दोष पत्ता लगाउने गर्दछ।
केहि समयको नाडी जाँचसंगै ध्यान मुद्रामै बिशेष मन्त्रको पाठ गरी निधारमा खरानीको टिका लगाई निधारमा समाई मन्द तर लामो श्वासले फुक्ने गर्छन।
यसपश्चात् चामल हातमा लिई पहिले बिरामीको टाउकोमा छुवाउने, त्यसपछि दुइटै कुम, नाभि, दुइटै घुंडामा छुवाई उक्त चामललाई बाहिर लगि छरिदिने गर्दछ। यसले गर्दा बिरामीको शरीरभित्र रहेको नकारात्मक उर्जा निस्किने हुनाले बिरामीले तुरुन्तै आरामको महशुश गर्दछ।
साथै शरीरको जुन अंगमा दुखेको हो, त्यस अंगमा छोएर मन्त्रको पाठ गरी फुकिदिने गर्दछ । अजिले आफूभित्र रहेको सकारात्क उर्जाशक्ति स्पर्शद्धारा बिरामीलाई प्रवाह गरिदिने हुनाले बिरामीले आरामका साथै आफ्ना
भित्र छुट्टै उर्जा शक्तिको महशुस गर्दछ। बिरामीहरुको अवस्था अनुसार १ दिनदेखि ७ दिनसम्म अजिबाट झारफुक गर्ने गरिन्छ। उपचार गरेवापत खाली हात गर्नुहुदैन भन्ने मान्यता रहेकोले आफ्नाे क्षमता अनुरुप बिरामीहरुले रुपैया पैसा हातमा राखिदिने र अजिले त्यसलाई ढोगेर स्वीकार्ने चलन छ ।
अजिहरुले बिरामीलाई मनौबैज्ञानिक उपचार अर्थात् साईकोलजिकल ट्रिटमेन्ट पनि गर्ने हुनाले अजिलाई हिलर अथवा साईकोथेरापिष्ट पनि भन्न सकिन्छ।
यसैगरी अजिहरुलाई मिडवाइफको रुपमा पनि चिनाउन सकिन्छ कारण अजिहरुले गर्भवति महिलाहरुको जाँच गरि आमा तथा बच्चाको अवस्थावारे जानकारी गराउने गर्दछ । साथै बच्चा जन्मने बेला अजिले सहयोग गर्ने गर्दछ। बच्चा जन्मने बित्तिकै नवजात शिशु तथा आमाको सरसफाई तथा स्याहार गर्ने काम पनि अजिले नै गर्ने गर्दछ।
नेवाः समुदायमा आमाको सुरक्षाको लागि बाह्य व्यक्तिहरुवाट टाढा राख्न, आमाको घाउ सन्चो हुन र जीउलाई यथेष्ट आराम मिलोस भनेर अन्य कामहरुवाट टाढा राख्न १० दिनसम्म बार्ने (अर्थात् क्वारेन्टाइन गर्ने) चलन छ। १० औं दिनमा चोख्याउने अर्थात् ब्यंकेगु गर्ने गरिन्छ।
त्यस दिन घरपरिवारका जिम्मेवार व्यक्तिहरुलाई नवजात शिशु र आमालाई कसरी स्याहार गर्ने भन्ने ज्ञान दिन सवैलाई अगाडी राखी बच्चालाई नुहाई दिएर घाममा राखी बिशेष रुपमा तयार गरेको तोरीको तेलले मसाज गरीदिने र गाजल बनाई लगाईदिने गर्दछ।
साथै आमालाई पनि शरीर भरी तेल लगाईदिने गरिन्छ । यसदिन पश्चात् हरेक दिन बिहान बेलुका आमा तथा बच्चालाई तेल लगाईदिनुपर्ने अनिवार्य जिम्मा घरपरिवारलाई दिने चलन नेवाः समुदायमा छ ।
तोरीको तेलमा भिटामिन ई पाईन्छ। यसको प्रयोगले नवजात शिशुको कलिलो छालालाई ज्यादै फाईदा पुर्याउँछ । मसाजले बच्चाको शरीरलाई आवश्यक कसरत पुग्ने, पाचन प्रकियालाई सहयोग पुग्ने, जिउमा तातो मिल्ने तथा स्पर्शले बच्चालाई सुरक्षित महशुश गराउने फाईदाहरु रहेका छन् ।
तेल मसाजले आमालाई शरीरमा फुर्ति प्राप्त हुन मद्धत पुग्दछ । साथै सुत्केरीमा आमालाई चाकु, मासु भात खुवाउने, शरीरलाई बलियो बनाउन सुत्केरी औषधी “क्वाति वासः” खुवाउने तथा पाचन प्रणालीको लागि पाचक “पाचः” घरमै बनाएर खुवाउने गर्दछ।
आफन्त र टोलछिमेकले पनि सुत्केरीलाई अनिवार्य रुपमा खाना खुवाउने चलन छ । सुत्केरिमा गरिने सहयोग र स्याहारले आमालाई आफ्नाेपन महशुश गर्न सहयोग गरेको हुन्छ ।
बास्तविक रुपमा नेवाः समुदायले एक महिनासम्म आमालाई तेल लगाई बिशेष खाना खुवाएर गरिने सुत्केरी स्याहारको व्यवस्था आजका नेपाली महिलाहरुको आवश्यकता र ईच्छा त बनेको छ, तर प्राप्त हुने वातावरण भने हराईसकेको छ।
अजिहरुले गर्दै आएको उपचार बिधि बृहत र प्रभावशाली छ। यसै प्रभावका कारण अजिहरुको काम नेवाः समुदायमा मात्र सिमित नरहि काठमाण्डौं उपत्यकामा बसोबास गर्ने पहाडी, मधेसी, भारतीय नागरिक, मुसलमान आदि समुदायहरुले पनि अजिहरुलाई नै प्रयोग गर्ने गर्दथे।
तर, बर्तमान परिस्थितिमा गर्भवती तथा शिशुहरुको उपचार डाक्टर र अस्पतालले गर्ने गरेकोले अजिहरुको भुमिका न्यूनः हुँदै गएका छन्।
न्वारान गर्ने चलन त यथावत छ तर अजिहरुको अभावमा अजिमान्ने चलन पनि करिव करिव हराई नै सकेको छ। अजि बिना नै घरपरिवारले आफनाे चलन अनुरुप न्वारान गर्न थालेका छन्। कतिपय परिवारमा अजिका उपस्थिति नभएतापनि अजिको सम्मान स्वरुप भाग छुट्याउने चलन यद्यपि छँदैछ ।
आमाहरुलाई तेल लगाईदिने चलन भने केहि मात्रामा देखिन्छ । बच्चालाई तेल लगाईदिने चलन त अझै छ तर पहिलेको जस्तो पद्धतिवद्ध भने छैन। ९८ वर्ष पुरा भएका काठमाण्डौंको टेःबहालमा बसोबास गर्नुहुने आदरणीय अजि श्री तिर्थमाया डंगोललाई यहाँ प्रस्तुत गर्न पाउनुमा म आफूलाई भाग्यमानी ठान्दछु। उहाँलाई भेट्दा छुट्टै किसिमको अनुभूति हुन्छ।
उहाँको अनुहारमा न त कुनै शक्तिको कमी देखिन्छ न त जीवनका कुनै कुरालाई लिएर उनी निराश नै छन्। बिना चस्मानै सियोमा धागो लगाउन सक्ने अनि सवैजनालाई स्मरण गर्न सक्ने अजिको शारीरिक, मानसिक तथा बौद्धिक शक्ति देख्दा उनी एकदम फरक व्यक्ति नै हुन् भन्ने आभाष हुन्छ ।
उनलाई भेट्ने जोकोहीलाई पनि उहाँमा दैवी शक्ति रहेको अनुभव हुन्छ । कतिपय बिरामीहरुले त उहाँको स्थानमा जाने बित्तिकै सन्चो भएको अनुभवहरु प्नि सुन्नमा आउँदछ ।
७७ वर्षसम्मको कार्यकालमा उनले हजारौं बिरामीहरुको उपचार गराई सक्नुभएको छ र अझै गर्दै आएको छ । साथै हजारौंको संख्यामा शिशुहरुको जन्म (डेलिभरी कार्यमा) सघाउनु भएका छन् । बिबाह पश्चात् संयुक्त परिवारमा बस्नुभएका तथा सात सन्तानका आमा समेत रहनु भएका अजि तिर्थमायालाई यस काम गर्न कतैवाट रोकटोक भएन।
बरु उनको कार्यले उनलाई सम्मान दिने र उनको आर्जनले पनि परिवारमा सहयोग पुग्नुको साथै समाजमा उनकै कारणले परिवार सवैलाई नै फरक रुपमा मानसम्मान गर्ने गरेकोले उनलाई त्यस बखत् पनि काम गर्न सजिलो भएको उनी बताउँछन्।
यसबाट तत्कालिन नेवाः समुदायमा मातृस्याहारलाई दिएको उच्चतम महत्वलाई बुझ्न सकिन्छ । महिलाहरुलाई पनि काम गर्ने र आर्जन गर्ने छुट नेवाः समुदायमा रहँदै आएको पुष्टि यसवाट हुन्छ ।
नेवा सभ्यताको एउटा महत्वपूर्ण एवं गरिमामय कार्य गर्दै नेवा तथा गैह् नेवा समुदायलाई सहयोग पुर्याउंदै आउनुभएका अजि हामी सवैका आदरणीय अभिभावक हुन् ।
उनी नेवाः सभ्यताको एउटा जिउंदो इतिहास नै हुन्। बैज्ञानिक रुपमा पनि उल्लेखनीय मानिएको नेवाः समुदायको चलन र यस चलनका धरोहर अजिहरुको महत्वलाई प्रतिदिन बिर्संदै गएका छन् ।
आधुनिक उपचारको उदय हुनुभन्दा पनि निक्कै पहिलेवाट चल्दै आएको नेवाः सभ्यताको अभिन्न अंग बनेको अजिप्रथा लोप हुनवाट जोगाउनु सबैको कर्तव्य हो।
यसको लागी हालसम्म कुन कुन ठाँउमा अजिहरु छन् त्यसको अनुसन्धान गरी ती अजिहरुको संरक्षण गरिनु पर्दछ । आशा छः यस लेखले नेवाः समुदायवाट विलाउन लागेको एउटा उल्लेखनीय ईतिहासलाई जोगाउन मद्धत पुग्दछ ।
यो कार्यलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न प्रोत्साहन गर्ने र अजि कार्यको प्रचार प्रसार तथा संरक्षण गरी यसको समुन्नतिको लागि आवश्यक वातावरण सृजना गर्न राज्यस्तरवाट नै संरक्षणको लागि यसै लेख मार्पmत् बिशेष आग्रह गर्दछु।
(यस बिषयमा अमुल्य जानकारी दिनुभएकोमा आदरणीय अजि तिर्थमाया डंगोल उहाँका सुपुत्री मन्जु डंगोल तथा नेवाः तन्त्रका अनुसन्धानकर्ता श्री बासव जुजु राजोपाध्याय प्रति हार्दिक आभार व्यक्त गर्दछु ।)
(नामी साप्ताहिकवाट साभार)
अनि याे पनि :
नामी साप्ताहिक