समसामयिक विषयमा कलम चलाउने मन भएका कारण सर्वप्रथम सामान्य चिनजानसँगै आफूले पनि 'नामी' साप्ताहिकमा केही लेख्ने अनुमति मागे। त्यसपछि 'नामी' साप्ताहिकका प्रधान सम्पादक श्रीनारायण राई सरले मैले लेखेको पहिलो लेखलाई राम्रो छ भनेर गर्नुभएको प्रोत्साहन नै 'नामी'सँगको आत्मियता र निरन्तरता अहिलेसम्म रहेको हो भने मेरो प्रिय साथी श्याम स्मृत 'नामी'' सँगको सहकार्यमा सामेल हुने सेतुको भूमिकाप्रति आभारी छु । आशा छ नामीसँगको यो निरन्तरता सधैं रहने छ । म आफूलाई विद्रोही ठान्छु । समाजमा भएका सकारात्मक कुराहरूलाई प्रोत्साहनका रुपमा लेख्छु भने नकारात्मक कुराहरुलाई सुधार गर्नका लागि लेख्छु ।
त्यसले समाजमा पुर्याएको योगदान, विचारलाई दिएको स्थान, वर्तमान समयका घटनालाई इतिहासमा सुरक्षित राख्न नामीको भूमिका अतुलनीय रहेको छ। 'नामी' साप्ताहिकले आफ्नो प्रकाशन यात्राको १३ औं वर्षमा प्रवेश गरिरहँदा म यसको निरन्तर प्रगति, लोकप्रियता र सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
मलाई दिएको अवसरप्रति सदैव कृतज्ञ रहनेछु । 'नामी' साप्ताहिक मेरा लागि समाचार पढ्ने माध्यम नभई यो त मेरा विचार, अनुभूति, लेखन र सिर्जनालाई पाठकसमक्ष पुर्याउने आत्मीय चौतारी बनेको छ । विगत एक वर्षदेखि यस साप्ताहिकमा आफ्ना लेख, रचना तथा समाचार प्रकाशन गर्ने अवसर प्राप्त गर्दै आएकी छु । सुरुमा आफ्ना विचारलाई अक्षरमा उतारेर पत्रिकामार्फत पाठकसमक्ष पुर्याउनु एउटा रहर थियो जुन अवसर 'नामी' ले दियो भने अहिले आएर झापा सम्पादक भएर काम गर्ने सुनौलो अवसर पाएकी छु ।
समय बित्दै जाँदा यो अवसर बिस्तारै बानीमा, बानी आत्मीयतामा र आत्मीयता जिम्मेवारीमा रूपान्तरण हुँदै गएको अनुभूति भएको छ । आफ्ना वरपर घटिरहेका घटना, समाजमा देखिएका सकारात्मक प्रयास, व्यक्तिका प्रेरणादायी कर्म, स्थानीय क्षेत्रका समाचार तथा सामाजिक महत्त्वका विषयलाई अक्षरमा उतारेर सार्वजनिक गर्ने अवसर पाउँदा मनमा छुट्टै सन्तुष्टि मिल्छ ।
कुनै घटना समयसँगै बिर्सिएर जान सक्छ, कुनै व्यक्तिको योगदान ओझेलमा पर्न सक्छ, तर त्यही घटना वा योगदानलाई समाचार र लेखका रूपमा अभिलेखित गर्न सकियो भने त्यसले भविष्यका लागि ऐतिहासिक महत्त्व बोकेर रहन सक्छ । यही सम्भावनालाई आत्मसात् गर्दै आफ्नो क्षेत्रका गतिविधिलाई शब्दमा सुरक्षित राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।
लेख्ने बानी बसिसकेपछि समाजमा देखेका विषयलाई बेवास्ता गर्न सकिँदैन । कुनै घटना देख्दा त्यसलाई समाचार बनाउन सकिन्छ कि भन्ने सोच आउँछ, कुनै सामाजिक विषयले मन छोएमा त्यसबारे लेख्नुपर्छ भन्ने लाग्छ, अनि कुनै सकारात्मक काम देख्दा त्यसको चर्चा अझ धेरै मानिससम्म पुग्नुपर्छ भन्ने भावना जाग्छ । सायद लेखनप्रतिको अनुराग र प्रकाशनसँग गाँसिएको आत्मीयता भनेकै यही हो । समाजलाई हेर्ने दृष्टिकोण, समयलाई बुझ्ने माध्यम र परिवर्तनका सम्भावनालाई उजागर गर्ने सशक्त साधन बनेको छ मेरा लागि 'नामी' ।
आजको समय डिजिटल प्रविधिको तीव्र विकासको समय हो। समाचार र सूचनाहरू क्षणभरमै सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यमबाट फैलिन्छन् । मानिसको पढ्ने बानी, सूचना प्राप्त गर्ने तरिका र सञ्चारका माध्यमहरू परिवर्तन भइरहेका छन् । यस्तो अवस्थामा छापा पत्रिकालाई निरन्तरता दिनु सहज काम पक्कै होइन । आर्थिक, प्राविधिक, व्यवस्थापकीय र पाठकीय चुनौतीबीच नियमित प्रकाशनलाई जीवन्त राख्न निरन्तर मेहनत, समर्पण र प्रतिबद्धता आवश्यक पर्छ । बदलिँदो समयसँग प्रतिस्पर्धा गर्दै पनि पत्रिकाको मौलिकता, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई जोगाइराख्नु अझ ठूलो चुनौती हो ।
यही चुनौतीपूर्ण परिस्थितिमा 'नामी' साप्ताहिकको प्रकाशन यात्रालाई निरन्तरता दिन मेहनत गर्नुहुने सम्पूर्ण कार्यकारी निकाय, सम्पादकीय टोली, सञ्चारकर्मी, व्यवस्थापक, वितरक, सहयोगी तथा यस अभियानमा जोडिनुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । पाठकको हातसम्म पत्रिका पुर्याउनु भनेको कागजका पाना पुर्याउनु मात्र होइन । समाजका विचार, घटनाक्रम, अनुभूति र सम्भावनालाई पाठकसँग जोड्नु पनि हो । एउटा अङ्क प्रकाशन हुनुका पछाडि धेरैको श्रम, समय र जिम्मेवारी जोडिएको हुन्छ । त्यसैले 'नामी' साप्ताहिकको १३ औँ वर्ष प्रवेश केवल एउटा प्रकाशन संस्थाको वार्षिकोत्सव मात्र होइन, यस यात्रामा योगदान पुर्याउने सबैको साझा उपलब्धि पनि हो।
मेरो दृष्टिमा पत्रिका र पुस्तक भविष्यका इतिहास हुन् । आज हामीले सामान्य ठानेका घटना भोलि अनुसन्धानका विषय बन्न सक्छन् । आज स्थानीय समाचारमा प्रकाशित कुनै व्यक्तिको सामाजिक योगदान, विद्यालयको उपलब्धि, समुदायको पहल, सांस्कृतिक गतिविधि वा विकास निर्माणको प्रयास भविष्यका पुस्ताका लागि महत्त्वपूर्ण प्रमाण बन्न सक्छ । इतिहास सधैँ ठूला राजनीतिक घटना र चर्चित व्यक्तिका जीवनीबाट मात्र निर्माण हुँदैन । सामान्य मानिसका कर्म, स्थानीय समाजका परिवर्तन र समयका साना–ठूला घटनाहरूले पनि इतिहासको पूर्णता निर्धारण गर्छन् । तिनलाई अभिलेखमा सुरक्षित राख्ने काममा पत्रपत्रिकाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
आज लेखिएका अक्षर भोलिका पुस्ताका लागि समयको साक्षी बन्न सक्छन् । आज प्रकाशित समाचारले भविष्यमा कुनै स्थानको सामाजिक अवस्था बुझाउन सक्छ । त्यसैले पत्रिकामा प्रकाशित प्रत्येक सामग्रीको आफ्नै महत्व र सम्भावना हुन्छ । यस अर्थमा 'नामी' साप्ताहिकले वर्तमानलाई अभिलेखित गर्दै भविष्यका लागि इतिहास सुरक्षित राख्ने जिम्मेवारीसमेत निर्वाह गरिरहेको छ । यो योगदानको कदर गर्नु र यसको निरन्तरतामा साथ दिनु हामी सबैको साझा दायित्व हो । एक वर्षको यो सहयात्राले मलाई लेखनप्रतिको जिम्मेवारी अझ गहिरो रूपमा बुझाएको छ । लेख्नु भनेको आफ्नो भावना व्यक्त गर्नु मात्र होइन, समाजप्रति उत्तरदायी हुनु पनि हो।
समाचार लेख्नु भनेको घटना सुनाउनु मात्र होइन, त्यसको महत्व र सान्दर्भिकतालाई पाठकसमक्ष पुर्याउनु पनि हो । सिर्जना गर्नु भनेको आफ्ना विचारलाई शब्द दिनु मात्र होइन, अरूको मन र सोचमा सकारात्मक प्रभाव पार्ने सम्भावना खोज्नु पनि हो। यही विश्वासका साथ आगामी दिनमा पनि समाजका सकारात्मक पक्ष, सुधारका आवश्यकता, प्रेरणादायी कर्म र समयले सुरक्षित राख्नुपर्ने विषयलाई आफ्नो कलममार्फत निरन्तर अभिव्यक्त गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।
नामी साप्ताहिक