मेरा परिवारका सदस्यहरू विभिन्न सिर्जनात्मक काममा संलग्न हुँदै कोही कवि कोही कलाकारिता र कोही पत्रकारितामा लामो समयदेखि आबद्ध भएर केहीले त मृत्युवरण पनि गरिसकेका छन् । सायद त्यसैले होला हामी पनि पिता पुर्खाको बिँडो थाम्ने कार्यमा आजपर्यन्त लागिरहेका छौं ।
यसै सिलसिलामा आफू संलग्न हुँदै आएको पत्रिका बन्द भएपछि मैले लोकप्रिय पत्रिका 'नामी' साप्ताहिकमा धेरै योग्यता र क्षमता नभएपनि लेख्ने अवसर पाएँ । जुन म जस्तो एउटा सामान्य लेखक, पत्रकारका लागि अहोभाग्य नै हो ।
फेसबुकको मेसेन्जरमा 'नामी' साप्ताहिकका सम्पादक श्याम स्मृत सरसँग परिचय पहिले नै भएको नाताले मेरो एक दिन हाई हेल्लो आदानप्रदान भयो । त्यसपछि संवादको क्रममा उहाँले के गर्दै हुनुहुन्छ भनेर सोध्नुभयो । मैले आफूले काम गरिरहेको पत्रिका बन्द भएकोले आजकाल घरमै त्यत्तिकै बसिरहेको छु। भनेर जवाफ फर्काए ।
अनि मैले श्याम स्मृत सर 'नामी' साप्ताहिकको सम्पादक भएको कुरा थाहा पाएकोले लेख्ने अवसर पाइन्छ कि सर भनेर अनुरोध गरे।त्यसपछि उहाँले किन नपाउनु भोलि भेटौन भनेर मलाई बोलाउनुभयो । मलाई त ढुङ्गो खोज्दा देउता भेटे जस्तै लाग्यो । र म भोलिपल्ट कुनै एउटा बिरामी चिकित्सकलाई भेट्न गए जस्तै खुसी भएर नामी साप्ताहिकको कार्यालयमा पुगिहाले ।
उहाँले त्यतिबेला भनेको संवाद आजसम्म पनि याद छ मलाई । एउटा ढोका बन्द भएर केही फरक पर्दैन। तपाईंको लागि अर्को ढोका आजबाट खुल्यो । मलाई 'नामी' साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक नारायण राईसँग भेट्ने अवसर पनि त्यही जुरेको थियो ।
श्याम स्मृत सरलाई मात्र चिनेका कारणले नारायण राई सरले कस्तो प्रतिक्रिया मेरो बारेमा जनाउनुहोला भन्ने चिन्ताले पिरोली रहेको त्यो समयमा म नारायण राई सरको सकारात्मक र झन् मलाई ऊर्जा दिने किसिमको संवाद सुनेर हर्षित भए । संवादको क्रममा उहाँले एउटा आर्टिकल लेखेर श्याम सरलाई उपलब्ध गराइदिनुस् न भनेर भन्नुभएको थियो ।
पहिलो लेखको पाण्डुलिपि मैले श्याम स्मृत सरलाई पुल्चोक स्थित मेट लाइफ इन्सुरेन्सको कार्यालयमा उपलब्ध गराएको थिएँ । त्यसपछि निरन्तर रूपले नभए पनि बेलाबेलामा मेरा आर्टिकल, समाचार र केही कविताहरू 'नामी' साप्ताहिकमा क्रमश प्रकाशित हुँदै आए ।
'नामी' साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक नारायण राई सर र सम्पादक श्याम स्मृत सरले लगाएको बिर्सनै नसक्ने गुण मैले यो लेखमा अभिव्यक्त गरिन भने मलाई पाप लाग्छ त्यो के भने मलाई उहाँहरुले यस पत्रिकामा विशेष संवाददाताको रूपमा काम गर्ने अवसर दिनुभयो ।
अन्त्यमा नारायण राई सर र श्याम स्मृत सरलाई हृदयबाट नै धन्यवाद भन्दै म 'नामी' साप्ताहिक तेह्रौँ वर्षमा प्रवेश गरेकोमा मनैबाट बधाई तथा शुभकामना दिँदै यस पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३ २१:१९