नारायणगढ, चितवन । चितवनको पहाडी क्षेत्रमा पर्ने पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । गर्मी मौसममा शितलता लिन र सूर्याेदयको दृश्यावलोकन गर्न यहाँ दैनिक पर्यटहरु आउने गर्दछन् ।
पर्यटकलाई बास र खाना खुवाएर नै यहाँका स्थानीयको जीविकोपार्जन हुने गरेको छ । इच्छाकामना गाउँपालिका-७ उपरदाङगढीमा ३५ घरधुरी रहेका छन् । जस मध्ये १० घरधुरीमा होमस्टे (घरबास) सञ्चालनमा रहेको छ ।
उनीहरुले त्यही घरबासबाट आफ्नो घर व्यवहार चलाउने गरेका छन् । सुरुवातमा यहाँ आएका पाहुनालाई बास बस्न समेत समस्या हुने गरेपछि यहाँका स्थानीयले आफ्नै घरमा राख्ने गरेको भए पनि पछि घरबासको अबधारणा अघि सारिएको घरबास सञ्चालक विलवहादुर थापा मगरले बताए।
अहिले दैनिक सयको संख्यामा यस क्षेत्रको अवलोकन गर्ने गरेका छन् । यहाँ अहिले तत्कालका लागि १ सय ५० जना पाहुनासम्म राख्न मिल्ने व्यवस्था गरिएको घरबास सञ्चालक मगरले बताए ।
चेपाङ, गुरुङ् र मगर जातीको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय उत्पादनले पाहुनाको स्वागत गर्ने गरिन्छ। यहाँ आएका पाहुनालाई विशेषगरी स्थानीय जातका कुखुरा, सिस्नो, नीगुरो, कोदो, फापरको रोटी, ढिडो खुवाउने गरिन्छ ।
पाहुना हुँदा पाहुनाको सत्कार गर्ने र नहुँदा खेतीपाती गरेर यस क्षेत्रका बासिन्दाले आफ्नो दैनिकी चलाई रहेका छन्। जिल्ला सदरमुकाम भरतपुरबाट करिब एक घण्टा तीस मिनेटमा उपरदाङगढी पुग्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०८२ २०:१२