म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गमक्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ।
वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको हो।
गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५ मल्कवाङमा जनप्रतिनिध र कर्मचारी पुगेर योजना सम्झौता सम्बन्धित सेवा दिएका छन् ।
मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा ३ दिन लाग्ने गर्छ। वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा ३ जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ।
उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटेको हो।
सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरि पेश्की उपलब्ध गराउने ब्यवस्था मिलाइएको हो।
प्राविधिक टोलीले यसअघि नै योजनाको लागत अनुमान र डिजाइन तयार पार्ने तथा उपभोक्ता समिति गठन भएको छ।आवश्यकता र मागको आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जाने गाउँपालिको जनाएको छ ।
योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिइएको छ।
यस वर्ष धवलागिरी गाउँपालिकाले १ सय १६ वटा योजना कार्यान्वयन गर्दैछ्। ठूला योजना ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तिब्रता दिएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १५:४८