काठमाडौं। आमनागरिकमा क्यान्सरसम्बन्धी सचेतना फैलाउने उद्देश्यले ‘पिंक प्रमिस-आशाको आवाज’ कार्यक्रम सञ्चालन गरिएको छ।
'क्यान्सर अन्त्यको आशा केवल उपचारमा होइन, समयमै पहिचान, सही जानकारी, साथ र आत्मविश्वास' मा आधारित कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं २२ को सहयोगमा, (Non-Cancer Individuals) आशाको आवाजद्वारा कार्तिक १४ गते (३१ अक्टोबर) मा भएको थियो ।
यस कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर फाइटर तथा क्यान्सर सर्भाइभरहरूलाई आत्मबल प्रदान गर्नुका साथै क्यान्सर नभएका व्यक्तिहरूमा समेत यस रोगबारे सही जानकारी र सचेतना फैलाउनु हो ।

कार्यक्रम समाराेहमा विशिष्ट क्यान्सर राेग विज्ञहरुले क्यान्सरविरुद्धको संघर्षमा रहेका व्यक्तिहरूलाई हौसला प्रदान गर्ने, क्यान्सरको जोखिम पहिचान, समयमै परीक्षण र उचित उपचारको महत्त्वबारे जानकारी दिइएको थियो।
कार्यक्रममा वरिष्ठ चिकित्सकहरू डा कपेन्द्र शेखर अमात्य, डा बिजेश राज घिमिरे, डा राजेन्द्रप्रसाद बराल र डा हरिहर ओस्तीले क्यान्सरसम्बन्धी आफ्नो अनुभव, ज्ञान र महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।

त्यसैगरी काठमाडौं महानगरपालिका २२ वडाका अध्यक्ष चिनीकाजी महर्जनले क्यान्सर सचेतनाको आवश्यकता औंल्याउँदै अभियानप्रति ऐक्यबद्धता र हौसला व्यक्त गरेका थिए।
कार्यक्रमकी अवधारणाकार तथा आयोजक नायिका एवं मोडल क्षितिजा शाक्यले आफ्नै क्यान्सर यात्राबाट प्राप्त अनुभव, संघर्ष र आत्मविश्वासलाई प्रेरणाको स्रोत बनाउँदै सहभागीहरूलाई सकारात्मक सन्देश दिएकी थिइन्।
आयोजक नायिका एवं मोडल क्षितिजा शाक्यले व्यक्तिगत पीडालाई सामाजिक सचेतना र अरूलाई प्रेरित गर्ने अभियानमा रूपान्तरण गर्ने यो महत्वपूर्ण पक्ष रहेको बताएकी थिइन्।

कार्यक्रममा सहभागीहरूको जिज्ञासा, चिकित्सकहरूको अनुभव र अन्तरक्रियाले निर्धारित समयभन्दा लामो समयसम्म पनि कार्यक्रमलाई जीवन्त बनाएको आयोजकले जनाएको छ।
‘पिंक प्रमिस–आशाको आवाज’ केवल एउटा सचेतना कार्यक्रम मात्र नभई क्यान्सरसँग जुधिरहेका व्यक्तिहरूको मनोबल बढाउने, सर्भाइभरहरूको अनुभवलाई सम्मान गर्ने र समाजमा सही सूचना पुर्याउने साझा अभियानका रूपमा अघि बढेको छ।
आयोजित क्यान्सर सचेतना कार्यक्रम मौसमले पूर्ण रूपमा साथ नदिए पनि उपस्थित सबैको साथ, सहयोग, उत्साह र आत्मीयताले विशेष र सफल बनेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३ २२:१६